बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण

बिहीबार, ०४ असार २०८३, १७ : २३
बिहीबार, ०४ असार २०८३

सारांश

  • कर्णाली सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को लागि ल्याएको बजेटमाथि प्रदेश सभामा छलफल सुरु भएको छ ।
  • अधिकांश सांसदले बजेटको स्पष्ट लक्ष्य नभएको, कार्यान्वयन चुनौतीपूर्ण रहेको र संघीय अनुदानमा निर्भरता घटाउने लक्ष्य नभएको बताएका छन् ।
  • सांसदहरूले बजेटमा विरोधाभास, प्राथमिकता र बजेटको असन्तुलन, स्रोत सुनिश्चितता नभएका कार्यक्रम, वितरणमुखी परियोजना र आम्दानी बढाउने स्पष्ट योजनाको अभाव रहेको औंल्याएका छन् ।

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को लागि ल्याएको बजेटमाथि बिहीबारदेखि छलफल सुरु भएको छ ।

प्रदेश सभामा पहिलो दिनको छलफलमा ५ जना सांसदले भाग लिए । जसमा अधिकांश सांसदले बजेटको स्पष्ट लक्ष्य नभएको बताएका छन् ।

सबैभन्दा पहिला बोलेकी राप्रपाकी सांसद सन्तोषी शाहीले जनताले अपनत्व हुने गरी बजेट नआएको बताइन् ।

‘हेर्दा कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण देखिन्छ,’ उनले भनिन्, ‘बजेट कार्यान्वयन नहुँदा नयाँ बजेटको विश्वसनीयतामाथि प्रश्न उठ्छ ।’

साथै संघीय अनुदानमा निर्भरता घटाउने बजेटमा कुनै लक्ष्य नभएको उनको भनाइ छ । 

‘अहिले पनि जेठ मसान्तसम्म २७ प्रतिशत मात्रै विकास बजेट कार्यान्वयन हुनु आफैँमा दुःखद पक्ष हो,’ उनले भनिन्, ‘बजेट कार्यान्वयनमा सुधार ल्याउने र परनिर्भरता घटाउने स्पष्ट योजना बजेटले दिएन ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले बजेटमा केही विरोधाभासपूर्ण कुरा रहेको बताए ।

‘प्राथमिकताको सुरुमा कृषिलाई राखिएको छ, तर कृषि मन्त्रालयलाई छुट्याइएको बजेट न्यून छ,’ उनले भने, ‘प्राथमिकता र बजेटको सन्तुलन मिलेको देखिँदैन ।’

बजेटले सही कुरा छुट्याउन नसकेको हो कि ? भन्दै उनले प्रश्न गरे । साथै, अर्थमन्त्री विषयको छनोटमा अलि अलमलिएको उनले बताए ।

उनले थप भने, ‘अर्थमन्त्रीले बजेटका चुनौतीका बारेमा स्वीकारोक्ति गर्नुभएको छ । मेरो विचारमा कर्णालीमा तीन वटा प्रमुख समस्या छन्— राजस्वको लक्ष्य अनुसार आम्दानी गर्न सकिएको छैन । अर्को, विनियोजित बजेटको ठुलो रकम कार्यान्वयन हुँदैन र तेस्रो, बजेट विनियोजनका क्रममा हुने बेथिति तथा चलखेल प्रमुख समस्या हुन् ।’

चलखेलको प्रवृत्ति अझै निराकरण हुन नसकेको विष्ट बताउँछन् । साथै, प्रदेशको आम्दानी बढाउने योजना पनि स्पष्ट नभएको उनले बताए ।

उनले पनि बजेट कार्यान्वयनमाथि प्रश्न उठाए । गत वर्ष ४१ प्रतिशत विकास बजेट कार्यान्वयन भएकोमा अहिले जेठ मसान्तसम्म २७ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै उनले खर्च क्षमतामाथि प्रश्न उठाए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रणसिंह परियारले बजेटमा नवीनतम कुरामा कुनै जोड नदिएको बताए ।

‘स्रोत सुनिश्चितता नभएका कार्यक्रम राखिएका छन्, जुन चुनौतीपूर्ण छ,’ उनले भने, ‘परिणाममुखी भन्दा वितरणमुखी परियोजना देखिएका छन् । आम्दानी बढाउने कुनै खाका तयार देखिएको छैन ।’

त्यसैले जनअपेक्षा अनुसार रूपान्तरण र आर्थिक वृद्धिमा स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको परियारले बताए ।

उनका अनुसार, बजेटभन्दा धेरै कार्यक्रमको सूची तय भएको छ । कांग्रेसकी सांसद जानकी सिंह र एमाले सांसद जीतबहादुर मल्लले पनि बजेट कार्यान्वयनको पाटोमा जोड दिए ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार १ गते संसदमा आगामी वर्षको बजेट पेस गरेका थिए । बजेटमाथिको छलफल शुक्रबार पनि चल्ने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप