शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

श्रीलङ्कामा बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित

आइतबार, १४ जेठ २०७४, १६ : १७
आइतबार, १४ जेठ २०७४

श्रीलङ्का, १४ जेठ । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण पाँच लाख व्यक्ति विस्थापित हुनु परेको र अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइ रहेका छन् ।

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा शनिबार करिब पाँच लाखभन्दा बढी जनतालाई बाढी पहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।

यस दैवी प्रकोपमा परी शनिबारसम्म कम्तीमा १४६ जनाको मृत्यु भइसकेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्काको प्रमुख सामुन्द्रिक द्विपका दक्षिणी र पश्चिमी क्षेत्रहरुका समथर मैदानी भूखण्डमा गत शुक्रबार आएको बाढीे र पहिरो विगतका १४ वर्ष पछिको सबभन्दा भयङ्कर भएको बताइएको छ ।

समथर भूभाग भएका तल्ला इलाका अझै पनि जलमग्न भई पूरै डुबानमा परेको स्थानीय अधिकारीले जनाएका छन् ।

उक्त बाढी र पहिरोमा परी १४६ जनाको मृत्यु हनुको साथै ९७ जना हराइरहेका श्रीलङ्काको सरकारी प्रकोप व्यवस्थापन केन्द्र डिएमसीले पनि पुष्टि गरेको छ । साथै यस प्रकोपमा परी घाइते भएका ४९ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

यस प्रकोपमा मारिएका १४६ जनामध्ये पहिरोकै कारण अधिकांशको र डुबानमा परी केही सङ्ख्यामा मात्र मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य मन्त्री तथा सरकारका प्रवक्ता राजिथा सेनारात्नेले बताउनु भएको छ । उहाँका अनुसार कतिपय सर्वसाधारणलाई सम्झाउँदा बुझाउँदा पनि आफ्नो थात थलो छोडेर जान नमानेकाले केही बल प्रयोग गरी उनीहरुको बासस्थानबाट अस्थायी शिबिरमा लग्नु परेको थियो ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाहरुको खोजीलाई निरन्तरता दिएको छ ।

संयुक्त राष्ट्र संघीय बिश्व स्वास्थ संगठन, बिश्व बालबालिका कोष, भारत, पाकिस्तान लगायत अन्य मुलुकले यस बाढी पहिरो पीडित जनताहरुलाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ता कपडा तथा अन्य उद्धार सामाग्रीको सहयोग पठाइ रहेका छन् ।

श्रीलङ्कामा लामो समयसम्म परेको खडेरीका कारण सुक्खा लागी कृषि उत्पादनमा अत्यन्त नकारात्मक प्रभाव पर्नुका साथै नदी खोला नाला सुकी जल बिद्युतको उत्पादन र आपूर्ति अत्यन्तै न्यून भै रहेको थियो । अहिले भएको बर्षात्ले राष्ट्रलाई नै पीडा थपिए ता पनि कृषि उत्पादन तथा बालीनालीका लागि भने बरदान पाएजस्तो भएको छ ।

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षात्ले दुइसय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घर धुरी नष्ट भएका थिए ।

गतः वर्ष आएको भीषण मनसूनी वर्षात्का कारण ठाउँठाउँमा भएका बाढी र पहिरोका घटनामा एकसय जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप