खाली नालीमा फोहोर थुप्रिदा अत्तरियामा डुबानको समस्या
सारांश
- अत्तरिया बजारमा बर्खायाम सुरु भएसँगै डुबानको समस्या बढ्छ। मुख्य कारण खुला नालीमा फोहोर थुप्रिनु हो।
- गोदावरी नगरपालिकाले सरसफाइ अभियान सुरु गरेको छ, जसमा डोजर र टिप्पर प्रयोग गरिएको छ, र नगर प्रमुख स्वयं सहभागी छन्।
- जनचेतनाको अभाव र फोहोर व्यवस्थापनको कमीले समस्या गम्भीर बनाएको छ। नालीमा ढक्कन नहुँदा र सडक विभागको समन्वय नहुँदा समस्या बढेको छ।
- स्थानीय व्यवसायी र बासिन्दाले स्थायी समाधानको माग गरेका छन्, जसमा फोहोर नफाल्ने, समन्वय बढाउने र ढकनयुक्त नाली बनाउने कुराहरू छन्।
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र अत्तरियामा बर्खायाम सुरु हुनासाथ डुबानको चिन्ता व्याप्त हुन्छ। विशेष गरी अत्तरियाको मुख्य चौक, प्रदेशका पहाडी जिल्ला, पूर्व जाने सडक र धनगढी जाने आसपासका क्षेत्रहरू प्रत्येक वर्ष अलिकति वर्षामा पनि डुबानमा पर्ने गरेका छन्।
स्थानीय व्यवसायी तेजराज अवस्थीका अनुसार ‘यहाँ त पानी परेको बेला डुबान हुन्छ नै । बादल लागे पछि सबैलाई त्यही डर हुन्छ।’ उनका अनुसार वर्षा सुरु हुनासाथ नालीमा फोहोर जाम भएर पानी सिधै होटलभित्र पस्ने गर्छ। पानी परेको बेला व्यापारीहरूले कहाँ जाने भन्ने समस्या सिर्जना हुन्छ।

कतिपय व्यापारीलाई पसलभित्र घुँडामाथि पानी पस्दा समानहरू व्यवस्थापन गर्न हम्मे हम्मे पर्छ। बर्खायामको यस्तो समस्यालाई समाधान गर्न नगरपालिका र सम्बन्धित निकायले आजैदेखि पूर्वतयारीका कामहरू गर्नुपर्ने स्थानीय व्यापारी अवस्थीको भनाई छ। उनका अनुसार अत्तरिया बजारलाई सफा बनाए, नालीहरूमा फोहोर फ्याँक्न नदिए, डुबानको समस्या कम हुने थियो। पूरै बजारसँगै नालीहरू पनि सफा बनाउनु नगरपालिकाको दायित्व रहेको उनको भनाई छ।
अत्तरियाको डुबानको प्रमुख कारणमध्ये एक हो, खुला नाली र त्यसमा थुप्रने फोहोर। अत्तरियाका अधिकांश नालीहरू प्लास्टिक, लेदो, ढुङ्गा, इँटा र अन्य निर्माणजन्य फोहोरले जाम हुन्छन्। यही समस्यालाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाले दुई दिन यता सरसफाइ अभियान तीव्र रूपमा अघि बढाएको छ। नगरप्रमुख वीरेन्द्र भट्टका अनुसार ‘नाली सफा गर्नु अत्यावश्यक थियो, हामीले सरसफाइ कार्य सुरु गरिसकेका छौँ। अब ढक्कनको पुनर्निर्माण र व्यवस्थित फोहोर व्यवस्थापनमा समेत ध्यान दिइरहेका छौँ।’

सोमबार बिहानदेखि सुरु गरिएको सरसफाइ अभियानमा डोजर, टिप्पर लगायतका उपकरणहरू प्रयोग गरिएको छ। नगरप्रमुख स्वयं सहभागी भएर सरसफाइ कार्यलाई निरीक्षण गरेका छन्।
सरसफाइ अभियानमा नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्टले जनचेतना अभावले समस्या झनै गम्भीर बनाएको बताए। उनका अनुसार, ‘पसल सञ्चालकहरूले नालीमै फोहोर फाल्ने गरेका छन्। यस्तो प्रवृत्तिमा रोक लगाउन सघन जनचेतना अभियान आवश्यक छ।’
फोहोरमैला व्यवस्थापन शाखाका सुपरभाइजर प्रमलसिंह महरा भन्छन्, ‘६ लेन सडक निर्माण भइरहेकै बेलामा नालीहरूमा ढक्कन नलाग्दा र सडक विभागले नाली सफा नगर्दा समस्या झनै बढेको हो। हामी टिम बनाएर फोहोर तान्ने, ब्लक खोल्ने र सरसफाइका काम गरिरहेका छौँ।’

उनका अनुसार एकातिर नाली उँचो र अर्कोतिर ब्लक भएको कारण पानी निकास हुन नसकेको र बसपार्कको पानी समेत अत्तरियाको चौराह क्षेत्रमा आइपुग्ने हुँदा समस्या झन् बढेको हो। हालसम्म ६ लेन सडक पूर्ण रूपमा हस्तान्तरण नहुँदा नाली व्यवस्थापनमा समन्वयको कमी देखिएको छ।
स्थानीय व्यवसायी तथा बासिन्दाहरूले भने अब स्थायी समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। खुला नालीमा फोहोर नफाल्ने प्रवृत्ति विकास गर्न, सडक विभाग र नगरपालिकाबिच समन्वय सुदृढ गर्न र ढकनयुक्त नालीको निर्माणको माग समेत बढ्दै गएको छ।
सुदूरपश्चिमका तराईका जिल्लाका मुख्य सहर तथा बजार डुबानको चपेटामा पर्ने गर्दछन्। गत वर्ष कञ्चनपुरको महेन्द्रनगर बजारका अधिकांश ठाउँ डुबानमा परेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण