शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक राष्ट्रिय विषय हो : लेखक

शनिबार, ०४ चैत २०७९, १७ : ५३
शनिबार, ०४ चैत २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् । शनिवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए । उनले बैठकमा संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताए । उनले आइतबार बस्ने संसदको बैठकमा बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक प्रस्तुत हुने पनि बताए ।

लेखकले भने, ‘संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्यो भन्नेकुरा भएको छ । भोलिको संसदमा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधिसभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्ने कुरा भएको छ । बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।’

प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोही अनुसार गठबन्धन अघि बढ्ने बताए । उनले गठबन्धनको अर्को कुनै विकल्प नरहेको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप