शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीदेखि प्रभावशाली नेतासम्म एकै मञ्चमा, कसले के भने ?

बुधबार, १७ चैत २०७२, २१ : ३५
बुधबार, १७ चैत २०७२

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उनले भने,‘ काग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयूक्त हो ।’ प्रधानमन्त्रीले काग्रेसलाई ईमान जमानमा रहन सुझाव दिदै विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनु पर्नेमा जोड दिए । उनले आफूलाई प्रधानमन्त्रीको कुर्सि बस्नकोलागि नचाहिएको स्पष्ट पार्दै भने,‘ मलाई प्रधानमन्त्रीको कुर्सि भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’ उनले दुध खान गाई नै पाल्नु पर्ने भनाईसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाईने स्मरण गराए । उनले भने,‘ भावावेशमा होईन अब देश विकासमा अघि बढ्नु पर्छ ।’ प्रधानमन्त्रीले नेपाल भारतको विरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे ।

उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन बैशाखमा छोटोबाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौ र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने दावी गरे । प्रधानमन्त्रीले ५१ वर्षदेखि आफू राजनीतिमा जिब्रो फट्कारेरमात्रै नबसेको भन्दै अधिकार के हो भन्ने कुरा आफूले नै सिकाएको दावी गरे । ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टीहरु ब्यक्त भईरहेकाले अब बार्ता र संबादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्ने भन्दै सहमति गरेर अघि बढ्नुको विकल्प नरहेको दावी गरिन ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा बार्ता र संबादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै समाजमा रहेका समस्या बार्ताबाटै समाधान भएर जाने विश्वास ब्यक्त गरे । उनले बार्ताकोलागि असन्तुष्ट दलहरुलाई आउन आब्हान गर्दै भने,‘ सीमांकन मिलाउन बार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’

नेकपा एमालेका बरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको सबै समस्या संविधान बमोजिम समाधान गरी राजनीतिक क्रान्ति समाप्त गरेर मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जानु पर्ने भन्दै संविधान अनुसार अब एउटा पार्टीले बहुमत ल्याएर शासन गर्ने युग समाप्त भएकोले अब राजनीतिक दलहरुले कोलिसन सरकार गठनको सस्कृतिको विकास गर्नु पर्ने आवश्यकता औल्याए ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको अपुर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने आवश्यकता औल्याउँदै अब कसैले पनि गुट उपगुटमा लागेर यसमा अवरोध गर्न नहुने तर्क गरे ।

उनले नेपालमा आफूहरुकै कालमा देश समृद्ध हुने विश्वास ब्यक्त गर्दै अब आर्थिक समृद्धि सिंगो देशको एजेण्डा बन्नु पर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले संविधान जारी भएपछि पनि जनताको किन असन्तुष्टी देखिएको हो भन्ने विषयको समिक्षा गर्नु पर्ने आवश्यकता औल्याउँदै मुलुकमा राजनीतिक परिवर्तन भए पनि अब विचारमा परिवर्तनको आवश्यकता औल्याए ।

ब्यवस्थापिका संसदका पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले संविधान जारी भएसँगै एउटा चुनौति समाप्त भएपनि कार्यान्वयनको अर्को चुनौति आएको भन्दै संविधान कार्यान्वयनको चुनौति पार गर्न सबै एकताबद्ध भएर एक ठाँउमा उभिनु पर्ने आवश्यकता औल्याए ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले द्धन्दकालिन मुद्दा नियमित तरिकाले ब्यूत्याएर देशमा दिगो शान्ति हुन नसक्ने दावी गर्दै भने,‘माओवादी नेताका टाउको मुद्दा राखेर शान्ति हुँदैन । उनले संसदबादी हिसावले संविधान ठिकै भएको र केही सकारात्मक पक्ष समेत रहेको भन्दै उत्पीडित समूदायको सवालमा अपेक्षा गरे अनुसारको विषय नसमेटिएको दावी गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बन्न र कसैलाई सरकारमा पुर्याउन हतार हतार फाष्टट्रयाकबाट संविधान जारी गरेको दावी गर्दै यो संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेकोले आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पारे ।

उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आठ वर्ष लगाएर ल्याएको संविधानलाई हतारमा ल्याएको भन्नु र ९० प्रतिसत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधानमा अपनत्व छैन भन्नुु मुलुक संविधान अनुसार अघि बढे समाजवाद आउला कि भन्ने डरको उपज भएको भन्दै आफै अघोषित नाकाबन्दी गरेर सरकारले कालोबजारी गर्यो भन्नुको तुक नभएको तर्क गरे ।

उपप्रधान तथा गरिबी निवारण एवम सहकारी मन्त्री चित्रबहादुर केसीले नयाँ संविधानमा धेरै तिरबाट हमला भईरहेकोले यसलाई कार्यान्वयन गर्न सबै एक भएर लानु पर्ने आवश्यकता औल्याउँदै राज्यको पुर्नसंरचनाको नाममा अझै पनि राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा संकत रहेको दावी गरे । उनले देशको अखण्डता जोगाएर मात्रै आर्थिक समृद्धि हुने भन्दै यस्ता अन्तर्राष्ट्रिय खेलका विरुद्ध सचेत हुनु पर्ने आवश्यकता औल्याए ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रले आफ्नो मिसन पुरा गरेकोले अब त्यसलाई पूर्ण दिन सबैसँग छलफल गरेर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले लोकतन्त्र, संघीयता, समाजिक न्याय र संविधानसभाबाट संविधान जारी गर्न क्लबले सकारात्मक भूमिका खेलेको भन्दै अब संविधानको कार्यान्वयन गरेर मलुकलाई समृद्धिमा लान समेत क्लबको भूमिको आवश्यकता औल्याए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाडले एक्लैले कसैले पनि मुलुक हाक्न नसक्ने ठोकुवा गर्दै संविधान कार्यान्वयनकोलागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सबैले सहमतिको साथ अघि बढ्नु पर्ने आवश्यकता औल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी चौधरीले संविधान जारी गर्नु भन्दा कार्यान्वयन गर्नु ठूलो कुरा भएको भन्दै संविधानमा केही राम्रा पक्ष भएपनि थरुहट मधेसले नमानेकोले यो संविधान उत्कृष्ट हुनै नसक्ने ठोकुवा गरिन । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले ९० प्रतिसत जनताले अनुमोदित गर्दैमा संविधान जनअनुमोदिन नहुने भन्दै मधेसको माग अनुसार संविधान स्विकार्य गरेर सबैलाई स्विकार्य हुने संविधान बनाउनु पर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप