शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयको सेवा, बिचौलियाको ‘सिस्टम’

बिहीबार, ११ फागुन २०७९, ११ : ०५
बिहीबार, ११ फागुन २०७९

दाङ । मध्याह्नको समय, सेवाग्राहीको भिड । लाइन बसेकादेखि आँगनमा उभिएका सबै सेवाग्राहीहरू आफ्नै काम बनाउने हतारोमा देखिन्थे । सेवाग्राहीको बीचमा हातमा कागजात समाएका केही व्यक्तिहरू पनि देखिन्थे । उनीहरूमध्ये केही झ्यालमा झुन्डिएका थिए भने केही कार्यालय वरिपरि यताउता गरिरहेका थिए । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीमा बुधबार दिउँसो यस्तै देखिन्थ्यो । 

त्यही क्रममा कार्यालयको गेटमा उभिएका एक सेवाग्राहीलाई कुनै व्यक्तिको फोन आयो । फोन गर्ने व्यक्ति कार्यालयका बिचौलिया थिए ।

malpot (2)

बिचौलिया : हेलो, काम आजै सक्ने हो ? 

सेवाग्राही : हो सर ।

बिचौलिया : त्यसो भए सिस्टममा राखौँ ? आजै सक्ने भए अलि खर्च लाग्छ । 

सेवाग्राही : कति लाग्छ ? 

बिचौलिया : आजै सक्ने भए १२ सय जति खर्च दिनुपर्छ, नत्र भोलि हुन्छ । 

मालपोत कार्यालयको काममा धाउँदै आइरहेका घोराही–१९ का ५७ वर्षीय सेवाग्राहीले फोनमा कुरा गर्ने व्यक्तिको कुरालाई स्वीकार गरे । तीन दिनदेखि कार्यालय धाउँदै गर्दै आइरहेका उनी काम नबनेपछि बिचौलियाको सिस्टममै काम गराउन राजी भए । उनले भने, ‘कार्यालयको सेवामा बिचौलियाको सिस्टम नबुझ्ने हो भने दुःख मात्र होइन कामै नहुने रहेछ ।’ 

malpot (1)

कार्यालयले नागरिक सेवा ढिलासुस्ती गर्दा सेवाग्राहीहरू बिचौलियाको सिस्टममा भर पर्न बाध्य भएको उनले बताए । उनले भने, ‘कार्यालयको सिस्टमले काम गर्दैन । पालोमा आफैले काम गराउन खोजे दुई–चार दिन दुःख पाइने रहेछ । बिचौलियाको भर नपरी सुखै भएन ।’ जसका कारण सेवाग्राहीहरू बिचौलियाको हातमा पर्ने गरेको पाइन्छ । 

कर्मचारीले बेलाबेला सिस्टम डाउन भयो भन्दै काम रोक्ने गरेको सेवाग्राहीको गुनासो छ । ‘जब बिचौलियाको सिस्टमले १ दिनमै काम बन्छ । कार्यालयको सिस्टमले २/३ दिन लाग्छ । यस्तै छ मालपोतको नागरिक सेवा,’ उनले भने, ‘कार्यालयको सिस्टमले काम नगर्ने , बिचौलियाको सिस्टमले काम गर्ने ?’ एउटा कामका लागि न्यूनतम १२/१५ सय अनावश्यक खर्च सेवाग्राहीले बेहोर्नुपरेको छ । 

malpot (3)

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले नागरिक सेवाको असहजतालाई चाँडै हटाउने बताए । वैद्यले कार्यालय परिसर वरिपरि लेखापढी काम गर्ने व्यक्तिहरूले केही सेवा शुल्क लिएर काम लेखापढीको काम गर्ने गरे पनि अनावश्यक रकम लिने काम भने नभएको दाबी गरे । उनले भने, ‘तर लेखापढी गर्नेहरूले केही सेवा शुल्क लिएर निवेदन लेख्ने काम गरेको भने भेटिन्छ । उक्त कामलाई पनि व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यक रहेको देखिन्छ ।’ सबै सेवाग्राहीलाई आफ्नो काम गराउन हतारो हुँदा बिचौलिया हाबी हुने गरेको बताए । ‘कर्मचारी सेवाका लागि बसेकै हुन्छन् । आफ्नो पालो आए काम गराउने, कसैको सहायता नलिने हो भने यो समस्या हट्छ । तर सेवाग्राहीलाई काम गराउनै हतार हुन्छ । यो काम गर्ने गराउने दुवै गलत हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप