चालक धनबहादुरको कारागार पाठ : ‘कानुनलाई पनि ध्यान दिनुपर्ने रहेछ’
भूमिराज जोशी
दिपायल, जेठ १६ –सोमबार बिहान करिब ८ बजेदेखि जिल्ला कारागार कार्यालय डोटीमा एक प्रकारको जात्रा जस्तै उत्सबमय बाताबरण थियो । बाहिरबाट हेर्नेहरुले आज गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालयमा पनि कार्यक्रम रहेछ भन्ने बुझे । सुरक्षाकर्मीहरु तथा कारागार कार्यालयका कर्मचारीहरु गेट बाहिर भित्र गर्दै थिए । एक आपसमा खुसी बाँडे जस्तो गर्दै थिए । महिला कैदीहरु पनि तार भित्रबाटै हेरिरहेका थिए । कारागार कार्यालयले निमन्त्रणा गरेकाहरुको पनि खचाखच भिड लाग्दै थियो । एक आपसमा कुराकानीहरु साँट्दै फलफूल तथा मिठाइ खाइरहेका दृष्यहरु सजिलै देख्न सकिन्थे ।
त्यतिकैमा कैदीहरुका नाइके तथा सुरक्षाकर्मीहरुसंगै फूलमाला, धनमाला र अबिरले रंगाइएका एक २८ बर्षीय युवक बन्दीघरबाट बाहिरिए । उनी थिए, केदारस्यु गाउँपालिका – ६ (साबिकको भामचौर गाबिस–३)का धन बहादुर बोहरा । कैदीबन्दीहरु मध्ये सबैभन्दा रमाइला तथा फुर्तिला अझ भनौं कारागार कार्यालयका कर्मचारीहरुका पनि प्यारा भैसकेकाले उनको बिदाइमा कैदीहरुले अनौपचारिक कार्यक्रम गरी बिदाइ गरेको कैदीका नाइकेले बताए ।
उनले भने, ‘अन्जानमा गल्ती भएर पनि कारागारमा आइ सबै कैदीबन्दीहरुका मनमा पसिसकेका थिए । राम्रा गुणहरु अपनाएर छिट्टै बाहिरिएका हुन् ।’ बोहराको बिदाइमा सबै बन्दीहरुले बिदाइ गर्दा खुसीका आँसु झारेका थिए । जेलघर बाहिर आएपछि खुसीसंगै उनको शरीर पनि काँपीरहेका थियो । जसरी उनलाई प्रहरीले समातेर जेलघर भित्र पठाएका थिए त्यसरी नै फर्किदा पनि काँपीरहेको थियो ।
२०७२ साल चैत २९ गते बझाङ्गको तमैल बजार नजिक करिब १५ बर्षीया बालिकालाई उनले चलाउने बोलेरो जीपले च्यापेर मृत्यु भएको अभियोगमा उनलाई २ बर्षको जेल सजाय सुनाएको थियो । चैत २९ गतेदेखि २०७३ भदौ २१ गतेसम्म उनलाई प्रहरीको हिरासतमा राखियो । त्यो अबधिभर मुद्धा चलिरह्यो । भदौ २२ गतेदेखि बन्दी हुनेगरी उनलाई जिल्ला अदालत बझाङ्गले जेल सजाय सुनायो ।
बोहरालाई ६ महिना जिल्ला कारागार कार्यालयमा राखियो । बन्दीहरु बढी भएपछि बोहरा लगायत २ जना आकाश परियार र श्याम बोहरालाई जिल्ला कारागार कार्यालय डोटीमा सरुवा गरियो । बझाङ्ग कारागार कार्यालयमा बस्दा र डोटी कारागार कार्यालयमा बस्दा उनको सरल भाषा शैली, बोली नम्रता, इमानदारिता, शिष्टाचार लगायत बिभिन्न गुणहरु उनीमा थिए । जेल चलान भएदेखिको दिनबाट दुई बर्षसम्म जेलमा बस्नुपर्ने थियो ।
कारागारमा सबै भन्दा राम्रा इमानदार गुणहरु अपनाएर बसेकाले करिब ८ महिनामै रिहाइ भएको जिल्ला कारागार कार्यालयका जेलर यज्ञराज पाठकले बताए । ४ जना कैदी र एक जना थुनुवामा गरी पाँच जना महिला र १ जना १० महिने आश्रित नाबालक र २९ जना पुरुष गरी जम्मा ३५ जना कैदीबन्दीहरु रहेका छन । डोटी कारगारमा सबैभन्दा सालिन स्वभाबका बोहरालाई गृह मन्त्रालय, मन्त्री परिषद र कारागार ब्यवस्थापन बिभागको निर्णय अनुसार कम सजाय सुनाइएका तथा इमानदार कैदीबन्दीहरु मध्य एकजनालाई गणतन्त्र दिवसको अवसरमा रिहाइ गर्नुपर्ने भनी १४ गते आइतबारका दिन आएको पत्र अनुसार बोहोरालाई कैद मुक्त गराएको पाठकले बताए ।
‘साहु डम्मर सार्कीको बोलेरो जीप चलाएको १२ दिनमै यस्तो घटना भएको थियो’ धनबहादुर सम्झन्छन् । उनले भने ‘करिब ८ बर्ष अगाडीदेखि जीप चलाउँथे तर त्यो नयाँ जीप चलाएको १२ दिनमै जेल चलान हुनुपर्ने भन्ने लेखेको रहेछ ।’ जेलमा जाँदा सुरुमा त कस्तो अप्ठेरो लाग्ने रहेछ, उनले भने, ‘घरपरिवार, समाज, आफन्त तथा सबै चिनेजानेकाहरुको सम्झना आउने गथ्र्यो । त्यसपछि भने बिस्तारै बाहिरीको संसार नै भुलेर आफ्नै नयाँ संसारमा प्रबेश गरेको अनुभब भएको थियो ।’ कहिलेकाँही आफन्तहरु आउथे । त्यतिबेला भने समाजमा सबैको याद आउँथ्यो उनि सम्झन्छन ।
अबको योजना पनि फेरी गाडी चलाउने नै बनाएका छन् धनबहादुरले । ‘अब त धेरै होस पु¥याएर मात्र सबारी साधन चलाउँछु ।’ धनबहादुर बोहराले भने, ‘म जस्तै सबारी साधन चलाउने अरु साथीहरुलाई पनि सल्लाह दिन्छु । किनकी एउटा सामान्य गल्तीले ठूलो सजाय भोग्नु नपरोस ।’ सबारी साधन मात्र होइन, समसामयिक कुराहरुलाई ध्यानमा राखेर काम गर्छु र अरुलाई पनि सल्लाह दिन्छु ।
बोहराले भने, ‘जेलघरमा बस्दाको पीडा (जस्तो प्रकृतिको घटना भएपनि) त्यो साँच्चिकै कठोर हुन्छ । त्यसैले आम जनसमुदायले पनि कानुनका कुराहरुलाई ध्यानमा राखी काम गर्नुपर्नेमा सुझाब दिनेछु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण