बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानपञ्चको कुटाइले कम्युनिष्ट बनेका ईश्वरी रिजाल

आइतबार, १७ पुस २०७९, १२ : २१
आइतबार, १७ पुस २०७९

नेकपा एमालेको पोलिटब्युरो सदस्य र सांसद हुन् ईश्वरी (विक) रिजाल । पार्टीमा वैचारिक नेताको छवि बनाएका रिजाल विचार दर्शन र सिद्धान्तमा दरो पकड भएका थोरै नेता मध्येका एक नेताको रूपमा परिचित छन् । 

हालै सम्पन्न चुनावमार्फत् समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै एमालेको कोटाबाट प्रतिनिधिसभा सदस्यमा ईश्वरी निर्वाचित भएका छन् । कथित अछूत जातको हुनु, निम्न आर्थिक अवस्थामा गुज्रदै राजनीति गर्दा खेपेका अनेक हण्डर दुःख र सङ्घर्षले खारिएका रिजाल एक गर्विला पात्र हुन्, जसले जात व्यवस्थाको थुप्रै बार, तगारा र बन्देज छल्दै एमालेको पोलिटब्युरो सदस्य बन्ने अवसर प्राप्त गरेका छन् । 

राजनीति उसै पनि नागबेली लयमा हिँडछ । राजनीतिमार्फत् सामान्य मान्छेले पद सोपानको यो हदको सफलता प्राप्त गर्न कसैले हुक लाएर तानिनु पर्छ । कतै नातावाद लाग्छ, कतै धन दौलत प्रधान हुन्छ । कतै जात हावी बन्छ, कतै अन्य अवैधानिक सम्बन्ध र व्यापारिक पार्टनरसिप हावी बन्छ । कतै संवैधानिक अनिवार्यताले छिराउनु पर्ने हुन्छ । यी सबका बाबजुद पनि रिजाल सामान्य किसानका छोरा र कथित अछूत दलित समुदायको व्यक्ति भएर पनि यहाँसम्म आइपुग्न आफ्नै ह्याउले काम गरेको छ । 

एमालेको पोलिटब्युरोसम्म पुग्न सामान्य हैसियतले पुग्दैन । त्यो हैसियत कि आर्जित हुन्छ कि प्रायोजित । रिजाल प्रायोजित हैसियतका नेता होइनन् । यिनले यी सबै सफलता कसैको आशिर्वाद नमागी आफैले स्वार्जन गरेका हुन् ।

मार्क्सवादी दर्शन र कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय समाविष्ट उनको प्रशिक्षक किताब (२०७८) एमालेजनले आफ्नो स्कुल विभागको पाठ्यक्रममा संलग्न गरेको छ । ईश्वरी अहिले एमालेको स्कुल विभागको उपप्रमुख पनि छन् । 

व्यक्तिगत सौखको रूपमा सारङ्गी रेटेर मनमोहक कर्णप्रिय धुन निकाल्न सिद्दहस्त छन् उनी । प्रशिक्षक नामक् किताब समेत प्रकाशित गरेका रिजाल समसामयिक विषयमा तर्कपूर्ण र गहन लेख पनि प्रकाशित गरिरहन्छन् । साहित्यिक मन भएका उनी कविता सुन्न र गीत लेखेर गुन्गुनाउन मन पराउँछन् । विशेष गरी अध्ययन आफ्नो लत भएको नेता रिजालको स्वीकारोक्ति छ । 

बुबा रणबहादुर रिजाल र आमा रणकुमारी रिजालको सन्तानको रूपमा दोलखाको उत्तरी भेग हालको बिगु गाउँपालिका चिलंखामा २०२४ मा जन्मिएका हुन् । उनले निमावि तहसम्मको शिक्षा चिलंखाको हिमालय निमाविबाट पूरा गरी बाँकी १० कक्षासम्म दोलखाको लादुकस्थित शान्ति आदर्श माविबाट पूरा गरे । 

यसरी औपचारिक शिक्षाको रूपमा १० कक्षासम्म मात्र लिएका रिजाल स्वअध्ययनका कारण अनेक डिग्रीधारीका सर्टिफिकेट भन्दा ज्ञानको गहिराई र भोक उनमा धेरै देखिन्छ । किताबका किरो नाम दिँदा अन्याय हुँदैन, यी नेतालाई । एउटा प्राज्ञिक अनुसन्धाताले छिचोल्न नसक्ने कतिपय धर्म, दर्शन, राजनीतिशास्त्र, समाजशास्त्रलगायत थुप्रै विषयको गहिरो ज्ञान रिजालसँग छ ।

मार्क्सवादी दर्शन र कार्यकर्तालाई प्रशिक्षित गर्ने विषय समाविष्ट उनको प्रशिक्षक किताब (२०७८) एमालेजनले आफ्नो स्कुल विभागको पाठ्यक्रममा संलग्न गरेको छ । ईश्वरी अहिले एमालेको स्कुल विभागको उपप्रमुख पनि छन् । 

उनी एउटा ब्राण्ड बनेका छन वैचारिक नेताको । एमालेको वैचारिक कारखाना ईश्वरीले तयार गरेको आरनमा बसेर कार्यकर्तालाई जनवादी पाइन हाल्दा स्वयं केपी ओली पनि बेला बेलामा छेउमा बसेर खलाँती फुकिदिन्छन् । ईश्वरीले कार्यकर्तालाई दिने वैचारिक प्रशिक्षण तालिम र सीप देखेर ओलीसमेत दङ्ग छन् ।

ओलीको धाप पाएका नेता ईश्वरी एमालेभित्र राजकीय र महत्वपूर्ण अवसरबाट भने वन्चित नेता हुन् । एमाले कार्यकर्ता धार नलाग्ने र भूत्ते बन्दै गएका र अनेरास्ववियुमा पनि पढ्ने लेख्ने विचार विमर्श गर्ने, आलोचनात्मक चेत राख्ने पङ्क्ति कम हुँदै गएको र समग्र राजनीतिकर्मीमा पढ्ने कल्चर विस्थापित बनेर हाहा हुहुको शैलीमा बढोत्तरी भएकोमा रिजालको चित्त दुखाई छ ।

मान्छे विचारले बाँधिन्छ, राजनीति गर्ने मान्छेलाई बाँध्ने धागो विचारको हो । त्यो धागो मोटो भएर जानु पर्नेमा त्यान्द्रो जस्तो मात्रै भएकोले विकृति बढेको रिजालको निश्कर्ष छ । वैचारिक, सैद्धान्तिक, सांगठनिक र नैतिक विचारमा स्खलन आएको कारण आजको राजनीतिक रमिता भएको हो । जनता कम्युनिस्ट भएको हेर्न चाहन्छन्, उता नेता कार्यकर्ता कम्युनिस्ट दर्शन र सिद्धान्तच्यूत हुन चाहन्छन् । कम्युनिष्ट आवरण र नाममा होइन,  अपितु आचरण, व्यवहार, ज्ञान र विज्ञानमा हुनुपर्छ । नेता अनुकरणीय बन्नुपर्छ । आफै पनि अझै कम्युनिस्ट बन्न नसकेको र अन्य ठुलठूला कम्युनिष्ट नेता पनि कम्युनिस्ट बन्ने क्रमबाट पछि हटेकोमा निर्ममतापूर्वक समीक्षा गरेर अघि बढ्नुपर्छ, नत्र कम्युनिस्ट सकिन्छ । यस्तो खरो विचार राख्छन् उनी ।

नेपाल समाजवाद उन्मुख बन्न कम्तिमा आवधिक निर्वाचनको दुई कार्यकाल एकै कम्युनिस्ट पार्टीले शासन गर्नुपर्छ, त्यो पार्टी एमाले हुनुपर्छ, तव मात्र समाजवादका केही सैद्धान्तिक जग राख्न सकिन्छ । अन्यथा सरकारमा जानु र आउनु सामान्य कामबाहेक केही गर्न सकिन्न, समाजवाद निर्माणको आधारबारे सोध्दा रिजाल भन्छन् । 

नेता रिजाल धाराप्रवाह मार्क्सवादको व्याख्या विश्लेषण र मूल्याङ्कन गर्न सक्छन् । उनी आफै पनि दार्शनिक झैँ लाग्छन् । तौलेर बोल्छन् । बोल्दा दर्शन बोल्छन् । जीवनका अनेक आयामबारे गहन विमर्श गर्न सक्छन् । 

एक दिनको कुरा हो, रिजाल स्कुलबाट आफ्नो गाउँ चिलंखा फर्कदै गर्दा एउटा चौतारीमा बसेका थिए । लालकुमार त्यही बाटो आए अनि ईश्वरीबारे सोधखोज गरे । उनीसँग नजिक बन्न चाहेर गाउँघरमा हुने अत्याचार र अन्याय अनि त्यसको विरुद्ध लड्ने र यो व्यवस्था पल्टाउने कुरा गरे । त्यतिबेला आफू किशोरवयको भएको कारण कति बुझियो कति बुझिएन तर आफूलाई अछूत भनेर अन्याय गर्ने यो व्यवस्थाविरुद्ध लड्नुपर्छ भन्ने भावको बीजाङ्कुरण त्यहीबेला भयो । लालकुमारका कुराले मन छोयो । 

कम्युनिष्ट बन्ने पृष्ठभूमि 

रिजाल कक्षा तीनमा पढ्दै गर्दा गाउँकै एक मुखियाको घरमा साथीसंग गएका थिए । उनी मुखियाको फलैचाको राडी पन्छाएर छेउमा बसेका थिए भने उनको साथी फलैचामा बसेको थियो । मुखिया आएर उनलाई तँ को होसु भनेर सोधे ।

उनी रणबहादुर विश्वकर्माको छोरो भएको थाहा पाएपछि मुखियाले तथानाम गाली गरेर उनलाई जातीय अपमान गरे । उनलाई गाली गर्ने क्रममा उनका बाबुको नामसमेत लिएर अछूत भनेर कराए, जसले उनको बालमस्तिष्कमा भित्रैसम्म पिन्च गर्यो । 

सँगै रहेको साथी फलैंचामा बस्न हुने, आफू राडी पन्छाएर बस्दासमेत त्यस्तो गाली खानुपर्ने उनको बालमस्तिष्कले आफैलाई प्रश्न गर्यो– म को हुँ ? 

त्यतिमात्र होइन, बाख्राले बाली खाएको निहूँमा भएको एउटा विवादमा सरकारी कागजको कृत्य गरेको भनेर पनि रिजाललाई ८ कक्षामा पढ्दा गाउँका प्रधानपञ्चले थाममा डोरीले बाँधेर कुटे । षड्यन्त्रपूर्ण तवरले निवेदन लेख्न लगाएर हर्जाना असुल गर्न रिजाललाई प्रधानपञ्चले बहाना बनाए अनि सरकारी कृत्य गरेको आरोपसहित दण्डित गरे । 

त्यसबेला बुबाले आमाको बुलाकी बेचेर हर्जाना तिरी रिजाललाई मुद्दा मामिलाबाट मुक्त गरे तर त्यस्तो षड्यन्त्र र बाँधेर कुटेको घटनाले रिजाल दुःखी बने । मनमा कहिल्यै नमेटिने एउटा गहिरो घाउ बसिरह्यो । 

गाउँघरमा हुने त्यस्ता अनेक अपमानको पीडा सहे उनले । उनी जब बुझ्ने भए, तव प्रतिकार उनको शैली भयो । अन्यायको भण्डाफोर, विरोध र  प्रतिकार मार्क्सवादी दर्शनको अन्तरवस्तु हो । त्योबेला गाउँको एउटा कुनामा पाएको जातीय विभेदको पीडा एमालेको केन्द्रीय नेता भएर काठमाडौंमा डेरा बस्न आउँदासमेत भोग्नु पर्यो । 

डेरा फिक्स गरिसकेकोमा दलित समुदायको मान्छे भनेर थाहा पाएपछि डेरा दिन इन्कार गरेको घटना सांसद रिजालका लागि बिझाउने काँडा हुन् । लाखौं दलितले भोग्नु परेको पीडा, दलन र अत्याचार अन्त्य गर्न पनि रिजाल राजनीतिमा सक्रियतापूर्वक लागेका छन्  । हजारौ वर्ष देखिको यो दलनको जालो च्याती छोड्ने सङ्कल्प रिजालको छ । 

दलित समुदायको पीडा र घाउमा संवेदनशील सबै समुदायका मान्छेसँग हातेमालो गरेर यो प्रथाको अन्त्य गर्नुपर्ने र त्यसको लागि सांस्कृतिक क्रान्ति आवश्यक छ । मनमा एउटा विद्रोहको आगो फलैचामा बस्दा खाएको गालीबाट नै बीजारोपण भएको थियो । 

आफ्नो गाउँमा सात कक्षासम्म मात्र पढ्ने स्कुल भएकोले दोलखाकै तत्कालीन बुलुङ् गाउँ पञ्चायतमा आफन्तकोमा बसेर ८ कक्षामा पढ्न गए । लादुक कम्युनिस्ट राजनीतिको  दोलखा जिल्लाको एक केन्द्र थियो । जीतवीर लामा शान्ति आदर्श माविको  हेडमास्टर थिए, जो जनपक्षीय काम गरेर सो भेगमा चर्चित थिए । अन्याय पर्दा न्याय दिने र गरिबका मास्टर भनेर चिनिएका जीतवीर, लालकुमार केसी त्यतिबेला कम्युनिस्ट राजनीति गर्दथे । 

एक दिनको कुरा हो, रिजाल स्कुलबाट आफ्नो गाउँ चिलंखा फर्कदै गर्दा एउटा चौतारीमा बसेका थिए । लालकुमार त्यही बाटो आए अनि ईश्वरीबारे सोधखोज गरे । उनीसँग नजिक बन्न चाहेर गाउँघरमा हुने अत्याचार र अन्याय अनि त्यसको विरुद्ध लड्ने र यो व्यवस्था पल्टाउने कुरा गरे । त्यतिबेला आफू किशोरवयको भएको कारण कति बुझियो कति बुझिएन तर आफूलाई अछूत भनेर अन्याय गर्ने यो व्यवस्थाविरुद्ध लड्नुपर्छ भन्ने भावको बीजाङ्कुरण त्यहीबेला भयो । लालकुमारका कुराले मन छोयो । 

त्यो भेट रिजालको लागि कम्युनिस्ट राजनीति गर्ने टर्निङ पोइन्ट बन्यो । त्यसपश्चात लालकुमारसँग बारम्बार भेट हुन थाल्यो । यसरी रिजाल कम्युनिस्ट राजनीतिमा आकर्षित हुन् थाले । 

२०४३ मा भएको राष्ट्रिय पञ्चायतको चुनावमा जीतवीर लामा जनपक्षीय उमेद्वार भएर चुनाव लडे । उनको समर्थनमा रिजाल पनि गाउँ गाउँमा गीत गाउँदै चुनाव प्रचार प्रसार गर्दै हिँडे । 

राजनीतिको रङ्गमा आजसम्म लडेर भिडेर जुधेर रिजाल यहाँ पुगेका छन्, थाहा छैन कति माथि पुगिन्छ ? ढोंगको राजनीति नगरी आजसम्म आएको छु । शास्त्रीय मार्क्सवादी म होइन तर आधारभूत रूपमा कम्युनिष्ट चरित्र छोडेको छु जस्तो लाग्दैन । मार्क्सवादको सिर्जनात्मक प्रयोग भनेकै युग सुहाउँदो कम्युनिष्ट बन्नु हो रिजाल सुनाउँछन् । छरिएका सबै कम्युनिष्ट पार्टीले आफ्ना कमजोरीको निर्मम समीक्षा गरेर एकै मार्ग तय गर्नुमा सबैको भलाई रहेको उनको तर्क छ । 

के कारण मान्छे अछूत ? 

यो धर्तीमा अरू मानव जुन जुन प्रक्रिया पूरा गरेर आए तत् तत् प्रक्रिया पूरा गरेर जन्मेको मान्छे हो कथित अछूत पनि । कोही पनि मान्छे स्वयं आफ्नो रोजाइले कसैको सहवास, कोख, जात धर्म, भूगोल र रङ्ग छानेर आएको हुँदैन । 

मान्छे भएर जन्मेपछि अरू मान्छेको दर्जा र हैसियत जस्तै किन हुँदैन, किन कथित अछूतको दर्जा ? कहाँ जन्मनुपर्छ त्यो कसैको आग्रह थियो, न पूर्वाग्रह तर मान्छे जन्मियो जैविक प्रक्रियासम्मत नै । आकाश धर्ती कतैबाट होइन, बा आमाको सहवासबाट आमाको कोखमा बसेर योनीद्वार हुँदै कथित अछूत पनि जन्मेको हो । एउटा मान्छेको रूपमा अर्को मान्छे कथित छूतको जस्तै हात पाऊ र शारीरिक वनावट उस्तै छ । कुनै बेग्लै ग्रह, पृथ्वीमै नभएको रङ्ग शरीर, दृश्य, बोली र चेतना नभएको प्राणी होइन । चेतना कुनै सर्वश्रेष्ठ मान्छेको भन्दा कम छैन । 

शास्त्रमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र शिरदेखि पैताला सम्मबाट जन्मेको भने पनि त्यो भ्रम र अवैज्ञानिक कल्पित कुरा हो । शास्त्र मानवनिर्मित चिज हो । त्यसैले, त्यो वैज्ञानिक र सामयिक छैन । न कोही सुनको पाठेघरको उपज हो, न कोही पित्तल र सिलाबरको पाठेघरका उत्पादन हुन् । 

टेस्टट्युव बेबीसमेत पुरुषको वीर्य र महिलाको डिम्बको मिलनबाट मात्रै गर्भधारण सम्भव हुन्छ । तथापि एक मान्छे अर्को मान्छेले छोएको पानी खाँदैन । एक मान्छेले अर्को मान्छेको दैलोभित्र छिर्दा किन अपवित्र हुन्छ ? मान्छेको घर मात्र नभएर देवताको घर (मन्दिर) समेत कसरी अछूत हुन्छ ? के यो सामाजिक न्यायको सिद्दान्त र आजको नैसर्गिक मानवाधिकार विरुद्द छैन ? 

यहीनेर आम मान्छेको प्रश्न छ, यस्तो अपराधी संस्कार कसले बसायो ? आजपर्यन्त मान्छे मान्छे बिचको यो भेद किन कायम छ ? किन कुनै पार्टी नेता र विचारक यो कुप्रथा भत्काएर समतामूलक समाज निर्माण गर्न अग्रसर छैन ? मानव मानव बिचको यो विभेदको धब्बा निधारमा पोतेर किन कुनै गैरदलित भनिएको समुदाय सधैँ बस्न तयार छ ? आम मानवीय समस्या कसरी कथित अछूत भनिएकाहरूको मात्रै हुन्छ ? जातीय छुवाछूत जस्तो गम्भीर मानवाधिकारको विषयमा किन संवेदनशील छैन हाम्रो राज्य ? 

राजनीतिक यात्रा 

दोलखाको उत्तरी भेगमा २०५० सालमा नापी गएको बेला गाउँका ठूलाबडा र प्रधानपञ्च लगायतले सार्वजनिक जग्गा, हड्पेर नाप्ने, गरिबका जग्गामा समेत गिद्देनजर लाउने काम गर्न थाले । ठूलाठूला लेखका खर्क र चरणका क्षेत्र आफ्नो बनाउन नापीका मान्छेसँग मिलेर गरेको ज्यादती थाहा पाएर रिजालको नेतृत्व आममान्छेलाई परिचालन गरेर रोक्न भयंकर सङ्घर्ष गर्नु पर्यो । परिणामस्वरुप सार्वजनिक जग्गा व्यक्तिको नाममा जानबाट रोकियो र सार्वजनिक सम्पतिको जगेर्ना भयो । गरिबको जग्गाजमिन पनि सामन्तले खोसेर लिन पाएनन् । 

यही सङ्घर्षमा गरेको नेतृत्वबाट पार्टी प्रभावित बन्यो र २०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन चिलंखा गाविसको उपाध्यक्षमा रिजाल निर्वाचित बने । सोही निर्वाचनमा दोलखाको जफे गाविसबाट उपाध्यक्ष निर्वाचित वसन्तराज कार्की भन्छन्, त्यतिबेलाको स्थानीय तहको नेतृत्वबाट यो स्तरको नेता हुने हैसियत रिजालले मात्र बनाउन सके । उनी धेरै अध्ययनशील र पार्टी सिद्दान्त बुझेका नेता रहेको वसन्तराज कार्कीको भनाई छ । 

दोलखा कम्युनिस्टका हस्ती लालकुमार र जितवीर लामाले केन्द्रीय राजनीतिमा प्रभाव जमाउन सक्ने ल्याकत राखेनन् तर उनीहरूका चेला रिजाल र पार्वत गुरुङ एमालेको केन्द्रीय राजनीतिका चल्तिफिर्तिका नेता भए । 

२०७४ को संसदीय निर्वाचमा देशभरमा फराकिलो मतान्तरसहित निर्वाचित पार्वत गुरुङ सूचना तथा सञ्चार मन्त्री भएर सत्तामा अवसर पाइसकेका छन् । त्यस्तै अर्का पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोख्रेल दुई पटक सांसद र पर्यटन मन्त्री बनेर अवसर लिएका नेतामा पर्छन् । 

नेता रिजाल भने बल्ल यो पटक समानुपातिक तर्फबाट प्रतिनिधि सभामा पुगेका छन् । अब राजकीय र महत्त्वपूर्ण पदमा रिजालको पालो रहेका अधिकांश दोलखा एमाले नेताको माग सुनिन्छ । राजकीय पद गाविस उपाध्यक्ष, २०५४, दलित आयोगको सदस्य, २०६१, हाल प्रतिनिधि सभाको सदस्य २०७९ बाहेक रिजालले कुनै अवसर पाएका छैनन् ।

दलित समुदायको आफ्नै मेहनतले खारिएर आएको वैचारिक नेतालाई एमालेले यो पटक पक्कै अन्याय गर्ने र पालो पर्खिने बनाउने छैन भन्छन् एमालेजन । 

जनप्रतिनिधिको रूपमा प्रतिबद्धता 

रिजाल भन्छन्, ‘हरकोही जनप्रतिनिधि विचारवाहक, व्यवहार प्रदायक र विकासका संवाहक हुनुपर्छ । म आगामी दिनमा संसदमा गएर घनिभूत रूपमा वैचारिक बहस गर्नेछु । नीतिगत निर्णय नीति निर्माण गर्ने थलोमा देशको अल्पकालीन, दीर्घकालीन र दूरगामी महत्वका विषयमा जनमूखी निर्णय लिन सरकारलाई बाध्य बनाउने छु । जातीय विभेदको सामाजिक संरचना भत्काउने संस्कृति निर्माणको अभियानलाई तीव्रता दिन संसदमा विशेष प्रस्ताव लान पार्टीहरू र संसदहरूलाई अनुरोध गर्नेछु ।’

यसका अलावा आफ्नो जिल्लाको विकास निर्माणको लागि विशेष पहल गर्ने र जिम्मेवारी फराकिलो पाएमा देशकै लागि दूरगामी काम गर्ने इच्छा, योजना र रहर कमरेड ईश्वरी रिजालको रहेको देखिन्छ । एमालेले यिनको क्षमता चिनेर जिम्मेवारी दिए यिनले देशलाई केही त पक्कै दिनेछन् । 

लेखक त्रिवि, कीर्तिपुरमा एमफिल–पिएचडीअनुसन्धाता हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप