शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गन्धर्वको सारङ्गीले यसरी झक्झकायो रोल्पालीलाई

मङ्गलबार, १६ जेठ २०७४, ०९ : १०
मङ्गलबार, १६ जेठ २०७४
रोल्पा, १६ जेठ - छोरा मर्यो युद्ध लड्दा, बेपत्ता छन् पति , खाली सिउँदो पुछिएका उठ चेली जति  ! पुस्तौं देखि रोल्पालीले पाएका छन् चोट,   उम्मेदवार राम्रो छानी दिनुहोला भोट  !! रगतले मुछिएको यो रोल्पाली माटो ,  आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो !!! आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर ¥याँइ¥याँइ सारङ्गीको मीठो धुनसँगै घोराही नगरपालिका दाङका मङ्गले गन्धर्वले यो मीठो गीत गाइरहँदा त्यहाँको वातावरण नै सङ्गीतमय बनेको थियो । पहिले गीत सुन्दा निकै उत्साहित बनेका युवायुवती गीत सुन्दै जानेक्रममा निकै भावुक बनेका थिए । गन्धर्व दाइले गीत गाइरहँदा यी गीतका शब्दले रोल्पाली आमामात्र रोएनन् कैयौँ बाबु पनि भक्कानिए । जवानीमै सिउँदो पुछिएका चेली, बुढेसकालमा काख रित्तिएका आमा, द्वन्द्वकै कारण अभिभावक गुमाएका टुहुरा बालबालिका, बेपत्ता पारिएका तथा घरबारविहीन भएर बाँचिरहेका विस्थापित परिवारका सदस्य सबैलाई भावविह्वल बनायो मङ्गलेको गीतले । उनले आधा दर्जन बढी गीत सुनाए। सबैजसो गीत महिला पक्षमा बोलिएको जस्तो अनुभूति हुन्थ्यो । कति गर्छौ दिदी बहिनी घाँसदाउरा र मेला आएको छ देशको भाग्य आफैँ लेख्ने बेला पहिलो चरणको स्थानीय निर्वाचन देशका विभिन्न स्थानमा सम्पन्न भएपनि स्थानीय निर्वाचन रोल्पामा भने दोस्रो चरणमा हुने भएको छ । निर्वाचनका लागि प्रचारप्रसार सामग्रीसहित टोलटोलमा पुगेको ठूलो समूह मङ्गलेको गीत सुन्न एकै ठाउँमा झुम्मिएको थियो । मंगलेले गीतमात्र गाएनन्, निष्पक्षरुपमा चुनावको प्रचारप्रसार समेत गरे। यसैबीच उनले दशवर्षे सशस्त्र युद्धका कारण पचास वर्ष पछाडि पारिएको रोल्पा र रोल्पालीले अझै पनि स्थानीय निर्वाचनमा विचार नपु¥याए रोल्पा अझै पछाडि पर्ने बताए । उनले गीतका माध्यमबाट आगामी स्थानीय निर्वाचनमा हाम्रो होइन राम्रो, सक्षम, सबल र जनप्रिय उम्मेदवारलाई भोट दिनुपर्ने सुझाव दिए। हाम्रो होइन राम्रो नेता छानौँ दाजुभाइ भोट दिउँ जनप्रिय उम्मेदवारलाई उठ नारी च्यात अब बन्धनको जालो जाग ब्यूझ जुर्मुराउ आयो तिम्रो पालो चाउरी परेको अनुहार, फाटेका लुगा, काँधमा पुरानो झोला, टाउकोमा मैलिएर रङ नै नचिनिने आधा कपाल बाहिरै निस्किएको टोपी लगाएका मङ्गलेले आफू उमेरले करिब साठी वर्ष पार गरिसकेको बताए। बाबु आमासँगै गीत गाउँदै हिँड्ने क्रममा ५÷६ वर्षकै उमेरमा सारङ्गी रेट्न सिकेका मङ्गलेले आठ नौ वर्षको उमेरदेखि नै यही पेसा अङ्गालेको बताए । कतै माया पिरतीका, कतै उकाली ओरालीका कतै जीवन र जगतप्रतिको आफ्नो भोगाइका त कतै समसामयिक परिवेशका गीत सहित उनले ठट्यौलो पाराको गीत पनि गाएका छन्। ठट्यौलो पाराको गीत गाएपछि भने आँखामा आसु टल्पलाएका मुहारमा हाँसो छाएको देखिन्थ्यो । यसैबीच मङ्गलेले आधुनिकताको नाममा पश्चिमी संस्कृतिले नेपाली मौलिकतामा ठूलो ठेस पु¥याएको टिप्पणी गरे। उनले गीतको माध्यमबाट गन्धर्वका कथा ब्यथा सुनाउँदै लोक संस्कृतिको जगेर्नामा लाग्न सबै रोल्पाली युवालाई प्रेरित पनि गरे । गन्धर्वको कथा ब्यथा सारङ्गीले सुन्छ भोको पेट नाङ्गो छाती कैले पूरा हुन्छ बाँच्नै गाह्रो भयो हाम्लाई पिरैपीर बनी सारङ्गीलाई माया गरौँ नेपाली हौं भनी बाँकी गीतलाई बीचमै रोकेर मङ्गलेले भने, “सारङ्गी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, ख्याम्टा आदि हाम्रा लोकबाजा हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बाँसुरीको धुनमा रमाउन खोजिरहेका छन् । यसकारण दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदै गएको उनको बुझाइ छ । त्यसैले लोकबाजाको संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको सुझाव छ । लाहुरे बाका आँगनीमा रोदी गाँउथे पैले सारङ्गी र डम्फू मादल ओझेल प¥यो ऐले । सम्पत्तिको नाउँमा हाम्रो यै सारङ्गी बाजा बज्नै छाड्यो भन्छन्, सबले गाउँघरमा आज उनका अनुसार पछिल्ला दिनमा एकाध गन्धर्वबाहेक सबैले आफ्नो गाइने पेसालाई छोडिसकेको हुँदा पनि यो पेसा सङ्कटमा पर्दै गएको छ । त्यसैले गाइने दाइको सारङ्गी र गाइने दाइको लोकभाका संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप