शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि झस्कियो माओवादी

बुधबार, १० फागुन २०७९, १३ : ०७
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि नेकपा (माओवादी केन्द्र)का नेताहरू झस्किएका छन् । राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने अडान लिएको माओवादीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि सशङ्कित बनाएको हो । 

ओली र नेपालबीच पानी बाराबार भएको अवस्थामा नेपाललाई राष्ट्रपति प्रस्ताव गर्नुमा आशङ्का गर्ने ठाउँ रहेको माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । ‘केपी जीले राष्ट्रपति बनाउन धेरै व्यक्तिको नाम प्रस्ताव गर्नुभयो । सभामुख जस्तै राष्ट्रपति पनि आफ्नै पकेटको व्यक्तिलाई बनाउन सकिन्छ कि भनेर लाग्नुभयो । प्रधानमन्त्री ज्यूले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने अडान लिएपछि केपी जीले माधव नेपालको नाम प्रस्ताव गर्नुभएको छ’ शाहले भने, ‘माधव कमरेडलाई राष्ट्रपति बनाएर पार्टी एकता गर्न खोज्नु भएको छ । त्यो नेपाल स्वयम र उहाँको पार्टीलाई समेत राम्रो हुँदैन ।’ कसैले कसलाई राष्ट्रपतिमा प्रस्ताव गर्दामा सुनिश्चित नहुने शाहले बताए । 

एमाले र एकीकृत समाजवादीबीच एकता गरेर माओवादीलाई पाखा लगाउने ओलीको रणनीति हुन सक्ने माओवादीको आशङ्का रहेको छ । ओलीले प्रस्ताव गर्ने राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले समेत आशङ्का व्यक्त गर्ने गरेका छन् । ओली सरकार बाहिर वा भित्र जहाँ भएपनि गेम खेलिरहने भएकाले उनको प्रस्तावलाई अनेक कोणबाट प्रचण्डले विश्लेषण गर्ने गरेका छन् । अब ओलीले प्रस्ताव गर्ने व्यक्तिलाई प्रचण्डले राष्ट्रपति बनाउने अवस्था नरहेको एक मन्त्रीले बताए । 

‘अहिले एकीकृत समाजवादीसँग एकता गर्ने सर्तमा माधव जीलाई राष्ट्रपतिमा प्रस्ताव गर्नु भएको छ । पार्टी एकता गरेर संसद्को ठुलो दलबाट प्रधानमन्त्री दाबी गर्न खोजेको देखिन्छ’ ती मन्त्रीले भने, ‘यदि पार्टी एकता गर्ने गरी नेपाल राष्ट्रपति हुने अवस्था आए राम्रो भयो । पहिलो सर्त पूरा नभए दोस्रो तत्कालीन गठबन्धनमा भाँजो हाल्ने र विवाद बढाउने केपी कमरेडको  रणनीति देखिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा निर्णय गरेर आउन आग्रह गरेका छन् । राष्ट्रपतिमा पार्टीबाट आधिकारिक रुपमा निर्णय भएर आएमा सहयोग गर्न सहज हुने प्रचण्डको भनाई छ । कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले  दाबी गर्दै आएका छन् ।  पछिल्लो समय पार्टी सभापति शेरबहादुर  देउवाले समेत राष्ट्रपति बन्न आशय व्यक्त गर्ने गरेका छन् । यदि देउवा नै कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार भएमा प्रचण्डलाई समेत निर्णय गर्न सहज हुने माओवादी नेताहरू बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप