शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय
गजेन्द्रनारायण सिंह स्मृति दिवस

‘मधेसी नेताहरू गजेन्द्रनारायण सिंहको नाम भजाएर खाइरहेका छन्’

अगुवा पछुवाहरुले यस्तो परिस्थिति जन्माई दिन्थे, सिंहलाई सरकारमा जान बाध्य बनाउँथे : भरतविमल यादव
मंगलबार, १० माघ २०७९, १० : ०५
मंगलबार, १० माघ २०७९

सरकारी जागिर छाडेर गजेन्द्रनारायण सिंहको साथमा नेपाल सद्भावना पार्टीमा लामो समय सक्रिय भएर कार्य गरेका भरतविमल यादव हाल स्वतन्त्र जीवन बिताइ रहेका छन् ।  नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बाट दोस्रो जनआन्दोलनमा अगुवा नेताको रुपमा सक्रिय रहेर काम गरेका यादव गजेन्द्रनारायण सिंहका अनुयायी हुन् । 

आज मंगलबार गजेन्द्रनारायण सिंहको २१ स्मृति दिवस मनाइदैछ । प्रस्तुत छ, गजेन्द्रनारायण सिंहको विषयवस्तुमा केन्द्रीत रही भरतविमल यादवसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः

गजेन्द्रनारायण सिंहसँग तपाईं लामै समय काम गर्नुभयो । उहाँको स्मृति दिवस आजको दिन उहाँलाई कसरी सम्झिनु हुन्छ ?

–हाम्रो लागि २१ वर्ष अगाडिको आजको दिन खास गरी उत्पीडित, विभेदमा परेको समुदायका लागि निकै पीडादायी, एकदमै दुःखद् दिन हो । आजभन्दा २१ वर्ष अगाडि मधेसको मुद्दा उठाउने नेता गज्जु बाबुको देहावसान भएको थियो । त्यो दिन आज पनि सम्झिदा पीडा हुन्छ । 

नेपालको राजनीतिमा गजेन्द्रनारायण सिंहलाई गलत रुपमा प्रस्तुत गरिदैछ । उहाँको बारेमा विभिन्न अफवाह फैलाउने काम पनि गरियो । सिंह मधेसका नेता मात्र थिए, उनी सम्प्रादायिक थिए भन्ने आरोप लगाउने काम पनि भयो । तर वास्तविकता त्यसो होइन । 

उहाँले सीमान्तकृत समुदायका लागि आवाज उठाउनुभयो, त्यो सम्प्रादायिक त होइन नि । देशमा ५० प्रतिशतभन्दा बढी जनसंख्या मधेसीको रहेको छ । जनसंख्याको आधारमा मधेसीलगायत आदिवासी जनजाति, दलितले आफ्नो अधिकार पाउनुपर्छ भन्ने उहाँको माग थियो । तर त्यसलाई गलत तरिकाले ब्याख्या गर्ने काम भयो । 

bharat bimal yadav (2)

तपाईंलाई गजेन्द्रनारायण सिंहले राजनीतिमा ल्याउनु भएको हो ?

हो, गजेन्द्रनारायण सिंहले नै मलाई राजनीतिमा ल्याउनु भएको हो । म सरकारी जागिरमा जिल्ला वन अधिकृत थिएँ । उहाँको राजनीतिक सोच र क्रियाकलापबाट प्रभावित भएर जागिर छाडेर उहाँको साथमा जोडिएँ । उहाँ राजनीतिमा भएपनि उहाँमा मैले सेवाको भाव पाएँ । 

गुण अवगुण सबैमा हुन्छ । उहाँमा सबै गुणैगुण थियो भने होइन । उहाँमा पनि केही कमीकमजोरी होला तर उहाँ जनताप्रति जिम्मेवार नेता हुनुहुन्थ्यो । जनताकै सेवाबारे हरहमेशा सोच्नु हुन्थ्यो । 

तर उहाँको योगदानको चर्चा गरिरहँदा जसरी काँग्रेसमा वीपीको समाजवाद, एमालेमा मदन भण्डारीको जबज, माओवादीमा प्रचण्डपथलाई जसरी आदर्शको रुपमा मान्यता दिने काम भयो, त्यसरी नै गजेन्द्रनारायण सिंहको विचार र सिद्धान्तलाई आदर्शको रुपमा किन कसैले लिन सकेन ?

–सोसियो इकोनोमीलाई गजेन्द्रनारायण सिंहले पनि अगाडि बढाउने सोचमा हुनुहुन्थ्यो । राइट टु इक्वालिटी थ्रु मार्फत् समाज निर्माण गर्ने हाम्रो चाहना थियो । समतामूलक समाज निर्माण गर्ने लक्ष्य गजेन्द्रनारायण सिंहको थियो । हामीले आदर्श र विचारका कुरा धेरै गर्‍यौँ तर व्यवहारमा त्यसलाई उतार्ने, कार्यान्वयनमा ल्याउने काम गरेनौं । 

गजेन्द्रनारायण सिंहसँग भएका केही नेताहरु विचार के हो, सिद्धान्त के हो, आदर्श के हो, त्योसँग केही मतलब राखेनन् । सिंह आफै शालीन विचार र आदर्शमा हिँड्नुभयो । उहाँ सफल भएर सबैका लागि विलीन हुनुभयो । त्यसपछिका आदर्श र विचारलाई कसैले फलो गरेन । 

२०४७ सालमा हामीले जुन राजनीतिक सफलता प्राप्त गर्‍यौँ, त्यसलाई जोगाउन सकेनौं । त्यतिबेला ६ जना सांसद जिताएका थियौँ । सांसदहरुले जनताका लागि जे काम गर्नुपर्थ्यो, जे योगदान दिनुपर्ने थियो, त्यो गर्न सकेनौं । त्यसपछिका चुनावमा पार्टी कमजोर हुन थाल्यो । नेताहरुमा जुन खालको इमान्दारिता र लगनशिलता हुनुपर्ने थियो । त्यो पछिल्लो समय पनि देखिएन । 

२०६२–०६३ को जनआन्दोलनको बलले २०६३ कात्तिक २२ गते अन्तरिम संविधानको ड्राफ्ट तयार हुँदा नोट अफ डिसेन्ट लेख्ने व्यक्ति मै हुँ । राज्यको पुनःसंरचना संघीय हुनुपर्छ भनी हाम्रो माग थियो ।

गजेन्द्रनारायण सिंहले उठाएको विचार र मुद्दाको आधारमा अहिलेको मधेसको राजनीति अगाडि बढिरहेको छ । तर, उहाँलाई कता कता नेताहरुले विर्सेको अनुभूति हुँदैन तपाईंलाई ?

–हो, तपाईंले सही कुरा उठाउनु भयो । मधेसमा अहिले जुन राजनीति एजेण्डामा काम भइरहेको छ, त्यसको जन्मदाता गजेन्द्रनारायण सिंह नै हुनुहुन्छ । 

संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्षता लगायतका कुरा गजेन्द्रनारायण सिंहले २०४० देखि नै उठाउनु भएको हो । अहिले पनि उहाँको दस्तावेजहरु हेर्नुभयो भने ती कुराहरु पाइन्छ । 

उहाँले नै दिएका गाइडलाइनमा मधेस आन्दोलन भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाको कुरा सबैभन्दा पहिले गजेन्द्रनारायण सिंहले नै उठाउनु भएको थियो । यसको प्रमाणको रुपमा गजेन्द्र बाबुले सरकारसँग गरेको विभिन्न सम्झौता तथा दस्तावेजहरुमा पनि हेर्न सकिन्छ । 

२०४७ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीले तयार पारेको घोषणापत्र, विधानहरुमा पनि यी कुराहरु उल्लेख छन् । ती दस्तावेजहरुमा संघीय राज्य स्थापना गर्ने कुरा उल्लेख छ । 

यो देश संघीय राज्य हुनुपर्छ भनी हामीले खाका नै तयार गरेका थियौँ । त्यो संघीय राज्य प्राप्तिका लागि हामीले शान्तिपूर्ण राजनीतिक आन्दोलन गरेका थियौँ । आमरण अनसन पनि गरेका थियौँ । ‘गर्व से कहो, हम मधेसी हैं...’ भन्ने नारा लगाउने पहिलो व्यक्ति गजेन्द्रनारायण सिंह नै हुनुहुन्छ । 

हामीले आन्दोलन गर्दा तत्कालीन गिरिजाप्रसाद कोइरालाले २०५० सालमा वार्ताका लागि गठन गरेको समितिले गरेको सम्झौतामा पहिलो पटक मधेसी शब्दको प्रयोग भएको थियो । त्यस अघि आधिकारिक रुपमा मधेस शब्द सरकारी दस्तावेजमा कहीँ पनि थिएन । यसरी मधेसलाई पहिचान दिलाउने कामको सुरुवात हामीले गरेका थियौँ । 

bharat bimal yadav (9)

संघीय राज्यको अवधारणा आउनुमा तपाईंको आफ्नै पनि कतिको योगदान भएझैं लाग्छ ?

हेर्नुस्, २०६२–०६३ को जनआन्दोलनको बलले २०६३ कात्तिक २२ गते अन्तरिम संविधानको ड्राफ्ट तयार हुँदा नोट अफ डिसेन्ट लेख्ने व्यक्ति मै हुँ । राज्यको पुनःसंरचना संघीय हुनुपर्छ भनी हाम्रो माग थियो । आन्दोलनमा भाग लिएका अन्य दलका नेताहरुले संघीय राज्य हुनुपर्छ भन्ने चाहेका थिएनन् । त्यही भएर मैले त्यसको माग गर्दै सो अन्तरिम संविधानको विरुद्ध नोट अफ डिसेन्ट लेखेको हुँ । 

यसरी, अहिलेको जुन संविधान आएको छ, त्यसमा संघीय राज्यको अवधारणा आउनुमा मेरो पनि योगदान छ भन्ने लाग्छ । 

गजेन्द्रनारायण सिंहको स्मृति खातिर अहिले केही पनि बाँकी छैन । स्थापना गरेको पार्टी समाप्त भयो, कुनै दस्तावेज छैन । उहाँको आश्रमसमेत हरायो । यस्तो किन ?

–यो दुर्भाग्य हो । उहाँको सच्चा अनुयायी कोही भएन । जो उहाँका अनुयायीहरु छन्, ती मूलधारको राजनीतिमा छैनन् । जो मूलधारको राजनीतिमा छन्, उहाँको नाम भजाएर खाइरहेका छन् । तर उहाँको इतिहासलाई संरक्षण गर्ने काम गरेका छैनन् । 

उहाँको नाममा विभिन्न स्मृति प्रतिष्ठानहरु खुलेका छन्, ती प्रतिष्ठानले गजेन्द्रनारायण सिंहका लागि खास काम गरेको देखिन्न । तिनले के के गरे, त्यसको पनि खोजविन हुनुपर्छ । आर्थिक लाभका कारण प्रतिष्ठान वा अन्य केही खोलेर मात्र हुँदैन । 

जो जो उहाँको सिद्धान्त र विचारलाई आत्मसात गरेर राजनीतिमा अगाडि बढे, त्यसमा राजनीतिक नैतिकता र इमान्दारिताको खडेरी देखिएको छ । अहिलेको राजनीति उहाँकै सोचमा अगाडि बढेको छ तर उहाँलाई कसैले सम्झिरहेका छैनन् । गजेन्द्रनारायण सिंहलाई जस दिन पनि कन्जुस्याई गरिरहेका छन् । 

लोकतन्त्रका लागि आन्दोलन गरेका छौँ र राजाले ब्युँत्याएको सरकारमा सहभागी नहुने भनी त्यसबेला जवाफ दियौँ । 

जब सत्ता र मधेसको कुरा आउँछ तब गजेन्द्रनारायण सिंहको पनि कुरा आउँछ । त्यही कारण नेपाल सद्भावना पार्टी पटक पटक विभाजन भयो । र, अहिले त्यो समाप्त नै भयो । के गजेन्द्रनारायण सिंह सत्ताभोगी हुनुहुन्थ्यो ?

–सत्ताभोगी त नभनौं । उहाँ मधेसको अधिकार र पहिचानका लागि राजनीति गर्ने नेतामा पर्नुहुन्थ्यो । उहाँ सत्ताबाट जहिले पनि टाढा रहने कोशिस गर्नुहुन्थ्यो तर उहाँका सल्लाहकार र अगुवा पछुवाहरुले यस्तो परिस्थिति जन्माई दिन्थे कि उहाँलाई सरकारमा जान बाध्य बनाउँथे । 

यसरी कहिलेकाहीं उहाँले पनि कसैको दवावमा गलत निर्णय पनि लिनु भएको हो । २०५२ मा शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बन्नुभयो । त्यो सरकारमा गजेन्द्रनारायण सिंह पनि जानुभयो । १९ जनामन्त्रीमा उहाँको नाम १८ औं नम्बरमा नाम थियो । मैले सल्लाह दिएको थिएँ कि ‘आत्मसम्मानका लागि भएपनि सरकारमा नजानुस् ।’ तर उहाँले बाध्यता देखाएर सरकारमा जानुभयो । त्यसले मधेसमा नकारात्मक असर गर्यो र चुनावलाई पनि प्रभावित गर्यो । 

पछिल्लो समय उहाँले आफूपछि नेता चयन गर्नमा त्रुटी गर्नुभयो, त्यसले पनि पार्टीलाई धेरै क्षति गर्यो । त्यसको उदाहरणमा बद्री मण्डललाई लिन सकिन्छ । 

माघ १० गते उहाँको निधन हुनु ४ दिन अघि माघ ६ गते राजविराजमा उहाँले मसँग गम्भीर छलफल गर्नुभएको थियो । र, त्यसलाई कार्यान्वयन गर्न उहाँ काठमाडौँ आउनु भयो, म पनि जनकपुर हुँदै आउनै लागेको थिएँ । त्यतिकैमा हर्ट अट्याक भएर उहाँको निधन भयो । र, हाम्रो मिसन र योजना असफल भयो । 

bharat bimal yadav (8)

के थियो त्यस्तो मिसन ?

–उहाँले आफू पार्टीको अध्यक्ष बस्ने र मलाई कार्यकारी अध्यक्ष बनाउने योजना बनाउनु भएको थियो । पार्टीलाई गतिशील बनाउन उहाँले सो निर्णय लिनुभएको थियो । सबै सहमति भइसकेको थियो । काठमाडौँ गएर त्यसलाई औपचारिकता दिने कुरा थियो तर पार्टीको बैठक न बस्दै उहाँको निधन भयो । 

उहाँको निधनपछि पार्टी क्षतविक्षत भयो । बद्री मण्डलको हालीमुहाली भयो । नेपाल सद्भावना पार्टीलाई उहाँले दरवारमा लगेर बुझाउनु भयो । जसले मधेस आन्दोलन र नेपाल सद्भावना पार्टीको ठूलो क्षति भयो । त्यही कारण पार्टी पनि विभाजन भयो । 

हामीले गजेन्द्रनारायण सिंहका धर्मपत्नी आनन्दी देवीलाई राखेर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) गठन गर्‍यौँ । र, त्यो पार्टीलाई लिएर हामी जनआन्दोलनमा गयौँ । निरकुंश राजतन्त्रको विरुद्धमा आन्दोलन सुरु गर्‍यौँ । सात दलको घटकमध्ये नेपाल सद्भावना पार्टी (आनन्दी देवी) पनि एक थियो । र, पार्टीको तर्फबाट त्यसको नेतृत्व मैले गरेको थिएँ । 

नेपाल सद्भावना पार्टी (आनन्दी देवी) आन्दोलनमै रहेको बेला देशी विदेशी शक्तिले त्यसलाई विभाजन गर्ने कसरत गरे । पार्टी आन्दोलनमै रहेकाले पार्टीभित्रका साथीहरुले त्यस्तो हिम्मत गरेनन् । 

संयोगले म कार्यकारी पद नपाए पनि जनआन्दोलनमा गजेन्द्रनारायण सिंहको प्रतिनिधिकै रुपमा कार्यकारी भूमिकामै सहभागी थिएँ । गजेन्द्रनारायण सिंहकै विचारलाई लिएर आन्दोलनमा अगाडि बढेको थिएँ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुँदा एमालेले प्रतिगमन आधा सच्चियो भन्दै उक्त सरकारमा सहभागी भयो । मलाई पनि त्यो सरकारमा सहभागी हुन दवाव थियो तर मैले ठाडै इन्कार गरे । 

लोकतन्त्रका लागि आन्दोलन गरेका छौँ र राजाले ब्युँत्याएको सरकारमा सहभागी नहुने भनी त्यसबेला जवाफ दियौँ । 

लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको कारणले नेपाल सद्भावना पार्टीलाई सम्मानजनकले जनताले हरेका थिए । यदि म त्यो सरकारमा गएको भए सबै समाप्त हुन्थ्यो । म लोकतन्त्र र मधेसी जनताको अधिकार र पहिचानका लागि आफ्नो अडानमा रहे । त्यही भएर आज पनि मलाई र नेपाल सद्भावना पार्टीलाई यो देशले सम्मानपूर्वक हेर्ने गरेको छ । 

bharat bimal yadav (4)

गजेन्द्रनारायण सिंहको प्रतिनिधि भएर आन्दोलनमा सहभागी हुनुभयो, देशमा आन्दोलनको आँधीबेहरी नै ल्याउनुभयो तर आन्दोलन सफल भएपछि तपाईं आफै शान्त हुनुभयो किन ?

–नेपाल सद्भावना पार्टी (आनन्दी देवी) आन्दोलनमै रहेको बेला देशी विदेशी शक्तिले त्यसलाई विभाजन गर्ने कसरत गरे । पार्टी आन्दोलनमै रहेकाले पार्टीभित्रका साथीहरुले त्यस्तो हिम्मत गरेनन् । 

आन्दोलनपश्चात सरकारमा जाने विभिन्न खेल सुरु भयो । आन्दोलनको बेला मैले जुन शक्तिको कुरा मानेको थिइन, ती शक्तिहरु मेरो विरुद्ध पार्टीमा खेल्न थाले । पार्टीका नेताहरुलाई मेरो विरुद्ध उचाल्न थाले । पार्टी एकीकरणको नाममा बद्री मण्डलले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीसँग एकीकरण गर्ने र भरत विमललाई एक्ल्याउने काम गर्ने षड्यन्त्र गरियो । त्यो बेला थुप्रै नेताहरु मात्र २०–२५ हजारमा पनि विक्री भएका थिए । र, मलाई अल्पमतमा पार्ने काम गरे । 

त्यसपछि म आफ्नो स्वभिमान र नैतिकताका लागि त्यो पार्टी छाडेर अलग भएँ । त्यसपछि पार्टीमा मन्त्री बन्नका लागि के के खेल भयो, सबैलाई थाहै छ । नेता अपहरण गर्नेदेखि लिएर पार्टीका अध्यक्ष आनन्दी देवीसम्मलाई पनि बन्धक बनाएर राख्नेसम्म घृणित काम सो पार्टीमा भएको थियो । नेताहरुले पार्टीलाई लाजमर्दो बनाएर छाडे । 

तपाईं जुन नेताहरुको साथमा रहेर जनआन्दोलन सफल पार्नमा भूमिका खेल्नुभयो । अहिले पनि ती नेताहरु सक्रिय छन्, तपाईं भने स्वतन्त्र जीवन बिताइरहनु भएको छ । आजको दिन ती नेताहरुलाई कसरी सम्झनु हुन्छ ?

–खुशी लाग्छ, लोकतन्त्र र संघीयताका लागि संगै संघर्ष गरेका नेताहरु विभिन्न पदमा पुग्नु भएको छ । प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिसम्म हुनुभयो । विभिन्न संवैधानिक पदमा पुग्नुभएको छ । राजनीतिक दलमा सक्रिय भएर लाग्नु भएको छ । पार्टीको नेतृत्वदायी भूमिकामा नै हुनुहुन्छ । म आफ्नो ठाउँबाट उहाँलाई सम्झदा खुशी लाग्छ । 

कमसेकम हामीले लडेर ल्याएको संघीयता र लोकतन्त्रलाई संस्थागत गर्न, बचाई राख्न अझै पनि क्रियाशील हुनुहुन्छ । अरु सबै तजबिजका कुरा हुन् । ज जसले यो लोकतन्त्र र संघीयताका लागि लडे, ती सबै त्यसलाई संस्थागत गर्न र बचाउनका लागि प्रयासमा छन् । त्यसका लागि चिन्ता गरिरहेको देख्छु म । 

कहिलेकाहीँ भेट हुँदा उहाँहरुसँग कुरा गर्दा संघीय लोकतन्त्रप्रति चिन्तित भएको पाउँछु । म पनि आफ्नो ठाउँबाट संघीयता र लोकतन्त्रलाई जोगाउनका लागि विभिन्न पहल गरिरहेको हुन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एसके यादव
एसके यादव
लेखकबाट थप