शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

सरुवारोगको जोखिम : कसरी बच्ने ?

मङ्गलबार, ०७ मङ्सिर २०७३, १५ : २९
मङ्गलबार, ०७ मङ्सिर २०७३

मानिसमा संक्रमण हुने सरुवारोगहरू हावा, पानी, लामखुट्टे (कीटजन्य) आदिबाट सर्ने गर्छ । हावा, पानी तथा कीटजन्य रोगहरूको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि लक्षण देखिने अवधिसम्मलाई बुझाउँछ । रुघाखोकी, इन्फ्लुइन्जाजस्ता हावाबाट सर्ने रोगहरू छोटो इन्कुभेसन समयका हुन्छन् । तर, हावाबाट सर्न सक्ने टिबी, ठेउला, दादुराजस्ता सरुवारोगहरूको जोखिम भने उत्तिकै देखिन्छ । विशेषगरी, सामूहिक बसाइको समयमा अन्य स्वस्थ व्यक्तिमा रोग सर्न सक्ने सम्भावना बढी रहन्छ ।

सरुवारोगको जोखिमबाट मुक्त हुन व्यक्तिगत सरसफाइमा ध्यान दिन जरुरी हुन्छ । बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिमा पनि पानीजन्य समस्याको प्रकोप उच्च हुने गर्छ । जस्तै– टाइफाइड नेपालीहरूका लागि परिचित रोग हो । यो पनि पानी र दूषित खानाबाट सर्ने रोग हो । खासगरी उच्च ज्वरोका लक्षणहरू लिएर आउने बिरामीहरूमा यसको सम्भावना बढी देखिन्छ । सामूहिक रूपमा खानपान तथा शौचालयको प्रयोगले प्रकोपको सम्भावनालाई जीवितै राखेको देखिन्छ । झाडापखाला नेपालमा बर्सेनि देखिने अर्को प्रमुख समस्या हो । हैजाबाहेक झाडापखाला अन्य ब्याक्टेरिया, प्रोटोजोवा, भाइरसजस्ता जीवाणुका कारणले पनि हुन सक्छ । नेपालमा झाडापखालाको कारणबारे विस्तृत अध्ययन खासै भएको पाइँदैन, या भनौँ चासो दिइएकै छैन । सिंगेला, सालमोनेला, कम्पालो ब्याक्टेरिया, इकोलाईजस्तो ब्याक्टेरिया पनि झाडापखाला गराउनमा महत्वपूर्ण भूमिका देखिन्छ । त्यस्तै, इहिस्तोलाइटिका, जिर्याजियासिसजस्ता प्रोटोजोवा जीवाणुहरू नेपालमा व्यापक देखिन्छ । रोटाभाइरस, नोरोभाइरस, सापोरो भाइरस, एस्ट्रोभाइरसजस्ता भाइरस पनि झाडापखाला गराउनमा प्रमुख भूमिका खेलेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।

कसरी बच्ने ? सफा साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने । सधैँ उमालेको शुद्ध पानी मात्र पिउने । बासी खानेकुरा नखाने । घरबाहिरबाट आएपछि र शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने । बाटोछेउमा अव्यवस्थित रूपमा बनाइएका खाना नखाने । फोहोर र झिँगा भन्केका खानेकुरा नखाने । नपाकेको मासु, खानालगायत खानेकुरा नखाने । फलफूललाई सफा पानीले धोएर खाने । खानेकुरालाई राम्ररी छोपेर राख्ने । भरसक ताजा खाना खाने । कुनै पनि संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने । संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्री अन्य व्यक्तिले निर्मलीकरण गरेर मात्र प्रयोग गर्ने । भीडभाडमा कम जाने । तातो झोलयुक्त खानपान प्रशस्त मात्रामा सेवन गर्ने । पानीको संक्रमणबाट हुने रोग पानीबाट सर्न सक्ने रोगहरू विशेषगरी टाइफाइड, हेपाटाइटिस (ए र ई), झाडापखाला, लेप्टो स्पाइरोसिसहरूको सम्भावना रहन्छ । हैजा पनि संक्रमित पानीको उपभोग गर्दा नै सर्न सक्छ । अहिले स्वदेशी तथा विदेशी विशेषज्ञहरूले पनि हैजाबाट हुन सक्ने महामारीलाई ध्यान दिएको देखिन्छ । हैजाले केही घन्टामा नै बिरामीलाई मृत्युको मुखमा पुर्‍याउन सक्छ । त्यसैले यसलाई अरू झाडापखाला गराउने रोगभन्दा विशेष निगरानी राख्नुपर्ने हुन्छ । गत वर्ष गएको महाभूकम्पले क्षतविक्षत बनाएको संरचनाको कारण एउटै पानीको स्रोत तथा शौचालयको प्रयोगले पानीजन्य रोगको सम्भावनालाई अझ बढाएको देखिन्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप