सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटन

पानी नपर्दा हिमाली पर्यटन व्यवसाय चौपट

सोमबार, ०८ फागुन २०७९, १० : २७
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । यस वर्षको हिउँद याममा पानी नपर्दा हिमाली पर्यटन व्यवसाय चौपट बन्न पुगेको छ । टलक्क टल्कने हिमाल हेर्दै हिउँमा नै खेल्न उफ्रिन रमाउने पर्यटकहरू फागुन लागिसक्दा समेत पानी नपर्दा हिमाली क्षेत्र चढेका छैनन् । जसले गर्दा हिमाली पर्यटन, होटल तथा होमस्टे, ट्रेकिङ व्यवसाय चौपट हुन पुगेको हो । 

होमस्टे महासंघ नेपाल (होसान) का निवर्तमान अध्यक्ष केशव बडाल यस वर्षको हिउँदे व्यवसायले कोभिड–१९ कै झल्को दिएको बताउँछन् । ‘फागुन आधाआधीसम्म पनि पानी परेको छैन । पानी नपर्दा हिमाली क्षेत्रमा हिउँ परेको छैन । टलक्क टल्किने हिमालहरू फुङ्ग छन् । पर्यटक किन जाउन् ?,’ पानी नपरेकै कारण यस वर्षको ८० प्रतिशत हिमाली पर्यटक घटेको व्यवसायी बडाल बताउँछन् । पर्यटकको अभावमा यतिखेर हिमाली पर्यटन क्षेत्रले कोभिड–१९ ताकाकै नियति बेहोर्नु परेको उनको भनाइ ।

‘कूल पर्यटन व्यवसायको आधाआधी हिस्सा हिमाली पर्यटनकै होला । हिमाल आरोहणदेखि, ट्रेकिङ, हिमाली क्षेत्रको अवलोकनका लागि विदेशी पर्यटक मात्र होइन आन्तरिक पर्यटकहरू समेत उत्तिकै रुचि राख्छन् । तर, यस पटक हिउँमा पानी नपरिदिँदा यस्तो व्यवसाय ७० प्रतिशतदेखि ८० प्रतिशत घटेको मेरो अनुमान छ’ बडालले रातोपाटीसँग भने । 

यता वाइल्ड लाइफ टुरिजमका साथसाथै एड्भेञ्चर र केहीँ छोटा रुटका ट्रेकिङ टुरिजमलाई भने खासै फरक नपारेको रसुवाका पर्यटन व्यवसायी निशान गजुरेल बताउँछन् । 

खासगरी हिउँदे याममा राम्रो पर्यटक लाग्ने दोलखाको कालिनचोक, शैलुङ, जिरी, लाङटाङ यतिखेर प्रायः शून्यको अवस्थामा छ । त्यसो त हिउँदमा पानी पर्दा राम्रै पर्यटक पाउने काठमाडौँ आसपासकै क्षेत्रहरू नगरकोट, चन्द्रागिरि र फुल्चोकी (गोदावरी) क्षेत्रहरू समेत यतिखेर सुनसानकै अवस्थामा छन् । जसले यी क्षेत्रको पर्यटन गतिविधि मात्र होइन पछिल्ला दिनमा आर्थिक गतिविधिमा समेत सुस्तता ल्याएको छ ।

वाइल्ड लाइफ र एड्भेञ्चर टुरिजमलाई छैन चिन्ता

यता वाइल्ड लाइफ टुरिजमका साथसाथै एड्भेञ्चर र केहीँ छोटा रुटका ट्रेकिङ टुरिजमलाई भने खासै फरक नपारेको रसुवाका पर्यटन व्यवसायी निशान गजुरेल बताउँछन् । 

‘अहिलेसम्म त हिउँ नपरेर रसुवाको पर्यटन व्यवसायलाई खासै समस्या पारेको छैन,’ नेपाल होटल तथा पर्यटन व्यवसायी संघ, रसुवाको अध्यक्ष समेत रहेका व्यवसायी गजुरेलले भने, ‘बरु हिउँ पर्दा ट्रेकिङ रुटहरू प्रभावित हुने हो कि भन्ने चिन्ता छ । सुख्खा याममा चल्ने लाङटाङ, गोसाइँकुण्ड, पाँचपोखरी लगायतका ट्रेकिङ रुटहरू निर्बाध चल्न पाउँछन् । चैत वैशाखसम्म हिउँ नपर्ने र बर्खा समेत छिटो सुरु नहुने हो भने राम्रै व्यवसाय हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 

यद्यपि, यसपटक पानी नपर्दा वाइल्ड लाफ टुरिजम (जंगली जनावरको अवलोकन) तथा भ्रमणमा केही सहजता मिलेको छ भने साहसिक (एड्भेञ्चर) पर्यटनमा समेत सहजता मिलेको व्यवसायीहरूको भनाइ छ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जसँगै, चितवनको सौराहा, पोखरा लगायतका पर्यटन क्षेत्रमा पर्यटकहरूको राम्रै चहलपहल रहेको छ । 

‘पानी नपर्दा हिमाली क्षेत्रको अपेक्षित व्यवसाय हुन नसके पनि पहाडी र तराई क्षेत्रको व्यवसायमा भने खासै फरक पारेको छैन । अझ बढी पर्यटक बढेको हाम्रो अनुभव छ’ होमस्टे (घरबास) महासंघ नेपालका अध्यक्ष तथा अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका सञ्चालक प्रेम मर्दिनियाले रातोपाटीसँग भने । बरु झण्डै ३० प्रतिशतले पर्यटन गतिविधि बढेको उनको भनाइ छ । 

पर्यटन बोर्डका अनुसार चालु आर्थिक वर्षको असोज यता झण्डै ३ लाख विदेशी पर्यटक भित्रिएका छन् ।

हाल देशैभरिबाट सामुदायिक र निजी गरी करिब १५ सय होमस्टेहरू सञ्चालनमा रहेका छन् । जसमध्ये ७ सय (लगभग आधा सङ्ख्या) मा होमस्टेहरू महासंघमा आवद्ध रहेको अध्यक्ष मर्दिनियाको भनाइ छ । ७ हजार घरधुरीमा सञ्चालित होमस्टेहरू ६८ जिल्लामा छरिएर रहेका छन् ।

चार महिनामा २ लाख ८४ हजार विदेशी पर्यटक भित्रिए

पर्यटन बोर्डका अनुसार चालु आर्थिक वर्षको असोज यता झण्डै ३ लाख विदेशी पर्यटक भित्रिएका छन् । पुस मसान्त अर्थात् जनवरी मध्यसम्ममा २ लाख ८४ हजार २४१ जना विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ । 

सन् २०२२ को अक्टुबरमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिरहँदा नोभेम्बरमा ७२ हजार ६५३ जना र डिसेम्बरमा ६७ हजार ९३२ जना भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत जनवरीमा मात्र ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०२२ मा तीन वर्ष यताकै उच्च ६ लाख १४ हजार १४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने अघिल्लो दुई वर्ष सन् २०२० र २०२१ मा क्रमशः २ लाख ३० हजार ८५ र १ लाख ४९ हजार ८३३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप