बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फलोअप

निर्मला प्रकरण : ५ जनाको डीएनए रिपोर्ट कुर्दै सीआईबी

अनुसन्धानको जिम्मा पाएकी डीआईजीको सरुवा
मङ्गलबार, ०३ माघ २०७९, १२ : ०२
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निर्मलाको बलात्कार र हत्या गरेको आशङ्कामा ५ जनाको रगतको नमुना सङ्कलन गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोकी डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले दुई भारतीयसहित ५ जनाको रगतको नमुना सङ्कलन गरेका हुन् । सो नमुना प्रहरीको विधिविज्ञान प्रगोगशलामा डीएनए परीक्षण हुँदै छ । 

डीआईजी सिंह नेतृत्वको समिति अहिले डिएनएको रिपोर्ट कुरिरहेको छ । हत्या अनुसन्धान गर्न कञ्चनपुर पुगेका समितिका सदस्यहरू अहिले काठमाडौँ फर्केका छन् । डीआईजी सिंहको नेतृत्वमा समितिमा प्रहरी उपरीक्षक कमल थापा, मनोचिकित्सक डा. राजेश दत्त र इन्स्पेक्टर हिरेन्द्र रोकाया सहित ५ जना छन् । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पुस १५ मा डीआईजी सिंहको नेतृत्वमा समिति गठन गरेका थिए । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार दुई जना भारतीय र ३ जना नेपालीको रगतको नमुना परीक्षण हुँदै छ । अनुसन्धान अधिकारीहरुसो रिपोर्ट कुरिरहेका छन् । २०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । हत्या अनुसन्धानको प्रगति अहिलेसम्म शून्य छ ।

यसैबीच, हत्या अनुसन्धान गरिरहेकी प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको सरुवा भएको छ । गृह मन्त्रालयले पुस २८ मा सिंहलाई सीआईबीबाट नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा गरेको छ । डीआईजी सिंहको ठाउँमा मोहन कुमार आचार्यलाई ल्याइएको छ ।

संयोजकको सरुवा भएर अनुसन्धान र छानबिन प्रभावित नहुने प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । डीआईजी राईले भने–‘संयोजक परिवर्तन भएर अनुसन्धान रोकिँदैन, निरन्तर अघि बढ्छ ।’

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप