बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
प्रदेश १ प्रदेशसभाको छैटौं बैठक

सांसदले शून्य समयमा बोल्नै पाएनन्, ८ मिनेटमा सकियो बैठक

सोमबार, २३ माघ २०७९, १७ : ३७
सोमबार, २३ माघ २०७९

विराटनगर । प्रदेश १ को प्रदेशसभाको छैटौं बैठक सकिँदासम्म सांसदहरुले शून्य समयमा बोल्न पाएका छैनन् । मङ्गलबार बस्ने सातौं बैठकमा पनि सांसदहरुले शून्य समयमा बोल्न पाउने सम्भावना कमजोर छ । किनकी उक्त बैठकलाई प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रदेशसभाको पहिलो बैठक गत पुस १७ गते बसेको थियो । तर, संघीय संसदमा सांसदहरुले जनसरोकारका विषयहरु खरोरुपमा राखिरहँदा प्रदेशका सांसद भने बैठकमा सहभागी हुँदै फर्किनु परेको छ । बोल्न चाहनेहरुले पनि बोल्न पाएका छैनन् ।

सोमबारको प्रदेशसभा बैठकमा सांसदहरुले शून्य समयमा बोल्ने अपेक्षा थियो । तर, प्रदेशसभा बस्नु अघि बसेको दलहरुको संयुक्त बैठकमा कार्यव्यवस्था परामर्श समिति नै नबनेको भन्दै नेकपा एमालेले समिति गठन भएपछि मात्रै सांसदहरुलाई बोल्ने दिनुपर्ने बताएको थियो । एमालेको प्रस्तावमा काँग्रेस सहमत भएसँगै शून्यसमयमा बोल्ने विषय हटाइएको स्रोतको दाबी छ । 

बैठकको प्रारम्भमा सभामुख बाबुराम गौतमले पछिल्लो पटक भएको मन्त्रीपरिषद्को कार्यविभाजनबारे प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएका थिए । त्यसपछि बैठक अगाडि बढाउन खोज्दा भने नेपाली काँग्रेसका सांसद केदार कार्कीले टेबल ठोकेर विरोध जनाएका थिए । सभामुखले बोल्न दिएसँगै कार्कीले शून्य समय नदिइएको भन्दै ‘सेटिङ’ गरिएको आरोप लगाए । उनले आफ्नै संसदीय दलका नेता उद्धब थापाप्रति कटाक्ष पनि गरे । 

‘यो प्रदेशसभामा नयाँ सांसद निर्वाचित भएको तीन महिना पुग्न लागेको छ । निर्वाचनको क्रममा जनतासँग गरेको वाचा अनुसार जनसरोकारका विषय संसदमा सांसदहरुले उठाउन पाएका छैनन्,’ कार्कीले भने, ‘संसद सेटिङ जस्तो गरेर शून्य समय नै हटाएर सांसदले आफ्नो अभिव्यक्ति राखेर जनतासम्म पुर्याउन नसक्नु सेटिङ जस्तो देखिएको छ ।’ उनले कुनै बेला जिल्ला विकास समितिको सर्वदलीय बैठक चलाए जस्तो गरेर शून्य समय हटाइको भन्दै आपत्ती जनाए । ‘सर्वदलीय बैठकको नाममा संसदलाई बोल्नै नदिइकन यस्तो गर्नुहुँदैन । लामो समयपछि चलाएको संसद ८ मिनेटमै सकियो । यो लाजमर्दो कुरा होइन,’ उनले प्रश्न गरे । 

यता, सभामुख बाबुराम गौतमले दलहरुबीच सहमति भएरै शून्य समय सोमबारको बैठकमा नराखिएको बताए । ‘आगामी दिनमा त्यसलाई हामी राख्छौं, उहाँहरुले बोल्न पाउनु हुन्छ,’ गौतमले भने ।  यता, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले भने सांसद केदार कार्कीले हावादारीमा टेबल ढ्यापढ्याप पारेको आरोप लगाए । ‘यो हावादारीमा ढ्यापढ्याप गरेको हो । कार्यव्यवस्था परामर्श समिति आज बनेको छ । अब पनि शून्य समय भएन भने कुरा उठाउँदा ठिक हुन्छ । अहिले समय कति दिने भन्ने विषय नै नटुंगिएको कारण त्यस्तो भएको हो,’ राजभण्डारीले भने, ‘माननीयले हिरो बन्न यसो गरेजस्तो लाग्यो ।’

काँग्रेस संसदीय दलका नेता उद्धब थापाले पनि आफ्ना सांसदले कुरा नबुझेको बताए । ‘हाम्रो माननीय ज्यूको बुझाइमा कमजोरी गर्नुभयो । दोस्रो चरणको प्रदेशसभाले आफ्ना अंगहरुलाई पूर्णता दिने काममै लागिरहेका छौं । कार्यव्यवस्था परामर्श समिति नबनेसम्म नबोल्दा हुन्छ भन्ने हिसावले सबै दलबीच सहमति भएको हो,’ उनले भने, ‘अहिले संसदले विशेष कार्यक्रमहरु मात्रै गरिरहेको छ । त्यसकारण विशेष समय र शून्य समय उपर्युक्त हुँदैन रहेछ । अब भोलीबाट विशेष र शून्य समय हुन्छ ।’

आठ मिनेटमा सकियो बैठक
सोमबारको प्रदेशसभा बैठक ८ मिनेटमा सकिएको थियो । सो क्रममा यसअघि प्रदेशसभामा प्रस्तुत प्रदेश निजामति सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेश प्रदेशसभाले स्वीकृत गरेको छ । यस्तै प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम १३ बमोजिम सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । जसमा आन्तरिक मामिला तथा कानूनमन्त्री तथा उपसभामुख पदेन सदस्य रहने छन् ।

मनोनित सदस्यहरूमा अम्बरबहादुर विष्ट, नारायण बहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भुपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् । यस्तै आजको बैठकले प्रदेशसभा संचालन तथा व्यवस्थापनका लागि नयाँ नियमावली मस्यौदा निर्माण गर्नका लागि पनि समिति गठन भएको छ । समितिमा कमलप्रसाद जबेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामवेद यादव, लिलाबल्लभ अधिकारी र शोभा चेम्जोङ रहेका छन् । उक्त समितिले आफ्नो संयोजक छनौट गर्दै आगामी ३० दिनभित्र नियमावलीको मस्यौदा प्रदेशसभामा बुझाउनु पर्ने कार्यादेश दिइएको छ । प्रदेशसभाको अर्को बैठक मंगलबार बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप