शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठकः नयाँ सरकारबारे यस्तो छ निर्णय

बुधबार, १७ जेठ २०७४, १२ : २९
बुधबार, १७ जेठ २०७४

काठमाडौं, जेठ १७–सत्तारुढ नेकपा माओवादी केन्द्रले काँग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

बुधबार विहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले काँग्रेस नेतृत्वमा सबै दललाई समेटेर सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक हप्ता भएको छ । सरकार गठनका लागि विहिबारबाट बहुमतीय प्रक्रिया सुरु हुँदैछ । बहुमतीय प्रक्रिया भित्रै रहेर सबै दल समेटिने गरी सरकार गठन गर्ने निर्णय लिइएको सांसद रामनारायण बिडारीले जानकारी दिए । माओवादी केन्द्रले नयाँ सरकारलाई झनै जनपक्षीय बनाउन जोड दिने पनि जनाएको छ ।

बैठकले कार्तिक–मंसीर भित्र प्रदेश र संघ दुवै तहको निर्वाचन सम्पन्न गर्न जोड दिने निर्णय पनि गरेको छ । संघीयतामा आधारित बजेट ल्याएर पार्टी नेतृत्वको सरकारले ऐतिहासिक उपलब्धि हासिल गरेको पनि माओवादी केन्द्रको दावी छ ।

कार्तिक/मंसीर भित्र प्रदेश र संघको पनि निर्वाचन सम्पन्न गर्न जोड दिने निर्णय पनि गरिएको सांसद बिडारीले बताए । आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

माओवादी केन्द्रले स्थानीय तहलाई बलियो बनाउने गरी बजेटको व्यवस्था गरेको भन्दै अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि धन्यवाद दिएको छ । सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा स्थानीय तहलाई उच्च प्राथमिकता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप