बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

सोमबार, ०९ माघ २०७९, ११ : ४३
सोमबार, ०९ माघ २०७९

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाईमा पार्न सकिने उनीहरुको भनाई छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त ठाउँ भएको बताए । भौगोलिक हिसाबले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदामात्रै रोल्पा चलचित्र छायांकन स्थल बन्न नसकेको उनको धारणा रहेको थियो ।

‘जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायाँकनस्थल निकै सुन्दर छन्’, उनले भने– ‘फिल्म सुटिङका लागि दुरीका हिसावले टाढा भएकाले पनि अहिलेसम्म चलचित्रकर्मीको नजरमा नपरेको होला ।’ सरकारले चलचित्र छायांकनका लागि केहि लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्व अध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायांकनस्थल छनोट गर्न नसकेको बताए । ‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन्’, शान्तिले भने– ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

अभिनेता रमित ढुंगानाले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । एकसय बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायांकन स्थल पर्न नसकेको अनुभूति भएको धनारणा राखेका थिए ।  परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले रोल्पा चलचित्रको पर्दामा समेटिन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए ।

उनले अब चलचित्र छायांकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायांकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् । १० बर्षे जनयुद्धको क्रममा तत्कालीन जनयुद्धका मुख्य कमाण्डर तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिशेष सुरक्षा सहित सेल्टर लिएको ठाउँ ‘युद्ध पर्यटन केन्द्र डाँडागाउँ’ अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको समेत उनीहरुको जोड छ । 

कार्यक्रममा रोल्पामा चलचित्र निर्माणको अवस्था, सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले प्रकाश पारेका थिए । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजना, गाउँपालिका वडा नम्बर २ को सह–आयोजना तथा पालिकाको सहयोगमा कार्यक्रम भएको हो । संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको पनि उपस्थिति थियो । कार्यक्रममा विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्व बोकेको गाउँ समेत मान्ने गरिएको छ । पहिलेको युद्धस्थलको रुपमा परिचित उक्त स्थान अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप