शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एक महिनापछि बेवारिसे १२ शव उठे

बिहीबार, १८ चैत २०७२, ०७ : ५०
बिहीबार, १८ चैत २०७२

रुपन्देही– लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक महिनादेखि थुप्रिएका शव बुधबार बुटवल उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ ।

अञ्चल अस्पताल बुटवलमा फागुन १५ देखि १२ वटा शव जम्मा हुँदा अस्पताल परिसरमा दुर्गन्ध फैलिएको थियो भने नयाँ शव राख्नका लागि समस्या देखिएको अस्पतालले जनाएको थियो । बुटवल उपमहानगरपालिका कार्यकारी अधिकृत धुव्रबहादुर खड्काले एक महिनादेखि थुप्रिएका शव बुधबार व्यवस्थापन गरिएको बताए ।

उनले अस्थायी रुपमा ठाउँ खोजी गरेर व्यस्थापन गरिएको र स्थायी घाटका लागि जग्गाको खोजी भइरहेको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ६ वटा शव राख्ने फ्रिज रहेका छन् त्यहाँ ठाउँ अभावमा मुर्दाघरमा खुला रुपमा राख्न अस्पताल बाध्य भएको थियो । बुटवल उपमहानगरपालिकाले विगतमा अस्पतालका बेवारिसे शवहरु बुटवल–४ मैनाबगरमा गाड्ने गरे पनि हाल ठाउँ अभाव भएको भन्दै शवहरु उठाउन सकेको थिएन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्काल शव व्यवस्थापन गर्नका लागि निर्देशन दिएका थिए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रवक्ता लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा ३३ दिनदेखि रहेका बेवारिसे १२ शवमध्ये बुधबार ११ शव उठेका छन् भने एक पुरुषको शव बाँकी रहेको छ । अस्पतालमा गत आर्थिक वर्षमा १०१ शव नगरपालिकाले व्यवस्थापन गरेको थियो भने यस आर्थिक वर्षमा २८ वटा शव व्यवस्थापन गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप