शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दलित संघका उपाध्यक्षको हत्या आरोपमा समातिए म्यादी प्रहरी

बिहीबार, ११ जेठ २०७४, १३ : ४९
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११– जिल्ला दलित संघ ललितपुरको उपाध्यक्ष दीपक परियारको हत्या अभियोगमा एक म्यादी प्रहरी पक्राउ परेका छन् । प्रहरीले म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको हो ।

जेठ २ गते गोदावरीमा सँगै मदिरा सेवन गरेर फर्कने क्रममा विवाद बढेपछि म्यादी प्रहरी कुमार पाख्रिनले परियारलाई ढुंगाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जेठ ९ गते विहान गोदावरी नगरपालिका–११ तिनघट्टे भन्ने स्थानमा परियारको शव फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा गोदावरी नगरपालिका–९ छम्पी बस्दै आएका दलित संघका उपाध्यक्ष दिपक परियारको शव सनाखत भएपछि प्रहरीले अभियुक्तको खोजी थालेको थियो ।

तालिम प्राप्त कुकुरहरुको सहयोगमा अनुसन्धान गर्दा मृतक र सिन्धुलीको दुधौली स्थायी घर भई हाल ललितपुरको गोदावरी–९ छम्पी बस्दै आएका  पाख्रिनले हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले जानकारी दिए । गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनको प्रयोजनार्थ म्यादी प्रहरीमा भर्ना भएका कुमार पाख्रिन र दिपक परियारले जेठ २ गते राती सँगै बसेर मदिरा सेवन गरेका थिए ।

घर फर्कने क्रममा बाटोमा पटक–पटक झै–झगडा एवं वादविवाद गर्दै जाने क्रममा गोदावरी नगरपालिका–३ तिनघट्टे भन्ने स्थानमा पुगेपछि कुमारले दिपकको टाउकोमा ढुंगाले हानेर फरार भएको खुल्न आएको कार्कीको भनाई छ ।

अभियुक्तलाई महानगरीय प्रहरी वृत चापागाउँको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप