आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २४ पुस २०७९, २३ : ०४
आइतबार, २४ पुस २०७९

आज २०७९ पुस २४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की; अन्य प्रदेशमा मुख्यमन्त्रीको टुंगो लाग्न बाँकी, विश्वासको मतका लागि भेटघाट बढाउँदै प्रधानमन्त्री प्रचण्ड, माओवादी; एकीकृत समाजवादी र जसपाबीच एकता प्रक्रिया अघि बढाइँदै, बाबुरामले औंल्याए समाजवादी ध्रुवीकरणको आवश्यकता, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता, मेन पावर कम्पनीमा छापा, आफ्नै पार्टीका केही नेतासँग माधव नेपाल असन्तुष्ट लगायत छन् ।

१. प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की; अन्य प्रदेशमा पनि जुट्यो सहमति
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्न दिएको समयसीमा भित्रै कार्कीले बहुमत जुटाएर दाबी पेस गरेपछि उनलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि शपथ लिने र भोलि नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । अन्य प्रदेशका हकमा पनि सत्तारुढ गठबन्धनभित्र सहमति जुटेको छ ।

२. विश्वासको मतका लागि भेटघाट बढाउँदै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने दिन नजिकिइरहेको अवस्थाका राजनीतिक भेटघाट बढाएका छन् । उनले आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् ।

३. माओवादी, एकीकृत समाजवादी र जसपाबीच एकता प्रक्रिया अघि बढाइँदै
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् । तीनवटै दलबीच एकताका लागि शीर्ष तहमा अनौपचारिक सहमति भए पनि वाम एकता गर्ने कि समाजवादी केन्द्र बनाउने भन्ने कुरामा सहमति बन्न नसकेको स्रोतले जनाएको छ । ।

४. बाबुरामले औंल्याए समाजवादी ध्रुवीकरणको आवश्यकता
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता औँल्याएका हुन् ।

५. नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता हुने भएको छ । दुवै दलका शीर्ष नेताले आइतबार त्यस सम्बन्धी सहमति गरेका हुन् ।

६. मेन पावर कम्पनीमा छापा
काठमाडौं महानगरपालिका–३, बाँसबारीमा रहेको एक संस्थामा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट र लाखौं रूपैयाँ असुल गर्ने ‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो ।

७. आफ्नै पार्टीका केही नेतासँग माधव नेपाल असन्तुष्ट
एकीकृत समाजवादीका नेताहरूले पार्टीमा जानकारी बेगर एक्ला–एक्लै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् । उपमहासचिव जगन्नाथ खतिवडाले २२ गते शुक्रबार बिहान ८ बजे र सचिव रामकुमारी झाँक्रीले त्यही दिन बिहान ९ माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेको सूचना पाएपछि अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गम्भीर आपत्ति जनाएका हुन् । 

८. पानी माग्दा शिक्षिकाले दिइन् ‘स्प्रिट’, छात्राको मृत्यु
सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिएको र पानी ठानेर उक्त स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सिर्जना कुमारी महराको मृत्यु भएको छ । 

९. निर्मला कुर्मीलाई न्याय माग्दै दिउँसै लालटिन बालियो
निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा तेस्रो चरणको आन्दोलन जारी छ । आज तेस्रो चरणको आन्दोलन अन्तर्गत लालटिन बालेर सरकारको खोजी गरिएको छ । घटना छानबिन गर्न आनाकानी गरिएको भन्दै साङ्केतिक रूपमा सरकारको विरोध गरिएको हो । 

१०. र यो पनि,
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको शंकामा ४० जना खेलाडीसँग सोधपुछ गरेको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका, जहरसिंह पौवाको बोझिनीमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि प्रहरीले छानबिन थालेको छ । 

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनको लागि आह्वानको डेडलाइन घर्किँदै गएपछि दलहरूको बेचैनी चुलिएको छ । पुस १० गतेयता विकसित राजनीतिक घटनाक्रमपछि कुनै पनि गठबन्धनको स्पष्ट बहुमत देखिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप