शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी दाङका उम्मेदवारका यस्ता छन एजेन्डा

बुधबार, १७ जेठ २०७४, १० : ०८
बुधबार, १७ जेठ २०७४
लुमाकान्त न्यौपाने ‘सागर’ अध्यक्षका उम्मेदवार, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका गढवा गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ? हामीले शोषित उत्पीडितको अधिकारका लागि निकै ठूला लडाई लडेका छौं । अहिले स्थानीय तहको निर्वाचन भइरहेको छ । यसको जन्मदाता नै माओवादी हो । अहिले हाम्रो एजेण्डामा समग्र मुलुक अघि बढिरहेको छ । हिजो स्थानीय तहको कुरा उठाउँदा हामीलाई आतंककारी देख्ने साथीहरु अहिले स्वयं प्रतिस्पर्धामा आउनुभएको छ । यो नै हाम्रो सबैभन्दा ठूलो विजयी भइसकेको छ । जसको नेतृत्व उसको नेतृत्व हुन आवश्यक छ । नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरिपक्षता, समावेशी समानुपातिक र उत्पीडितको अधिकारको नीति माओवादीले लिएको हो । अहिले ती प्राप्त भएका छन् । त्यसको कार्यान्वयनका लागि पनि माओवादीको नेतृत्व आवश्यक छ । अन्य पार्टीको नेतृत्वले यसको वास्तविक मर्म कुनै पनि हालतमा बुझ्न सक्दैन । त्यसैगरी गढवा गाउँपालिकाको समग्र विकास र यहाँको दैनिक प्रशासन सहज बनाउनको लागि मेरो उम्मेदवारी परेको हो । यस क्षेत्रको विकास निर्माण र यहाँका जनताको जीवनस्तर बढाउनका लागि मेरो उम्मेदवारी परेको हो । मतदाताले तपाईलाई नै मत दिनुपर्ने कारण के ? नेपालमा परिवर्तनका लागि उठेको लडाईमा मैले महत्वपूर्ण भूमिका निर्वाह गरको छु । कुनै बच्चाको जन्मजातलाई जत्ति चिन्ता अरुलाई हुँदैन । स्थानीय तहको माया पनि हामीलाई जति अरु दललाई छैन । अन्य उम्मेदवार विजयी भए पनि स्थानीय तहको वास्तविक अधिकारलाई प्रयोग गर्न सक्दैनन् । हामीले लिएको एजेण्डा भएका कारण यसको प्रयोग पनि हामीले मात्र गर्न सक्छौं । स्थानीय तहको अधिकार २२ ओटा छन् । ती अधिकार प्रयोग गर्न सकेमा हामीले गाउँलाई नयाँ ढंगले विकास गर्न सक्छौं । त्यसका लागि सबै कुरा बुझेको उम्मेदवार आवश्यक पर्छ । यी सबै काम गर्न म अन्य उम्मेदवारको तुलनामा सक्षम भएकाले आम मतदातालाई मलाई विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु । गढवा गाउँपालिकाको समस्या के देख्नुहुन्छ ? गढवा गाउँपालिकामा सबैभन्दा बढी सुकुम्बासी, मुक्तकमैया र ऐलानी जग्गाको समस्या छ । यसका कारण यस क्षेत्रका धेरै गरिब समुदायलाई अप्ठ्यारो परेको छ । त्यसैगरी राप्ती नदी र अन्य खहरे खोलाका कारण जग्गा कटानको समस्या छ । अहिले वर्षेनी सयौं विघा खेतीयोग्य जमिन नास भइरहेको छ । त्यसैगरी सडक, खानेपानी, बिजुली र सिचाईको समस्या छ । साथै अहिले शिक्षा, स्वास्थ्य र सञ्चारको पनि निकै समस्या रहेको छ । गढवामा रहेका सडकहरु निकै जीर्ण अवस्थामा रहेका छन् । यस गाउँपालिकाअन्तर्गत नाका क्षेत्र जोडिएका स्थानमा खानेपानीको निकै अभाव भएको छ । त्यसैगरी यातायातको पनि निकै धेरै समस्या छ । यी समस्या समाधानका लागि मसँग स्पष्ट गुरुयोजना छ । गढवामा हामीले कृषि तथा पर्यटनको राम्रो विकास गरेर यस क्षेत्रका जनताको जीवनस्तर उकास्न सक्छौं । स्थानीय स्रोतबाट गाउँपालिकामा विकासको काम गर्नेछु सुशील खड्का क्षेत्री अध्यक्षका उम्मेदवार, नेकपा माओवादी केन्द्र बबई गाउँपालिका बबई गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ? सिंहदरबारको अधिकार गाउँमा लैजानुपर्छ भन्ने एजेण्डा माओवादीको हो । हामीले अब गाउँमै जनताको सरकार बनाउन गइरहेका छौं । म बबई गाउँपालिकाको अध्यक्ष भएर यस क्षेत्रको विकासका लागि स्पष्ट योजना बनाएको छु । हामीले समग्र स्थानीय, स्रोत साधन र श्रमको प्रयोग गरेर गाउँपालिकाको विकास गर्ने छौं । बबई गाउँपालिकामा प्रशस्त जल, जमिन, जनशक्ति र जडिबुटी रहेको छ । यसको सदुपयोग गर्न सकेमा मात्रै पनि हामी अन्य पालिकाहरुको तुलनामा तीव्र आर्थिक विकास गर्न सक्छौं । स्थानीय स्रोत र सीपको प्रवद्र्धन गरेर बबई गाउँपालिकालाई मुलुककै नमुना गाउँपालिका बनाउनका लागि मेरो उम्मेदवारी हो । गरिबी र अशिक्षाका कारण अहिले बबई गाउँपालिका निकै पछि परेको जस्तो देखिन्छ । अब यस्तो हुने छैन । यी कुरा हटाउनको लागि मैले विगतदेखि पहल गरिरहेको छु । त्यतिबेला म पहलकर्ता मात्र थिएँ, अब कार्यकारी पदमा पुगेर काम गर्ने बेला आएको महशुस गरेर मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । अध्यक्ष पदका अन्य उम्मेदवारलाई मत नदिएर तपाईलाई नै दिनुपर्ने कारण के छ ? सुशील क्षेत्री जनताको सेवाका लागि घर परिवारको कुनै पर्वाह नगरेर राजनीतिमा आएको व्यक्ति हो । अन्य व्यक्तिहरु राजनीतिमा आएर धन सम्पत्ति कमाएको सुनिन्छ । तर, मैले राजनीतिमा आएर धेरै चिज गुमाएको छु । राजनीति र समाजसेवा गर्दागर्दै मैले राम्रो दुई तले घर बिक्री गरेर अहिले मसानघाट जस्तो ठाउँमा सानो झुपडी बनाउनु परेको छ । मैले बबई गाउँपालिकाको विकासका लागि विगतदेखि आवाज उठाउँदै आएको छु । यहाँको विकासका लागि मसँग स्पष्ट योजना रहेको छ । मैले पछाडि पारिएका वर्गको अधिकारका लागि आवाज उठाउँदै आएको छु । मलाई यहाँका जनताको समस्याको बारेमा सबै कुरा थाहा छ । त्यसले पनि मैले यहाँको विकासमा राम्रो काम गर्न सक्छु । बबई गाउँपालिकाको समस्या के देख्नुहुन्छ ? जिल्ला सदरमुकामभन्दा बबई गाउँपालिका अहिले करिब ५० किलोमिटर टाढा छ । सधैंभरि जिल्लाको दृष्टिकोण पुग्दैन । एकात्मक केन्द्रीकृत राज्यसत्ताका कारण ग्रामीण भेगको विकास हुन सकेन भनेर माओवादीले एजेण्डा अगाडि बढाएको हो । अहिले यहाँको स्रोत साधनको उचित प्रयोग हुन सकेको छैन । विकासका योजनाहरु बबईमा पुग्न सकेका छैनन् । अहिले पनि अशिक्षा र बेरोजगारीका कारण बबई गाउँपालिका पछाडि पारिएको छ । यहाँको युवा शक्ति विदेश पलायन भएको छ । अहिले गाउँमा आधुनिक कृषि उत्पादन हुन सकेको छैन । परम्परागत रुपमा खेतीपाती भइरहेको छ । अब बबई गाउँपालिकाको लागि सबैभन्दा पहिले दीर्घकालीन गुरुयोजना बनाउनुपर्छ । अब हामीले केन्द्रको मुख ताकेर विकास गर्न सक्दैनौं । स्थानीय तहमा नै बजेटको व्यवस्था गर्नुपर्छ । गाउँपालिकाको विकासका लागि सबै राजनीतिक दलहरु एक हुनुपर्छ । विकास सबैको साझा एजेण्डा बन्नुपर्छ । महिलाले अवसर पाए नेतृत्व गर्न सक्छन् द्रौपदा पौडेल प्रमुखका उम्मेदवार, नेकपा माओवादी केन्द्र लमही नगरपालिका लमही नगरपालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ? नेपाली समाजमा महिलाहरु अहिलेसम्म पछाडि पारिदै आएका छन् । हरेक पदमा पुरुष नै हुनुपर्ने मान्यता जस्तो भएको छ । राष्ट्रिय रुपमा केही पदमा महिलाहरु पुगे पनि देशव्यापी रुपमा महिलाहरु कार्यकारी पदमा पुग्न सकेका छैनन् । अहिले पनि यो निर्वाचनमा धेरै स्थानीय तहमा महिलालाई उप मेयर अथवा उपाध्यक्षमा उठाउने काम भएको छ । म एक पटक कार्यकारी पदमा पुगेर लमही नगरपालिकाको समग्र विकासमा लाग्न चाहन्छु । म पुरुषसरह काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु । नेपालमा महिला तथा उत्पीडितको अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने एजेण्डा माओवादीको हो । म नगरपालिकाको मेयर भएपछि महिलाको मात्र नभएर यस क्षेत्रको समग्र समुदायका लागि काम गर्ने छु । मैले विगतदेखि नै यस क्षेत्रको विकासका लागि पहल गरिरहेको छु । अब त्यो काम पूरा गर्नका लागि पार्टीले मलाई आवश्यक देखेकाले मैले नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारीपछि शुभेच्छुक तथा आम नगरवासीले राम्रो हौसला दिनुभएको छ । उहाँहरुको माया र सहयोगबाट मैले राम्रो मतका साथ नगरको प्रमुख पदमा चुनाव जितेर यस क्षेत्रको विकासमा लाग्ने छु । यस पटक आम जनसमुदायले मलाई अबसर दिनुहुनेछ भन्ने मेरो विश्वास रहेको छ । नगरको प्रमुख पदका अरु उम्मेदवारलाई भोट नदिएर तपाईलाई नै दिनुपर्ने कारण के ? लमही नगरपालिकाको समग्र विकासका लागि मेरो आवश्यकता छ । नगरपालिकालाई कसरी व्यवस्थित गर्नुपर्छ भनेर मसँग स्पष्ट योजना रहेको छ । अहिले लमही नगरपालिका भएर पनि राम्रोसँग शहरीकरण हुन सकेको छैन । फोहोरमैला व्यवस्थापन हुन सकेको छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही बजार क्षेत्र जोडिन्छ । तर, अहिले लमही सामान्य सानो बजार जस्तो छ । लमहीलाई आधुनिक शहर बनाउन जरुरी छ । अर्को कुरा अन्य पार्टीहरुसँग लमहीलाई कसरी विकास गर्ने भन्ने स्पष्ट योजना छैन । यो पटकको निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि चुन्ने मात्र होइन । हामीले अहिले स्थानीय सरकार बनाउन लागिरहेका छौं । अब हामीले गाउँमा केन्द्रको अधिकार वितरण गर्नुपर्ने हुन्छ । यसका लागि मेरो आवश्यकता देखिएको छ । लमही नगरपालिकाका समस्या के देख्नुहुन्छ ? लमही नगरपालिका भर्खरै गठन भएको नगरपालिका हो । अहिले पनि नगरपालिकाका लागि आवश्यक पर्ने पूर्वाधार तयार भइसकेका छैनन् । खानेपानी, ढल निकास, सडक विस्तार लगायतका काम हुन सकेका छैनन् । लमहीमा फोहोर व्यवस्थापनका लागि निकै समस्या छ । त्यसैगरी नगरपालिकाका विकट क्षेत्रमा सुकुम्बासी तथा भूमिहीनहरुका समस्या छन् । यी समस्या समाधानका लागि पहिलो पटक बन्न थालेको स्थानीय तहले स्पष्ट योजना बनाउनुपर्ने छ । यी योजना बनाउन म सक्षम छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप