बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता

बिहीबार, २५ असार २०८३, २२ : २०
बिहीबार, २५ असार २०८३

काठमाडौँ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई कारबाहीस्वरूप जिल्ला तानिएको भन्ने समाचार सही नभएको दाबी गरेका छन्।

कैलालीमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्तिपछि डीएसपी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको विषयमा प्रतिक्रिया दिँदै प्रवक्ता काफ्लेले उनलाई कुनै औपचारिक कारबाही वा निलम्बन नगरिएको बताए ।

“उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्बनमा पर्नुभएको छ। नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो। सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ। कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन,” काफ्लेले भने।

उनले सरकारी कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए। “विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ जिम्मेवार र संयमित हुनुपर्छ। उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौँ,” उनले भने।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले पनि डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि जिल्ला बोलाइएको र सोही क्रममा सार्वजनिक भएको भिडियोबारे पनि जानकारी लिने बताएका थिए।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित कार्यक्रममा डीएसपी चौधरीले “हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ,” लगायत अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे चासो बढेको थियो। साथसाथै उनलाई जिल्ला बोलाएको विषयमा समेत सामाजिक सञ्जालमा बहस भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप