मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

विद्यार्थीहरूको खबरदारी : हाम्रो मतको अवमूल्यन नहोस्, क्याम्पसको भद्रगोलको अन्त्य होस्

आइतबार, ०५ चैत २०७९, १४ : २८
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । त्रिभुवन विश्ववद्यालय (त्रिवि) अन्तरगत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मत खसाल्न पाउँदा शंकरदेव क्याम्पसका विद्यार्थी हरिश ओझा निकै उत्साहित देखिए । पहिलो पटक उनले स्ववियु निर्वाचनमा भोट हाल्ने मौका पाएका थिए ।

संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उनले कहिल्यै मतदान गरेका थिएनन् । त्यसका लागि उनलाई कुनै पनि उम्मेदवार चित्त बुझेका थिएनन् । जसले गर्दा ती निर्वाचनमा उनकै भाषामा ‘बहिस्कार’ नै गरे । तर, १४ वर्षपछि भएको स्ववियु निर्वाचनमा भने उनी भोट हाल्न उनी उत्साहित थिए । त्यसमाथि आफूलाई मन परेका उम्मेदवारलाई मत हाल्न पाउँदा उत्साह पैदा हुनु स्वाभाविक भएको उनको भनाइ छ । 

शंकरदेव क्याम्पसमा देखिएका विकृति तथा विसङ्गति र विद्यार्थीका एजेन्डाहरू नयाँ नेतृत्वले पुरा गर्ने उनको विश्वास थियो । भोट दिएपछि उनको अपेक्षा छ, ‘क्याम्पसमा थिति बसोस् । अहिलेसम्मको भद्रगोलको अन्त्य होस् । विद्यार्थीले आफ्ना मागका लागि लडिरहनु नपरोस् ।’

campus swabiyu (2)

मत दिएपछि आफूले भोट दिएका उम्मेदवारलाई उनले भेटे । र, जितेपछि आफ्नो मतको अवमूल्यन नगर्न खबरदारी गरे । 

‘मेरो त जीवनको पहिलो मतदान हो । मैले धेरै अपेक्षा राखेको छैन । क्याम्पसमा अहिले देखिएका विकृति विसङ्गति अन्त्य गरेर एउटा ट्र्याकमा जाओस् भन्ने मेरो चाहना हो,’ उनले भने ।  

campus swabiyu (8)

मतदान गरेपछि शंकरदेवकै अर्का विद्यार्थी स्मृति थपलियाले पनि क्याम्पसमा अहिलेसम्म देखिएको राजनीतिक अस्थिरताको अन्त्य होस् भन्ने चाहेकी छिन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘मैले धेरै केही कुरा पनि चाहेकी छैन । बस क्याम्पसमा हाम्रो नियमित पढाई होस्, सधैँ हुने तालाबन्दी अन्त्य होस् । केही कुरा राख्नुप¥यो भने हामीले क्याम्पसमा तालाबन्दी नै गर्नु नपरोस् । सबै काम स्ववियुबाट होस् ।’

campus swabiyu (3)

८ हजार ४९० विद्यार्थी मतदाता रहेको शंकरदेवमा विद्यार्थीहरूको उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । मतदानका लागि विद्यार्थीहरूलाई सुरक्षाकर्मीले चेकजाँच गरेरभित्र पठाइरहेका छन् । विद्यार्थीहरू समेत लाइन लागेर मत दिन आतुर देखिन्छन् । 

सबै विद्यार्थीहरूको चाहना भनेकै कलेजमा अहिलेसम्म देखिएका विकृति विसङ्गतिको अन्त्य होस् भन्ने रहेको छ । 

campus swabiyu (6)

त्यस्तै २ हजार २४६ विद्यार्थी मतदाता रहेको नेपाल ल क्याम्पसमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहानैदेखि विद्यार्थीहरू हातमा आफ्नो परिचयपत्र बोकेर मतदानको प्रतीक्षामा बसेका छन् । उम्मेदवारहरू तथा तिनका प्रतिनिधिहरू मतदाताहरूलाई भोट माग्दै हिँडेका छन् । 

मतदाता विद्यार्थीहरूको अपेक्षा अब आफूले भोग्दै र देख्दै आएका समस्या समाधान हुन्छन् होला भन्नेछ । विद्यार्थी दीपिका भट्टले क्याम्पसभित्रका तमाम समस्या समाधान होस् भन्ने चाहना राखेर मतदान गरेको बताइन् । 

campus swabiyu (4)

‘भोट हालेँ । अब जितेकालाई जितको मात नचढोस् भन्ने हो । जित्नेले सबै विद्यार्थीको प्रतिनिधित्व गरेर अगाडि बढुन् र हाम्रा र क्याम्पसका समस्या समाधानका लागि लडुन् भन्ने चाहना छ,’ उनले भनिन् । 

थापाथली इन्जिनियरिङ कलेजमा पनि उत्साहजनक रूपमा मतदान भइरहेको छ । १ हजार ५० मतदाता विद्यार्थी रहेको थापाथलीमा विद्यार्थीहरू उत्साहित भएर मतदानको लागि प्रतीक्षामा बसिरहेका छन् । उनीहरूले आफूले मन पर्ने र भिजन र एजेन्डा राम्रो भएको उम्मेदवारलाई मत दिएको बताएका छन् । 

campus swabiyu (5)

त्यस्तै २ हजार ६९९ विद्यार्थी रहेको पुलचोक इन्जिनियरिङ क्याम्पसमा पनि मतदानका लागि विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको छ । विद्यार्थीहरू मतदान गर्न प्रतीक्षामा बसेका छन् । उनीहरूले क्याम्पसमा देखिएका विकृति र विसङ्गति अन्त्य होस् भन्ने चाहेका छन् । 

नजिकिँदै गरेको परीक्षाको प्रवाह नगरेर आफूहरू मतदान गर्न आएको उनीहरूको भनाइ छ । आफ्नो मतको अवमूल्यन गरेको खण्डमा आफूहरूले त्यस्ता उम्मेदवारलाई नछोड्ने चेतावनी समेत विद्यार्थीहरूको छ । 

campus swabiyu (7)

उम्मेदवारहरूले समेत आफूले अघि सारेका एजेन्डा र विद्यार्थी समस्याहरूलाई समाधान गर्नका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । 

विद्यार्थीहरूले क्याम्पसको भौतिक पूर्वाधार, समयसापेक्ष अनुसार पठनपाठन, लाइबेरी, क्यान्टिन, क्याम्पसमा हुने अनियमितता, तालाबन्दीको अन्त्य जस्ता समस्याको समाधान होस् भन्ने चाहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप