आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रदेश १ को चौथो मुख्यमन्त्री बने कार्की, पाँचौंमा आङ्बोको अहिल्यै दावी

आइतबार, २४ पुस २०७९, १७ : ३६
आइतबार, २४ पुस २०७९

विराटनगर ।  एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका छन् । उनी ९३ जना सांसदमध्ये ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यसअघि प्रदेश १ मा शेरधन राई पहिलो मुख्यमन्त्री बनेका थिए ।  एमालेका नेता शेरधन राईलाई २०७४ फागुन ३ गते प्रदेश १ को मुख्यमन्त्रीमा दुईतिहाई मतका साथ निर्वाचित गरेको थियो । नेकपाको विभाजन र टुटफुटको असर परेपछि राईले २०७८ साल भदौ १० गते पदबाट राजीनामा दिए । 

त्यसको भोलिपल्ट २०७८ भदौ ११ गते दोस्रो मुख्यमन्त्रीको रुपमा भीम आचार्य नियुक्त भए । एमाले विभाजनले आकार ग्रहण गर्दै जाँदा आचार्यले मुख्यमन्त्रीमा नियुक्त भएको दुई महिनामा अर्थात् २०७८ कार्तिक १५ गते राजीनामा दिए ।  त्यसपछि एमाले विभाजित बनेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राई २०७८ कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भए ।

प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालका ९४ सांसदमध्ये तीन जनाले मुख्यमन्त्री बने भने ३३ जनाले सत्ताको स्वाद (मन्त्री)चाखेका छन् । ५ वर्षे कार्यकाल सकिएसँगै उक्त कार्यकालमा प्रदेशको मन्त्रीमण्डल पुनः गठन तथा विस्तार गरेर ७ पटक भयो । प्रदेशमा मन्त्रीको संख्या धेरै बनाउने पार्टी एमाले बनेको थियो । एमालेबाट प्रदेश १ मा २ जना मुख्यमन्त्री राई र भीम आचार्य बने भने १६ जना मन्त्री बने । सत्ताको स्वाद चाख्नेमा एमालेका सांसदहरु बढी देखिए । यस्तै नेपाली काँग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४, नेकपा (एकीकृत समाजवादी) बाट १ मुख्यमन्त्रीसहित ४, जनता समाजवादीबाट १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जनाले मन्त्रीको रसस्वादन गरेका थिए । 

प्रदेश १ ले यो कार्यकालको भने पहिलो मुख्यन्त्री कार्कीलाई पाएको छ । सत्ता गठबन्धन दलको मुख्य घटक एमाले र माओवादीबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जनाएका छन् । यो सहमति पालना भएमा आगामी साढे दुई वर्षपछि पाँचौं मुख्यमन्त्रीको रुपमा प्रदेश १ ले उनै आङ्बोलाई पाउने निश्चित छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप