शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वैशाख १ गते शिलान्यास

बिहीबार, १८ चैत २०७२, १६ : ०१
बिहीबार, १८ चैत २०७२

पोखरा - लामो समयको प्रतिक्षापछि २०७३ वैशाख १ गते नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिद्वारा आज पोखरा विमानस्थलमा आयोजित बृहत् बैठकपछि समितिका संयोजक रवीन्द्र अधिकारीले नयाँ वर्षका दिन विमानस्थलको शिलान्यास गरिने जानकारी गराए ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर प्रदेश नं ४ का लागि गौरवको विषय भएको बताउँदै उनले निर्माण कार्यलाई सफल बनाउन प्रदेश नं ४ का सांसद, राजनीतिक दलका नेता तथा पर्यटन एवम् सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, कार्यालय प्रमुखसमेत रहेको मूल समिति गठन गरिएको जानकारी दिए ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्ने जानकारी दिए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट क्षेत्रीय शब्द हटाइने बताउँदै उनले विमानस्थलको नाम के राख्ने भन्ने सम्बन्धमा उच्चस्तरीय समितिलाई सिफारिस गर्न आग्रह गरे ।

उनका अनुसार शिलान्याससँगै धावन मार्गको निर्माण प्रक्रिया अघि बढ्ने छ । “विमानस्थल निर्माणका लागि आवश्यक रकम, प्रविधि, जनशक्ति सबैको व्यवस्था गरिन्छ,” उनले भने – “निर्माण कार्यलाई प्रभावकारीरुपमा सम्पन्न गर्न स्थानीय सक्रियता एवम् अनुगमन अपरिहार्य हुन्छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले विमानस्थल निर्माण सम्पन्न गर्न स्थानीयवासी र नागरिक समाजको सहयोग आवश्यक हुने बताए ।

“विमानस्थल निर्माण भएर मात्र हुँदैन पोखरामा पर्यटक ल्याउन सक्नुपर्छ,” उनले भने – “धेरै पर्यटक पोखरा भित्र्याउन सकिए मात्र विमानस्थल निर्माणको सार्थकता पुष्टि हुन्छ ।”

पोखरा आउने सडक पनि व्यवस्थित गरिनुपर्ने उनको भनाइ थियो ।

सांसद यज्ञबहादुर थापाले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयरुपमा गरिएका निरन्तरका प्रयत्नबाट वर्तमानसम्म आइपुगिएको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।

सांसद शारदा पौडेलले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको माग समेतलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताए ।

सांसद सीता गिरीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए ।

सांसद चूडामणि जङ्गलीले विमानस्थलको माग गर्दै पोखरेली जनताले पोखरा विमानस्थल अगाडि १५१ दिन रिले अनशन बसेको स्मरण गर्दै लामो सङ्घर्ष पछि विमानस्थल निर्माण प्रक्रिया अघि बढ्न लागेको बताए ।

सांसद तेजकुमारी पौडेलले विमानस्थल निर्माणसँगै यस क्षेत्रका विकासको सम्भावना बढेर जाने विश्वास व्यक्त गरे ।

सांसद डिबी नेपालीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पहुँच अन्तर्राष्ट्रियस्तरमा सिधै पुग्ने बताए । स्थानीयवासी भीमसेन थापाले विमानस्थल निर्माणका लागि जग्गा उपलब्ध गराउने सर्वसाधारणको भावनाको उच्च कदर गर्न मन्त्री तथा सरकारको ध्यानाकर्षण गराए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप