‘अपरेशन क्वाक’ : सिआइबीको एकै सिठ्ठीमा यसरी समातिए नक्कली डाक्टर
आजभन्दा चार महिनाअघि (०७२ मंसिरमा) नेपाल मेडिकल काउन्सिलले लाइसेन्सको परीक्षा संचालन गरेको थियो । नेपाल आर्मीको मेडिकल कलेजमा भएको परीक्षा हलमा दुई जना डाक्टर एमबिबीएसको नक्कली सर्टिफिकेट पेश गरेर परीक्षामा दिन आएका थिए । ‘डाक्टर बन्न नक्कली सर्टिफिकेट!’ यस्तो अनौठो दृश्य फेला पारेसँगै नेपाल मेडिकल काउन्सिल ‘दुधको–दुध ‘पानीको–पानी’ छुट्याउने निष्कर्षमा पुग्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्का पदाधिकारीको संयुक्त बैठकले नक्कली डाक्टर जसरी पनी पत्ता लगाउने भन्दै लामो अपरेशन संचालन गर्ने निर्णय गरे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले कमाण्ड गरेको सो अपरेशनको नाम थियो ‘अपरशेन क्वाक !’
०७२ माघ अन्तिम सातासम्ममा मेडिकल काउन्सिल, उच्चमाध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले एक दर्जन नक्कली डाक्टरको सूचि तयार गरिसकेको थियो । सवैको सूचि बोकेर केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरीहरु विभीन्न जिल्लामा पुगे, जहाँ नक्कली डाक्टरहरु कार्यरत थिए । ०७२ माघ २४ गते केन्द्रीय अनुुसन्धान ब्युरो महाराजगञ्जबाट सिठ्ठी बज्नासाथ झापा अनारमनीमा रहेका नक्कली डाक्टर रामाबाबु गिरीदेखि महोत्तरीको हात्तिसखामा रहेका संतोष कुमार यादवसम्मको हातमा हतकडी लाग्यो । ‘स्थानीय प्रहरीको सहयोगमा देशका विभिन्न भू–भागबाट हामीले एकैपटक १२ जना नम्कली डाक्टर पक्राउ गरेर काठमाडौं ल्यायौं’ सिआईबीका एक अधिकारीले भने, ‘तीमध्ये कोही सरकारी अस्पतालमा कार्यरत थिए त कोही मेडिकल चलाएर बसिरहेका भेटिए ।’ एमबिबीएस पूरा गरेर इन्टर्न सकेका डाक्टरहरुले मेडिकल काउन्सिलले लिएको परीक्षा पास गरेपछि बल्ल डाक्टरको लाईसेन्स पाउँछन् । पक्राउ परेका धेरैले डाक्टरले लाईसेन्स लिइसकेका थिए, तर उनीहरुको एमबिबीएस सर्टिफिकेट नै नक्कली रहेको अनुसन्धानबाट खुलेको छ । यसरी सफल भयो ‘अपरेशन क्वाक’ नक्कली डाक्टर धेरै हुनसक्ने अनुमानका आधारमा गरिएको ‘अपरेश क्वाक’का लागी नेपालको हकमा उच्चमाध्यमिक शिक्षा परिषद् र एसएलसी बोर्डले शंकास्पद डाक्टहरुको सर्टिफिकेटबारे अनुसन्धान गरेका थिए । भारतबाट ल्याइएका धेरै सर्टिफिकेटको अनुसन्धान गर्न तिनै निकायका पदाधिकारी भारतका विभिन्न विश्वबिद्यालयहरुमा पुगेका थिए । ‘लाईसेन्सको परीक्षामा पटक–पटक फेल भएकाहरुलाई हामीले अनुसन्धानको दायरामा ल्याउने निधो गर्यौं’ सिआईबीका एक अधिकारी भन्छन्, ‘एमबिबीएस गरेको मान्छे किन पटक–पटक फेल हुन्छ ? त्यसैले हामीले ५ देखि ३५ पटक फेल भएकाहरुको लगत संकलन गरेर अनुसन्धान थाल्यौं ।’ ५ देखि ३५ पटकसम्म लाईसेन्सको परीक्षा पास गर्न नसकेका १६१ डाक्टरमाथी केन्द्रित थियो, अपरेशन क्वाक । सर्टिफिकेट हेर्दै जाँदा थाहा लाग्यो, २१ जनाले भारतको ‘बिहार इन्टरमिडीएट एजुेकशन काउन्सिल’ बाट आई. एस्सीको सर्टिफिकेट नक्कली बनाएका थिए । पशुपति चौधरीले एसएलसी र उच्चमाध्यमिक शिक्षा परिषद्बाटै नक्कली शर्टिफिकेट बनाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एक जनाले नक्कली सर्टिफिकेट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सर्टिफिकेटको अनुसन्धानका लागि माघ पहिलो साता नेपाली अधिकारीहरु पटनादेखि दिल्ली सम्म पुगेका थिए । सर्टिफिकेटको प्रमाण्ीकरणका लागी मेडीकल काउन्सिलका डा. सुप्रभात श्रेष्ठ, सिआईबीका एसपी दिवेश लोहनी, डिएसपी ज्ञानेन्द्र फुयाँल, उच्च माध्यमिक शिक्षा परिषद्का उप–सचिव अनिरुद्र धमला र शाखा अधिकृत रमेश अधिकारी भारत गएका थिए ।
भारतबाट फर्केपछि बिहारबाट नक्कली सर्टिफिकेट लिएकाहरुलाई प्रहरीले खोज्न थाल्यो । किनकी बिहारबाट २१ जना डाक्टरले नक्कली सर्टिफिकेट ल्याएको अनुसन्धानबाट खुलेको थियो । सोही क्रममा माघ २४ गते १२ जना डाक्टर एकैपटक समातिए । एसएलसी पनि पास नगरेका पशुपति चौधरीले एसएलसी र प्लस टुको नक्कली सर्टिफिकेट पेश गरेका थिए । इटहरीबाट पक्राउ परेका चौधरीलाई प्रहरीले किर्ते सरकारी छाप दस्तखत मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंमा ३९ हजार धरौटी बुझाएर चौधरी छुटिसेकेका छन् । जनकपुरका कल्याण विश्वास, धनुषाका मोहम्मद अहमद सिद्धीकी, जनकपुरका शैलेन्द्र कुमार महतो, झापाका रामबावु गिरी, तौलिहवाका अफजल हुसेन, जनकपुरका भगवान केवट मल्ला, राजविराजका राजेन्द्र प्रसाद दास, महोत्तरीका श्यामबावु शाह, सप्तरीका तुल्सी कुमार महतो, महोत्तरीका संतोष कुमार यादव र सप्तरीका महम्मद कमरुल हक लाई प्रहरीले शुरुमा ठगी मुद्धा दर्ता गरेको थियो । नक्कली डाक्टरहरुले विभिन्न ठाउँमा उपचार गर्दा ठगेको हुनसक्ने भन्दै ठगी मुद्दा दर्ता गरेपनी उनीहरुले ठगेकोबारे कुनै उजुरी परेन् । त्यसपछि प्रहरी ब्याक भयो । ०७२ फागुन ६ गते बसेको बैठकले मन्त्रीस्तरीय निर्णय गर्दै मेडिकल काउन्सिलको दफा २६ र २७ को कसुर अनुसन्धान र अभियोजन गर्ने अख्तियारी सिआईबीले पायो । त्यसपछी प्रहरीले नक्कली डाक्टरहरुलाई मेडिकल काउन्सिलको कानुनमा टेकेर मुद्दा चलाएको थियो । जिल्ला अस्पतालमा नक्कली डाक्टर ! त्रिभुवन विश्वविद्यालयबाट आईएस्ससीको नक्कली सर्टिफिकेट बनाएका थानकोटका सुजित कुमार श्रेष्ठ जिल्ला अस्पताल डोटीमा मस्तले सरकारी जागिर खाएर बसेका थिए । गएको फागुन २७ गते उनी थानकोटबाट समातिए । प्रहरीले उनलाई सरकारी छाप दस्तखत किर्ते र मेडिकल काउन्सिलको ऐन अनुसार मुद्दा चलायो । अदालतले मागेको ३० लाख ९२ हजार धरौटी बुझाउन नसकेपछि श्रेष्ठलाई कारागार पठाईएको छ । उनिसरकारी छाप दस्तखत किर्ते प्रकरणमा ३० लाख ६२ हजार र मेडिकल काउन्सिलको मुद्दामा चैत ११ गते ३० हजार धरौटी माग गरेको थियो । त्यस्तै गएको फागुन २३ गते प्रहरीको सम्पर्कमा गएका प्रदीप कुमार गुप्ताले बिहारबाट आईएस्सीको नक्कली सर्टिफिकेट लिएका थिए । गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० हजार बुझाएर गुप्ता रिहा भैसकेका छन् । पछिल्लोपटक पक्राउ परेका विनिता यादव, पृथ्वीनारायण यादव र राजिव कुमार झा माथि अनुसन्धान भैरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले जानकारी दिए । लोहनीका अनुसार अपरेशन क्वाकले अनुसन्धानको घेरामा राखेको १६१ जनामध्ये एक सय जनाको सर्टिफिकेट सक्कली भएको पाइएको छ । दिल्लीको प्रमाणपत्र अनुसन्धान हुँदै सिआइबीसहितको टोली पुग्दा पनि दिल्लीका तीनवटा परीक्षा बोर्डले तत्काल सर्टिफिकेट जाँच गर्न मानेनन् । नेपालका अधिकारीले इमेलमा मागेको सबै जानकारी आफुहरुले पठाईदिने भनेपछि नेपाली अधिकारी हरु नेपाल फर्केका थिए । प्रहरीका अनुसार दिल्लीका तिनवटा विश्वविद्यालबाट नेपाली डाक्टरहरुले लिएको प्रमाणपत्र अनुसन्धान गर्न बाँकी छ । विश्वविद्यालय शिक्षा परिषद् दिल्ली, माध्यमिक शिक्षा केन्द्रीय परिषद् दिल्ली र भारतीय विद्यालय प्रमाणपत्र परीक्षा परिषद् दिल्लीबाट जारी भएको भनिएका प्रमाणपत्रका आधिकारीबारे अनुसन्धान भैरहेको बताईएको छ । दाईजोको लोभले थपिँदै, नक्कली डाक्टर ! सिआईबिले पक्राउ गरेका अधिकांश नक्कली डाक्टर मधेशी मुलका छन् । मधेशमा डाक्टर बनेपछी धेरै दाईजो लिने र दिने संस्कारले यसरी नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर हुनेको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् । ‘डाक्टर बनेपछि मनग्ये पैसा, घर र गाडी पाइन्छ’ नक्कली सर्टिफिकेट अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘हामीले अनुसन्धानको दायरामा राखेका धेरै डाक्टरहरु मधेशी मुलका छन्, त्यसैले जसरी पनि डाक्टर बन्न खोज्नुको एउटा कारण दाईजो पनि हुनसक्छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण