शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असिना हावाहुरीका कारण आँप, लिचीमा क्षति

शुक्रबार, १९ चैत २०७२, १० : २४
शुक्रबार, १९ चैत २०७२
उदयपुर - सोमबार राति आएको भीषण हावाहुरीका कारण उदयपुर जिल्लाका पूर्वी तथा मध्य र पश्चिमी तराईका क्षेत्रमा आँप तथा लिचीका फल लाग्दै गरेका फूलहरु झर्नाले व्यापक क्षति भएको छ । जिल्लाको हँडिया, तपेस्वरी, सुन्दरपुर, जोगिदह, बसाहा र रामपुर ठोक्सिला क्षेत्रमा हावाहुरी र असिनाले धेरै आँपका फल लाग्दै गरेका फूलहरु झारेको कुरा तपेस्वरी–२ का कृष्णप्रसाद दाहालले बताए । यस क्षेत्रमा यसपटक राम्रो आँप र लिचीको फल लाग्न थालेको भए तापनि हावाहुरी र असिनाको कारण झन्डै ४० प्रतिशत लाग्दै गरेका फूलहरु झारेको कुरा हँडिया–४ का सत्यनारायण चौधरी बताउँछन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको खैजनपुर, बगाहा र श्रीपुर क्षेत्रमा पनि हुरी र असिनाले आँपका फूल र फल झारेको स्थानीयवासीले बताएका छन् । जिल्लाको पश्चिमी क्षेत्रको कटारी तथा रिस्कु र त्रिवेणी क्षेत्रमा पनि धेरै आँपका फल लाग्दैगरेका फूलहरु झारेको कटारी–७ का पूर्णबहादुर मगरले बताए । यसपटक चैत महिनासँगै पहिलो पटक आएको भीषण हावाहुरी र असिनाको कारण धेरै फलफूल नष्ट भएको स्थानीय कृषक बताउँछन् । हावाहुरी र असिनाको कारण सुरुमा नै आँप र लिचीको फूल र साना फल झरेपछि यसपटक आँप तथा लिची उत्पादन घट्ने अवस्थामा आएको कारण आँप तथा लिची उत्पादक व्यावसायिक कृषक चिन्तित बन्न थालेका छन् । जिल्लाको पूर्वी तथा पश्चिमी तराई क्षेत्र उदयपुरको मुख्य आँप तथा लिची उत्पादन हुने क्षेत्रका रुपमा रहँदै आएको जिल्ला कृषि विकास कार्यालय उदयपुरले बताएको छ । यस क्षेत्रमा बसोबास गर्ने झन्डै ४० प्रतिशत कृषक व्यावसायिक रुपमा नै आँप तथा लिची खेती गर्दै आएका छन् । स्मरण रहोस्, सोमबार रातिको समयमा आएको भीषण हावाहुरी र असिना पश्चिमी क्षेत्रबाट पूर्वतर्फ तीव्रगतिमा अगाडि बढ्दै गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप