शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मादल बचाउन उठे रोल्पाका बादी

मङ्गलबार, १६ जेठ २०७४, ०९ : ५६
मङ्गलबार, १६ जेठ २०७४
रोल्पा, १६ जेठ - चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो । मादल बनाउने परम्परागत पेसा लोप हुन लागेको तथा प्रविधि पनि हस्तान्तरण गर्ने भन्दै घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा पेसा प्रवद्र्धन तालिम मागेअनुसार जिल्लाका बादी समुदायका १२ जनाका लागी ४५ दिने मादल बनाउने तालिम सम्पन्न गरिएको छ । लोप हुन लागेको पेसालाई संरक्षण गर्दै आधुनिकीकरण गरी आयआर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए । दुईखोली गाउँपालिकाको इरिवाङमा रहेका १८ घरधुरी बादी समुदायका लागि सरकारले केही वर्ष पहिले घर बनाइदिएको थियो । सरकारले बनाइदिएको घरबाहेक अन्य जग्गा नभएको रामचन्द्र बादीले बताए। पेट पाल्नका लागि मादल बनाउने पेसा छाडेर अन्य पेसा अँगाल्न थालेको बेला मादल बनाउने तालिमले आफ्नै पेसातर्फ फर्केर परम्परा बचाइ राख्न मद्दत गरेको तालिमका सहभागी रामचन्द्र बादीले बताए । आफूहरुको आर्थिक अवस्था कमजोर रहेका कारण पेसा प्रवद्र्धनका लागि सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको तालिममा सहभागी निर्मला बादीले बताइन् । आठ महिलासहित १२ जनालाई सो तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले जनाएको छ । तालिममा उत्साहका साथ सहभागिता जनाएका कारण पेसाप्रति इमान्दारिताका साथ लाग्नेमा आफू आशावादी भएको कार्यालय प्रमुख आचार्यले बताए । उनीहरुले उद्यम दर्ता गरी उद्यम थप विकास गर्न चाहेमा उद्यम विकास कोषमार्फत महिला उद्यमीका लागि बिनाधितो ऋण उपलब्ध गराउन सकिने आचार्यको भनाइ छ । तालिमपश्चात् उनीहरुलाई तालिममा प्रयोग भएका मेसिन औजार पनि उनीहरुलाई नै हस्तान्तरण गरिएको छ । परम्परागत पेसा छोड्दै ज्याला–मजदुरी तथा माछा मार्ने काममा लाग्न थालेका उनीहरुको परम्परागत पेसालाई निरन्तरता दिने सोचका साथ सो तालिम सञ्चालन गरिएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप