शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिने पक्षमा कांग्रेस

शुक्रबार, ०१ साउन २०८३, १४ : ०८
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा आन्तरिक छलफल अघि बढाएको छ।
  • प्रदेश सभापति अमरसिंह पुनले केन्द्रमा विकसित राजनीतिक परिस्थितिका बाबजुद लुम्बिनीमा एमालेसँगको सहकार्य कायम राख्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
  • यसअघि एमालेसँग भएको सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्था कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको छ।

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा आन्तरिक छलफल अघि बढाएको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रमा विकसित राजनीतिक परिस्थितिका बाबजुद लुम्बिनीमा एमालेसँगको सहकार्य कायम राख्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले यसअघि एमालेसँग भएको सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्था कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको बताए।

“पहिले भएको सहमति कार्यान्वयन गर्दै सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको छ,” पुनले भने।

उनका अनुसार यसबारे पार्टीको केन्द्रीय नेतृत्वलाई पनि जानकारी गराइसकिएको छ।

“अन्य ६ प्रदेशमा जे भए पनि लुम्बिनीमा भने एमालेसँगको सहकार्यलाई निरन्तरता दिनु उपयुक्त हुने हाम्रो धारणा छ। यही विषयमा केन्द्रीय नेतृत्वलाई पनि ब्रिफिङ गरेका छौं,” उनले भने।

२०८१ सालमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशमा सुरुमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए भने कांग्रेसले उनलाई समर्थन गरेको थियो। उक्त सहमतिअनुसार आलोपालो नेतृत्वको व्यवस्था कार्यान्वयन भए अब कांग्रेसले मुख्यमन्त्री पाउने अवस्था रहनेछ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि अधिकांश प्रदेशमा सरकारको समीकरण फेरिने चर्चा भइरहेका बेला लुम्बिनीमा भने पुरानै सहमतिअनुसार सत्ता सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै दलबीच सकारात्मक छलफल भइरहेको स्रोतहरूको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप