रास्वपाको प्रथम महाधिवेशन : डोम निर्माण तीव्र, प्रतिनिधिको नामावली अन्तिम चरणमा
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
- भरतपुरको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित डोम निर्माण तीव्र पारिएको छ, जसमा १५-२० हजार मानिस अटाउने क्षमता छ ।
- महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ र करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन् ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि भरतपुर–१० स्थित गेस्ट हाउस चौरमा मञ्च तथा हल निर्माण कार्य तीव्र पारिएको छ । आगामी असार ७ देखि ९ गतेसम्म हुने रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा पारिएको हो ।
भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले बताए ।
उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रका लागि नारायणगढको गेस्ट हाउस चौरमा अत्याधुनिक पूर्वाधार निर्माण भइरहेको छ । उनका अनुसार ६० मिटर लम्बाइ र ४० मिटर चौडाइका तीन वटा ठुला सेडहरू निर्माण भइरहेको उनले बताए। उक्त सेडहरूमा १५ देखि २० हजार मानिस छायामा बसेर कार्यक्रम हेर्न सक्ने व्यवस्था भइरहेको उनले बताए ।
_hs34DlPH7J.jpg)
उक्त सेडहरूको छानो विशेष वाटरप्रुफ टेन्साइल फेब्रिकबाट तयार उनले बताए । तीन हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुने उक्त डोममा घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने उनले बताए ।
सुरुमा रत्ननगरमा गर्ने भनिएको कार्यक्रम राजमार्गको ट्राफिक जाम र पार्किङ समस्याका कारण गेस्ट हाउस चौरमा सारिएको उनको भनाई छ ।
‘प्रतिनिधिहरूको व्यवस्थापन र भौतिक पूर्वाधारका कामहरू लगभग अन्तिम चरणमा रहेको छ । महाधिवेशनमा सहभागी हुने करिब ३ हजार प्रतिनिधिहरूका लागि चितवनका विभिन्न होटलहरुमा कोठा बुकिङ भइसकेको छ ।’ उनले भने, ‘होटल व्यवसायी सङ्घसँगको समन्वयमा प्रतिनिधि संख्याका आधारमा कोठाहरू सुरक्षित गरिसकेका छौँ । प्रतिनिधिहरूका लागि उद्घाटन स्थलमै मेस (खाना) को व्यवस्था गरिएको र त्यसका लागि प्रतिनिधि शुल्कसमेत तोकिएको छ । अन्य कार्यकर्ता र शुभेच्छुकहरूले भने आफ्नो आवास र भोजनको व्यवस्था आफैँ गर्नुपर्ने हुन्छ ।’
_UgYQE3JlMd.jpg)
महाधिवेशनमा निर्वाचन प्रक्रियालाई आधुनिक बनाउन इलेक्ट्रिक भोटिङ (विद्युतीय मतदान) मेसिन प्रयोग गरिने उनले बताए। औद्योगिक प्रदर्शनी केन्द्रको हलभित्र मतदानको व्यवस्था मिलाइएको उनले बताए।
महाधिवेशनमा सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र अन्य निकायसँगै पार्टीका १ हजारदेखि ३ हजारसम्म स्वयंसेवकहरू परिचालन गरिने तयारी उनले बताए । महाधिवेशनमा सहभागी तथा आगन्तुकका सवारीसाधनका लागि केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङ व्यवस्थापन गरिएको उनले बताए ।
प्रतिनिधिको नामावली अन्तिम चरणमा
रास्वपाको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु गरिएको छ। महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गर्ने प्रतिनिधिको नामावली तयारी हुन लागेको हो ।
केन्द्रीय सङ्गठन विभागका सचिव शंकर श्रेष्ठले मधेस प्रदेश र विभिन्न १३ जिल्लामा निर्वाचन हुन नसकेका स्थानमा जिल्ला तदर्थ समितिबाटै प्रतिनिधि चयन गराइने व्यवस्था गरिएको बताए ।
२०७९ को आम निर्वाचनमा उम्मेदवार भई निर्वाचित हुन नसकेका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई समेत प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ। स्थानीय तहका सभापति, पालिकाको अधिवेशनबाट छनोट भएका महाधिवेशन प्रतिनिधि, केन्द्रीय समिति र केन्द्रीय संरचनामा रहेका प्रतिनिधिहरू महाधिवेशन प्रतिनिधिमा रहने व्यवस्था छ।
रास्वपाका अनुसार ३८ विभागका ११ जनाका दरले रहेका समितिका सदस्यहरू महाधिवेशन प्रतिनिधिका रूपमा हुनेछन् । तीन आयोगका ११ जनाका दरले रहेका सदस्यहरू र सल्लाहकार पनि प्रतिनिधिका रूपमा रहनेछन्।
सङ्घीय नेतृत्व मञ्चका सबै सदस्यहरू, सातै प्रदेशका प्रदेश समिति, प्रदेश विभागका प्रमुख, उपप्रमुख र सचिव, जिल्ला समितिका सभापतिसहित ५ जना महाधिवेशनका लागि प्रतिनिधि रहने छन् ।
विभिन्न जिल्लाका ‘जिल्ला–काठमाडौँ सम्पर्क विभाग’ का प्रमुखहरू, निर्वाचन क्षेत्रका संयोजक र उपसंयोजक पनि प्रतिनिधि रहने व्यवस्था गरिएको छ । विभिन्न २५ देशबाट संख्याका आधारमा ३ देखि ११ जनासम्म प्रतिनिधि रहनेछन्।
_2LLhCOOX8T.jpg)
सो बाहेक केन्द्रीय सभापतिले विशेष निर्णयमार्फत २०० जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था छ । विधान र पार्टीको निर्णय अनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सूचि तयार कार्य जारी छ।
महाधिवेशनले नयाँ नेतृत्वका लागि पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्य चयन गर्नेछ निर्वाचित सदस्यबाट दोस्रो चरणमा ३ जना उपसभापति, २ जना महामन्त्री र ४ जना सहमहामन्त्रीका लागि निर्वाचन हुने व्यवस्था छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण