शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’माथि विमर्श

सोमबार, १३ चैत २०७९, १७ : ४४
सोमबार, १३ चैत २०७९

काठमाडौँ । साहित्यकार रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति प्रकाशन भएको छ । सो कृतिमाथि शनिवार काठमाडौँमा कृति–विमर्श कार्यक्रम आयोजना गरियो । समालोचक प्राडा गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्त्वपूर्ण ग्रन्थका रूपमा आएको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गरे ।

यसै गरी प्राडा विष्णु एस राईले भने, “अनुसन्धानमूलक यो कृति पिएचडीका लागि अत्यन्तै महत्त्वपूर्ण छ । विषय नयाँ र महत्त्वपूर्ण छ ।” संस्कृतिविद् डा. भक्त राईले यस ग्रन्थमा युद्ध विध्वंस मात्रै नभएर सिर्जना पनि भएको विचार व्यक्त गरे । उनले नेपाली वाङ्मयका क्षेत्रमा राईको ग्रन्थ ठुलो उपलब्धि भएको बताए ।  

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सुरक्षाविद् सुरेश शर्माले युद्ध कुरूप मात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताए । 

कृतिकार राईले करिब एक दशकको खोज, अध्ययन तथा अनुसन्धान र लेखनबाट ग्रन्थ तयार भएको बताए । 

गोर्खाज बुक्सबाट प्रकाशित ‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । 

 

ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त राईका यसअघि देश दुःखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अङ्ग्रेजी) कवितासंग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासङ्ग्रह प्रकाशित छन् । 

यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । खोटाङ, बुइँपाका उनी हाल बेलायतको वेल्समा बस्दै आएका  छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप