सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
बिहीबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विशेषगरी मानवीय त्रुटि र लापरबाहीसहित ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढिरहेको बताए।
उनले सडक दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै त्यसतर्फ प्रदेश सरकारबाट आवश्यक सहयोग हुने बताए।
सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिको न्यूनीकरण तथा रोकथामका लागि दीर्घकालीन तथा परिणाममुखी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सरोकार भएका सबै पक्षबीच सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल क्षेत्रको ट्राफिक व्यवस्थापनका क्रममा ट्राफिक प्रहरीसहित सम्बद्ध निकायसँग सहयोग र सहकार्य भइरहेको बताए।
यसैगरी, नेपाल प्रहरी कार्यविभाग प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना नियन्त्रण केबल ट्राफिक प्रहरीको मात्र नभई स्थानीय तह, सरोकारवाला र आमनागरिकको साझा दायित्व भएको बताउँदै यसका लागि सबैको सहकार्यमा एकीकृत दृष्टिकोण बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनले करिब १५ देखि २० प्रतिशत सार्वजनिक सवारी चालकले गाँजा, चरेश वा अन्य नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने गरेको बताउँदै लुम्बिनी प्रदेशमा मात्रै सडक दुर्घटनमा परी वार्षिक पाँचदेखि ७०० को हाराहारीमा मानिसको मृत्यु हुने गरेको अवस्थालाई दृष्टिगत गरी कार्यक्रम ल्याउनुपर्ने खाँचो औँल्याए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले अन्य प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या उल्लेखनीय रहेको चर्चा सवारीसाधन दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि एकीकृत प्रयास हुनुपर्नेमा जोड दिए।
उनले लुम्बिनी प्रदेशमा आव २०८१/८२ मा तीन हजार ४७९ सवारी दुर्घटना भई ५०६ जनाको मृत्यु भएको र पाँच हजार ६९१ जना घाइते भएको जानकारी दिए। यसैगरी चालु आवको जेठ मसान्तसम्ममा मात्र लुम्बिनीमा चार हजार ५५२ सडक दुर्घटना भई ५४४ ज्यान गएको र सात हजार ८०० घाइते भएको उनले बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण