सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल

बिहीबार, २५ फागुन २०७९, ०८ : २३
बिहीबार, २५ फागुन २०७९

पोखरा । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए ।
एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताए । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल गरेको उनले बताए ।
    
बहुमूल्य बनस्पतिका लागि पनि म्याग्दी प्रख्यात रहेको उल्लेख गर्दै मुल्मीले अल्लोका साथै जापानी रुपैयाँ बनाउनका लागि प्रयोग गरिने अँगेरे म्याग्दीका विभिन्न स्थानमा पाइने बताए । समाजमा आर्थिक रुपान्तरणका लागि लाग्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आर्थिक क्षमता अभिवृद्धि गर्नेतर्फ उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए ।
    
टेवानका अध्यक्ष कमला गिरीले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा म्याग्दीको विकास गर्नुपर्ने बताए । पर्यटनलगायतका क्षेत्रमा क्रियाशील महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । म्याग्दी तथा मुस्ताङका व्यवसायी युवा तथा महिलाको क्षमता अभिवृद्धि कार्यक्रमसहित टेवानले यस क्षेत्रमा प्रवद्र्धन कार्यक्रम गर्न लागेको उनले बताए । 

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवद्र्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनको भनाइ थियो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने आलु, स्याउ, सुन्तला, टिमुर, अल्लोका कपडा, फापरलगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ”, उनले भने ।

टेवानको कार्यक्रमअन्तर्गत युवा तथा महिला उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिए । पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बाउन म्याग्दी र मुस्ताङका गन्तब्य पहिचान गर्न पहल गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।  

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले मुस्ताङ जान आउने पर्यटकको बेनीमा बसाइँ लम्बाउन बेनीकोत, लभ्लीहिल, पछै, जगन्नाथ, ज्यामरुककोट, रत्नेचौर, गलेश्वर, देवशिला उत्खनन् स्थल, तातोपानी कुण्डलगायत गन्तव्यको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप