शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

साझा संविधान बन्न नसकेकै कारण संघर्ष : अशोक राई

बिहीबार, १८ चैत २०७२, १७ : २३
बिहीबार, १८ चैत २०७२

काठमाडौं - संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले वर्तमान संविधान सबैको साझा बन्न नसकेकै कारण संघर्ष गर्नु परिरहेको बताएका छन् । विहीबार राजधानीमा सम्पन्न ‘किरात प्रदेश–काठमाडौं सम्पर्क समिति’को पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै राईले संविधान सबैका साझा दस्तावेज बनाउन संशोधन गर्न आफूहरुले चाहिरहेको बताए । ‘संविधान त्रुटीपूर्ण छ,’ उनले जोड दिए, ‘न्युनतम रुपमा स्वीकार गर्न नसकिने भएकाले नै संघर्ष गर्नु परिरहेको छ ।’ वरिष्ठ नेता राईले वर्तमान संविधानलाई तीन दल एमाले, कांग्रेस र एमाओवादीले संसारकै उत्कृष्ट भन्दै समृद्धितर्फको मात्रै कुरा गरेकामा आश्चर्यसमेत व्यक्त गरे । वर्तमान संविधान यथास्थिति र प्रतिगमनलाई समर्थन गर्ने खालको बनेको उनको जिकिर थियो । ‘हामीसँग प्रतिगामीका प्रमाणहरु छन्,’ संविधानमा उल्लेख भएका कुरामा संकेत गर्दै राईले भने, ‘संविधानले उत्पीडित मधेसी, आदिवासी जनजाति, खस, महिला र शिल्पी समुदायलाई अधिकार सम्पन्न बनाउन सकेकै छैन ।’ संविधानले उत्पीडित समुदायलाई अधिकार सम्पन्न बनाउन नसक्ने भएकाले नै मधेस आन्दोलन भएकोको उनको भनाई थियो । ‘मधेस आन्दोलन राष्ट्रिय चरित्रको ऐतिहासिक आन्दोलन हो,’ उनले आन्दोलनको प्रसंगमा भने, ‘मधेस आन्दोलन नभएको भए यस संविधानलाई उत्कृष्ट भनी कार्यान्वयन गरी सक्थे ।’ राईले मधेस आन्दोलनलाई सत्ताधारीले मधेसीको आन्दोलनको रुपमा मात्रै अथ्र्याएकोप्रति भत्र्सनासमेत गरे । उनले भने, ‘मधेस आन्दोलनले बोकेको भावना राष्ट्रिय हो । सत्ताधारीले भ्रम सिर्जना गर्न क्षेत्रीय आन्दोलनको रुपमा व्याख्या गरिदिए ।’ साथै, राईले मधेस आन्दोलनबाट थुप्रै नदेखिने उपलब्धी भएको बताए । उनले अब देखिने उपलब्धी हासिल गर्न सबै फेरि एकताबद्ध भई संघर्षमा होमिन जरुरी रहेको औंल्याए । फरक प्रसंगमा राईले वर्तमान एक्काइसौं शताब्दी जातीय मुक्ति र पहिचानको शताब्दी रहेको जिकिर गरे । उनले विश्वमा जतिपनि भइरहेका संघर्ष, युद्ध र आन्दोलनहरु जातीय पहिचान र मुक्तिकै लागि भइरहेको जनाए । उनले भने, ‘नेपालमा पनि जातीय, क्षेत्रीय र लंैगिक समस्या सम्बोधन नभई वर्गीय संघर्षको नाराले मात्रै पार पाउँदैन ।’ कार्यक्रममा संघीय समाजवादीका उपाध्यक्ष रेणु यादव, हेमराज राई, चन्द्रविक्रम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । किरात प्रदेश सम्पर्क समितिमा याम्फू यसैबीच, थामनसिंह याम्फूको नेतृत्वमा किरात प्रदेश–काठमाडौं सम्पर्क समितिको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा भद्रमान मोते, रिता राई र सचिवमा मोहनप्रसाद राई छन् । सदस्यहरुमा गजेन्द्र राई, महेश रानामगर, शशी गुरुङ, हेमन्त राई, युटी शेर्पा, टंक लोहरुङ, आइत चेम्जोङ, यज्ञ बस्नेत, शशिकला प्रधान, रनदीप बस्नेत, वाङ्चु शेर्पालगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप