यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
कैलाली । कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ । सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा गाडी नम्बरसहितका चालक, सहचालक तथा परिचालकलाई परिचयपत्र र जर्सी वितरण गरिएको हो ।
चालक, सहचालक र परिचालकको एउटै पहिचान झल्किने पोसाक उपलब्ध गराइएको सम्पूर्ण यातायात प्रालिले जनाएको छ । यसबाट यात्रुले टाढैबाट चालक तथा सहचालकलाई सहजै चिन्न सक्ने, सही सवारीसाधन पहिचान गर्न सक्ने र यात्रु सेवामा थप सहजता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको उल्लेख गरे । यो व्यवस्थाले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय बिचौलियाको चलखेल नियन्त्रणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
उनले भने, “पोसाकले चालक तथा सहचालकको जिम्मेवारीबोध बढाउनुका साथै आफ्नो पेसालाई सम्मानित र आकर्षक बनाउन मद्दत गर्नेछ ।”
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने अग्रपङ्क्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले यो व्यवस्थापछि सडकमा यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रु अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा पनि कमी आउने विश्वास व्यक्त गरे । पोसाकले चालक तथा सहचालकको पहिचान स्पष्ट बनाउने भएकाले यात्रुको विश्वास बढ्ने र यातायात सेवा थप मर्यादित बन्ने उनको भनाइ छ ।
कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण