थाहा पाउनुहोस्, मुटु सुन्निएर ज्यान नै जान सक्छ !

डा. मिलनप्रकाश श्रेष्ठ, मुटुरोग विशेषज्ञ
मुटु सुन्निएर ज्यान नै जान सक्छ । तर, मुटु पनि सुन्निएला र ज्यान जाला भन्ने कमैले सोचेको हुन सक्छ । चस्किनु र ढुकढुक हुनु मात्रै मुटुको समस्या हो भन्ने सोचाइ अधिकांशको हुन्छ । तर, मुटु सुन्निनु पनि गम्भीर समस्या हो । मुटु सुन्निँदा देखिने लक्षण र यसले निम्त्याउने खतराबारे डा. मिलनप्रकाश श्रेष्ठ भन्छन् :
कस्ता लक्षण देखिन्छन् ? थोरै मात्रै हिँडे पनि निकै नै स्याँ–स्याँ भयो भने मुटु सुन्निएको लक्षण हुन सक्छ । फोक्सोमा समस्या भयो भन्ने अनुमान धेरैको हुन सक्छ, तर समस्या मुटु सुन्निएर भएको हुन सक्छ । सुन्निएर मुटुको आकार नै ठूलो भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । मुटु धेरै नै सुन्निएपछि र केही दिनपछि हातगोडा पनि सुन्निने, पेट फुल्ने, पूरै शरीर नै फुल्नेजस्ता लक्षण देखिन्छन् । त्यसो त अधिकांशलाई धेरै वर्षसम्म पनि यसको लक्षण नै देखिँदैन ।
कस्तोखाले समस्या हो ? मुटु सुन्निने समस्यालाई मेडिकल भाषामा कार्डियोमायोप्याथी भनिन्छ । मुटु सुन्निने कारण धेरै हुन सक्छ । यसमध्ये डाइलेटेड कार्डियोमायोप्याथी एउटा हो । यो मुटुको मांसपेशीमा लाग्ने रोग हो । यो समस्याको मुख्य कारण त अहिलेसम्म पनि विश्वका मुटुरोगविज्ञहरूका लागि खोजीकै विषय बनिरहेको छ ।
मुटु सुन्निएपछि के हुन्छ ? सुन्निने समस्या छिप्पिँदै गएपछि मुटुको पम्प गर्ने क्षमतामै कमी आउँछ । जब मुटुले रगत पम्प गर्न सक्दैन, तब सफा भएर फोक्सोमा आउनुपर्ने रगत कम हुन्छ । शरीरको तल्लो भाग अर्थात् खुट्टातिरबाट मुटुमा आउनुपर्ने रगतको गति पनि कम हुन जान्छ । यसैगरी, मुटुको पम्प सुस्त भएपछि शरीरका विभिन्न अंगबाट मुटुमा फर्किनुपर्ने रगतको गतिमा पनि सुस्तता आउँछ । यस्तो समस्या भएपछि नै सास फेर्न असहज हुनेजस्ता लक्षण देखिने हो ।
कस्ता व्यक्ति निसानामा ? मुटु सुन्निने अर्थात् कार्डियोमायोप्याथी समस्या खासगरी हार्टअट्याक भएका तथा लामो समयदेखि हाई ब्लडप्रेसरको सामना गरिरहेका व्यक्तिलाई देखिन्छ । त्यसो त लामो समयसम्म रक्सी सेवन गर्नेलाई पनि यसको खतरा हुन्छ । गर्भवती भएको अवस्थामा महिला यसको निसानामा पर्न सक्छन् । केहीमा भने मुटु सुन्निने समस्या वंशाणुगत पनि हुन सक्छ । निसानामा यस्ता व्यक्ति बढी परे पनि सामान्य व्यक्तिलाई भने समस्या हुँदै हुँदैन भन्नेचाहिँ होइन । यो रोगको सुगरसँग पनि कुनै प्रत्यक्ष सरोकार छैन । सुगर र प्रेसरका बिरामीलाई हृदयाघातको खतरा भने सधैँ उच्चचाहिँ रहन्छ । यस्ता बिरामीले डाक्टरले भनेअनुसार आफ्नो स्वास्थ्यजाँच नियमित गराउनुपर्छ । यस्तै, सामान्य व्यक्तिले पनि कोलेस्ट्रोल र मिर्गौलाको कार्यक्षमता बुझ्न रगत जँचाउनुपर्छ ।
कसरी जान्ने सुन्निएको ? कतिपय व्यक्तिमा लक्षण नै नदेखिने र लक्षण देखिए पनि अन्य रोगसँग मिल्दोजुल्दो देखिने भएकाले मुटु सुन्निएकै हो÷होइन भनेर बुझ्न केही जाँच गर्नुपर्ने हुन्छ । पहिलो जाँच इसिजी नै हो, तर इसिजीमा मात्रै समस्या नदेखिन पनि सक्छ । इको, टिएमटीजस्ता जाँच पनि गर्नुपर्ने हुन्छ । मुटुको सुरक्षाका लागि कम्तीमा हरेक ६ महिनामा इसिजी, इको, टिएमटीजस्ता जाँच गर्नु राम्रो हुन्छ । रोग लागिसकेको भए पनि उपचार गरेर भविष्यमा निम्तिन सक्ने क्षतिबाट जोगिन सकिन्छ । मुटु सुन्निने समस्या निम्तिसकेको छ भने केही औषधि सेवन गर्नुपर्छ । एक हप्तामै औषधिले पूर्ण असर देखाउँछ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू
-
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप