ज्यान बिक्रीमा छ

ठूलो सहर
सबैको सपनाको सहर
कंक्रिटै कंक्रिटले भरिएको सहर
अनगिन्ती मानिस,
यी मानिस पनि कंक्रिटले बनेको
कोलाहल, दौड अनि तँछाड मछाड
सधैँ ब्यस्त मुख्य सडक
सहायक सडकको पनि सहायक बाटो
कम चहलपहल
दायाँ बायाँ मझौला घरहरू
मझौला घरमा फलामे सटर
फलामे सटरजस्तै कठोर घरधनीहरू
यी मध्ये एउटा घरमा तीन सटर
खाजा घर, किराना पसल अनि मेडिकल
मेडिकलमा,
सिटामोल, जीवननजल, इकोन, कण्डम आदि
किराना पसलमा,
चाउचाउ, बिस्कुट, वियरका बोत्तल, चुरोटका डब्बा आदि
खाजा घरमा,
लोकल रक्सी, भैंसी राँगोको सुकुटी
अनि केही संख्यामा,
जबर्जस्ती ‘परी’ बनेका किशोरीहरू
र, ती किशोरीहरूको ज्यान बिक्रीमा छ ।
खाजा घरको पछाडि तीन कोठा
कोठाभित्र असरल्ल परेको बिस्तारा
बिस्तारा जस्तै असरल्ल परेको उसको जिन्दगी
जताततै चुरोटको ठुटा
ती ठुटा जस्तै निभेका सपना
डस्टबिनभित्र गाँठो पारेर मिल्काएका कण्डम
ती कण्डमजस्तै गाँठो परेको लक्ष्य ।
दिनमा कैयौं आउँछन्,
केही मिनेट सुत्छन् अनि जान्छन्
लुछ्छन्, लुट्छन्
अनि पुरुष हुँ भन्ने घमण्ड स्खलित गर्छन्
चुपचाप बाहिरिन्छन् ।
प्रिय पाठक,
किन ? भनेर
मनमा प्रश्न उब्जन सक्छ
किनकि
उसले भोको पेट भर्नु छ
नांगो शरीर ढाक्नु छ
आमाको औषधि किन्नु छ
दिदीको बिहे गर्दा लागेको
बाबाको ऋण तिर्नु छ
बहिनीलाई क्याम्पस पढाउनु छ
भाइलाई स्कुल पढाउनु छ
कोठा भाडा तिर्नु छ
पानी बत्तीको बिल पनि तिर्नु छ
र, ऊ आफै पनि बाँच्नु छ ।
प्रिय पाठक,
यही काम नै किन ?
प्रश्न उब्जन सक्छ
किनकि
राम्रो जागिर गर्न
ऊसँग धेरै पढाई छैन,
ठिक्कको जागिर गर्न चिनजान कोही छैन
सानो जागिरले खर्च धान्न सक्ने छैन
ब्यापार गर्न पैसा छैन
परदेश जान मन नै छैन ।
त्यसैले,
यो ठूलो सहरको भित्री गल्लीमा
मझौला घरको अन्धकार कोठामा
किशोरीको ज्यान बिक्रीमा छ ।
बिक्रीमा छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
-
आफ्नै छोराछोरीलाई देशमै सपना देखाउन सक्दैनौँ भने राजनीति गरेको के अर्थ ?
-
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
-
खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
-
सङ्घीयताप्रतिको बुझाइ नै बेठिक भयो : जनार्दन शर्मा
-
खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै