एसएलसीका नाममा फस्टाएको शिक्षा व्यापार, नियन्त्रण कसले गर्ने ?
आज अर्थात् बिहीवारबाट एसएलसी परीक्षा सुरु भएको छ । जसमा कुल ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थी सहभागी भइरहेका छन् । परीक्षा सम्पन्न गर्न सरकारले मोटो रकम खर्च गरिरहेको छ । निकै महत्वसाथ हेरिने गरिएको एसएलसी परीक्षालाई फलामे ढोकासमेत भनिने गरिएको छ । तर, यता आफ्नो १० वर्षे विद्यालयस्तरीय पढाइ बिट मार्दै जीवनको अर्को खुड्किलोमा प्रवेश गरिरहेका विद्यार्थीले एसएलसी परीक्षाका लागि गरेको तयारीको आर्थिक पक्ष भने सधैं ओझेलमा पर्ने गरेको छ । विशेषगरी काठमाडौँलगायतका सहरमा खुलेका महँगा बोर्डिङ स्कुल, विभिन्न सहर तथा जिल्लामा खुलेका ट्युसन सेन्टर वा दर्ता नै नगरी ट्युसन पढाइ हुने संस्थाले एसएलसीका नाममा गरेको व्यापारतर्फ भने राज्यले ध्यान दिन सकेको छैन । एसएलसी तयारी भन्दै महँगो शुल्क कक्षा ९ र १० मा पढाउने शिक्षक र उनीहरूले पाउने पारिश्रमिकसमेत करिब एउटै हुने गरेको भए पनि विशेषगरी काठमाडौँमा रहेका विद्यालयले एसएलसी तयारी भन्दै महँगो शुल्क लिने गरेका छन् । एसएलसी तयारीका लागि भन्दै अतिरिक्त कक्षा व्यवस्था गरिएको नाममा काठमाडौँकेन्द्रित विद्यालयमा महँगो शुल्कमा कक्षा सञ्चालन हुने गरेको छ । काठमाडौँ बत्तीसपुतली बस्ने अभिभावक, मनिष कायस्थ भन्छन्, ‘मेरी कान्छी छोरी ९ मा पढिरहेकी छन् । जेठी छोरी एसएलसी दिँदैछिन् ।’ छोरीहरूका अनुसार विद्यालयमा पढाउने शिक्षक, पढाइ हुने समय र कतिपय विषयमा पढाइ हुने कुरासमेत एउटै छन् । तर, एसएलसी तयारी कक्षा भन्दै कक्षा १० मा बढी शुल्क लिइएको छ । एसएलसीजस्तो कुरा दुई/तीन हजारमा मतलब गर्नु पनि भएन । उनका अनुसार एसएलसीका नाममा काठमाडौँका विद्यालयले लुट मच्चाइरहेका छन् । उनी अगाडि भन्छन्, ‘एसएलसी हो भनेपछि अभिभावकको पनि हेर्ने दृष्टि नै बेग्लै हुन्छ । अभिभावकको यही मनोविज्ञानसँग खेल्दै काठमाडौँका विद्यालयले महँगो शुल्क लिने गरेका छन् । अझ त्यसमाथि विज्ञान, गणितलगायतका केही विषयमा जबरजस्त अतिरिक्त कक्षा सञ्चालन हुने र त्यसबापत लिइने शुल्क पनि निकै महँगो हुने गरेको छ । पढाइ नभई चैतको शुल्क सामान्यतया चैतको पहिलो वा दोस्रो साता परीक्षा हुने भएकाले चैतमा विद्यालयमा पढाइ हुँदैन । काठमाडौँका कतिपय विद्यार्थी होस्टलमा बसेर अध्ययन गर्छन् भने अधिकांश विद्यार्थी घरमा बसेर एसएलसी तयारी गरिरहेका हुन्छन् । तर, योबीचमा चैतको शुल्क पनि बुझाउनुपर्छ । पढाइ नहुने महिनाको शुल्क नबुझाउने बहस बेला–बेलामा उठे पनि उक्त बहस बहसमै सीमित छ । यता, विद्यालयका सञ्चालक भने चैतको शुल्क नलिने भन्ने कुरा असम्भव बताउँछन् । शिक्षकलाई तलब दिनुपर्ने र विद्यालयका अन्य खर्च पनि धान्नुपर्ने हुनाले चैतको शुल्क नलिने कुरा कुनै पनि हालतमा सम्भव नभएको उनीहरूको तर्क छ । तर, पढाइ नै नभएको महिनाको शुल्क तिर्नुपर्ने बाध्यताबाट अभिभावक भने असन्तुष्ट छन् । सेन्टअप परीक्षाका नाममा रकमको चलखेल काठमाडौँका कतिपय विद्यालयले सेन्टअप परीक्षाकै नाममा रकमको चलखेल गर्ने गरेका छन् । नियमित र सेन्टअप परीक्षा उत्तीर्ण नभएका विद्यार्थीले एसएलसीको परीक्षा नै दिन नपाउने नियम छैन । तर, काठमाडौँका कतिपय विद्यालयले भने सेन्टअप परीक्षामा अनुत्तीर्णबाट अभिभावकलाई ठगेर रकम असुल्ने गरेको आरोपसमेत लाग्दै आएको छ । नाम उल्लेख नगर्ने सर्तमा कोटेश्वरनिवासी एक अभिभावक भन्छन्, ‘सेन्टअप परीक्षामा अनुत्तीर्ण भएको भन्दै विद्यालयले एसएलसी नै दिन नपाउने भन्यो । पछी ३५ हजार रुपैयाँ दिए एसएलसी दिलाइदिने भनियो । अब छोरीको भविष्यसँग ३५ हजारमा कसरी सम्झौता गर्नु र भनेर तिरेँ । अहिले छोरीले एसएलसी दिइरहेकी छन् ।’ उनका अनुसार राज्यले विद्यालयमा भइरहेको लुट बेवास्ता गर्दा अभिभावक मारमा परेका छन् । उनी अगाडि भन्छन्, ‘यसरी पैसा नदिएकाले कतिपया विद्यार्थी सेन्टअप परीक्षामै रोकिएका छन् । राज्यले यस्ता कुरामा छानबिन गर्नुपर्छ । हामीले घुस बुझायौँ भन्ने कुरा थाहा छ तर त्यसको विकल्प पनि त छैन ।
ट्युसन पढाएर लाखौँ कमाउँछन् शिक्षक तर कर तिर्दैनन् नेपालको आयकर ऐनले आयमा कर तिर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । विशेषगरी गणित, विज्ञान र अंग्रेजी पढाउने शिक्षकले एसएलसी तयारीका नाममा मासिक लाखौँ कमाउने गरेका छन् । अझ त्यसमा पनि गणित र अतिरिक्त गणित विषयका शिक्षकले झनै बढी कमाउने गरेका छन् । होम ट्युसनका नाममा विद्यार्थीलाई घरमै गएर पढाउने र त्यसबापत मोटो रकम लिने गरेका शिक्षकको कमाइ उल्लेखनीय छ । तर, त्यस्ता शिक्षकको कमाइमा राज्यले ध्यान नदिँदा लाखौँ रकमबराबरको कर गुमिरहेको छ । यता, शिक्षकले पनि मनपरी शुल्क लिने गरेका छन् । घरमै गएर पढाएको खण्डमा एक विद्यार्थीबाट पाँचदेखि ३५ हजार मासिक लिने शिक्षक भेटिने गरेका छन् । कतिपय शिक्षकले विद्यालयलाई कम समय दिएर होम ट्युसनमा बढी ध्यान दिँदा दिनमा पाँचवटासम्म होम ट्युसन भ्याउने गरेका छन् । जसबाट मनग्य आम्दानी हुने गरेको छ । यस्तै प्रवृत्तिका कारण सरकारी विद्यालयका शिक्षक विद्यालयको पढाइभन्दा पनि कमाउ धन्दामा लागिरहेका छन्, जसकारण विशेषगरी सरकारी विद्यालयका विद्यार्थी गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुने गरेका छन् । किताबमा समेत कमिसन एसएलसीको तयारीका लागि भन्दै बजारमा विभिन्नखाले पुस्तक पाइन्छन् । गेसपेपर, गाइड, अभ्यास पुस्तिकालगायतका विभिन्न पुस्तक बजारमा पाउने गरिएको छ । तर, ती पुस्तक विद्यार्थीलाई किन्न लगाएर शिक्षकले वितरकबाट समेत कमिसन खाने गरेको गुनासो अभिभावक तथा अन्य सरोकारवालाको छ । विशेषगरी बढी विद्यार्थी भएका सहरका ठूला विद्यालयमा विद्यार्थीलाई अभ्यास पुस्तिकाका नाममा वितरण हुने गरेको पुस्तकमा ठूलो कमिसनको खेल हुने गरेको छ । आफ्नो नाम नबताउने सर्तमा काठमाडौँको एक पुस्तक वितरक कम्पनीका कर्मचारी भन्छन्, ‘कुन शिक्षक कहाँ पढाउँछ र त्यहाँ कति विद्यार्थी छन् भन्ने तथ्यांक वितरकसँग हुन्छ । त्यहीअनुसारको कमिसन बाँड्ने गरिन्छ ।’ उनका अनुसार विशेषगरी काठमाडौँका ठूला विद्यालयमा यस्तो खेल हुने गर्छ ।
अनिवार्य होस्टलका नाममा पनि ठगिन्छन् अभिभावक काठमाडौँका कतिपय विद्यालयले एसएलसीताका अनिवार्य छात्रावासको नियम बनाउने गरेका छन् । एसएसलसीको तयारी भन्दै नजिकै घर भएका र कुनै पनि हिसाबले छात्रावास बस्नु नपर्ने विद्यार्थीलाई पछि छात्रावासमा बस्न बाध्य गरिएको हुन्छ । नयाँबानेश्वरनिवासी अविभावक रमेश पाठक भन्छन्, ‘घर नजिकै छ विद्यालय । आउन जान केही समस्या छैन तर पनि अनिवार्य छात्रावास नियम बनाइएको छ । एसएलसी भनेपछि यस्तो कुरामा सम्झौता गर्नु पनि भएन ।’ घरमा जस्तो आहार, बसाइ वा हेरचाह नहुने कारणले यस्तो व्यवस्थाले विद्यार्थीको मनोविज्ञानमा असर गर्न सक्ने उनको तर्क छ । उनी अगाडि भन्छन्, ‘यो सरासर लुट हो । विद्यालयले होस्टल त राखेका छन् तर होस्टल राख्न चाहिने मापदण्डसमेत पूरा गरेका छैनन् । राज्यले त्यस्ता विद्यालयलाई कारबाही गर्न सक्नुपर्छ । चारित्रिक प्रमाणपत्रमा समेत मनोमानी शुल्क सामान्यतया चारित्रिक प्रमाणपत्र थोरै शुल्कमा पाउनुपर्ने हो । तर, काठमाडौँका विद्यालयमा एसएलसीपछि वितरण हुने चारित्रिक प्रमाणपत्रलाई एकदेखि पाँच हजार रुपैयाँसम्म लिने गरिएको छ । सरकारसँग यससम्बन्धी स्पष्ट मापदन्ड नहुँदा विद्यालयले मनोमानी गरेको सरोकारवालाको गुनासो छ । यद्यपि, काठमाडौँका विद्यालयले भने चारित्रिक प्रमाणपत्रकाका लागि एक हजार पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म बढी शुल्क नलिएको दाबी गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण