मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

भीम रावलप्रति एमाले नीति : ठोक्ने कि बोक्ने ?

रावल भन्छन्– वार्ताका लागि तयार छु !
बुधबार, २२ चैत २०७९, २२ : ४७
बुधबार, २२ चैत २०७९

काठमाडौं । ‘अछाम र कैलालीका विभिन्न पालिका तथा सुर्खेत र कञ्चनपुरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक हरूसँग भेटघाट र छलफल गरी ३५ दिनपछि चैत १५ गते काठमाडौं आइयो,’ एमाले नेता भीम रावलले शुक्रबार आफ्नो फेसबुक पेजमा लेखे, ‘अब राष्ट्रिय राजनीति नियाल्दै र पर्गेल्दै ।’ रावलले आफ्नो फेसबुक पेजमा यस्तो लेखेको भोलिपल्ट अर्थात शनिबार बसेको एमाले सचिवालय बैठकले उनै रावलसँग वार्ता र छलफल गर्न भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन ग¥यो ।

वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष समेत रहेका नेता रावलसँग छलफल गर्न तीन सदस्यीय वार्ता समिति बनाएपछि एमालेकै कतिपय नेता कार्यकर्ताले ‘आफ्नै पार्टीका नेतासँग वार्ता गर्न समिति बनाउनुपर्ने कस्तो अवस्था आयो ?’ भनेर टिप्पणीसमेत गरे ।

उपाध्यक्ष पौडेलको नेतृत्वमा बनेको सो समितिमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सदस्य छन् । ‘बैठकले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग कुराकानी गरी पार्टीमा आवश्यक सुझाव दिनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापा रहनुभएको वार्ता टोली गठन गरेको छ’, बैठकपछि महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

तर एमालेको शक्तिशाली कमिटी मानिएको केन्द्रीय सचिवालय बैठकबाटै निर्णय गरेर वार्ता समिति बनेको तीन दिन बित्दा पनि समितिले रावलसँग छलफल गर्न सकेको छैन । एमाले केन्द्रीय सचिवसमेत रहेका वार्ता टोली सदस्य लेखराज भट्टका अनुसार उपाध्यक्ष तथा संयोजक पौडेलको परिवारका एक सदस्यमा कोरोना संक्रमण देखिएकाले प्रत्यक्ष भेटघाट र छलफलको प्रक्रिया सुरु हुन नसकेको हो ।

‘हाम्रो उपाध्यक्ष तथा वार्ता टोली संयोजकको नातिनीलाई कोरोनाको समस्या आयो, यो समस्याले गर्दा उहाँ पनि आइसोलेसनमा बस्नुपर्ने भएकाले क्लियर नभई नबसौं भन्ने भएर अहिले कुनै प्रक्रिया अघि बढेको छैन’, भट्टले मंगलबार रातोपाटीसँग भने, ‘कुनै धारणा पनि बनाइसकेको अवस्था छैन ।’

रावललाई ठोक्ने कि बोक्ने ?

एमालेभित्र सुदूरपश्चिममा राम्रो पकड राख्ने नेताका रुपमा रहेका रावल तत्कालीन समयमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विभाजनसँगै आफ्नो जिम्मेवारीमा अनपेक्षित फेरबदलपछि पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका छन् । २०७७ सालमा नेकपा विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज रावलबाट खोसेर माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई दिएपछि रावलले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । 

नेकपा विभाजनपछि एमालेकै १० बुँदे पक्षधर भनेर चिनिएका रावल माधवकुमार नेपाल पक्षले पार्टीमा विद्रोह गर्न लाग्दासमेत नेपाल पक्षलाई रोक्न प्रयासरत थिए । तर रावलसहितको टोलीले दिएको सुझावमा अध्यक्ष ओली सकारात्मक नभएपछि नेपाल पक्ष छुट्टै पार्टी गठन गर्ने निर्णयमा पुग्यो । नेकपा विभाजनपछि अध्यक्ष ओलीले रावललाई भन्दा पनि भट्ट र अर्का नेता कर्ण थापालाई बढी विश्वास गर्ने र उनकै सल्लाहमा चल्न थालेपछि रावलमा थप असन्तुष्टि बढ्दै गयो । त्यसपछि २०७८ मंसिरमा भएको एमाले महाधिवेशनमा समेत रावल ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिन पुगे । ओलीको चाहनाविपरीत रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि ओली–रावल सम्बन्ध सुदृढ बन्नुको साटो तिक्तता फराकिलो बन्दै गयो । यही खटपटकै कारण २०७९ मा भएको आम निर्वाचनमा जिल्ला र प्रदेशबाट रावलको नाम सर्वसम्मत सिफारिस भएर आए पनि अध्यक्ष ओलीले उम्मेदवार बनाउन चाहेनन् । रावलले टिकट नपाएपछि चुनावी गतिविधिमा समेत उनी खासै सक्रिय बनेनन् ।

रावललाई टिकट किन नदिएको भनेर सुदूरपश्चिमका एमाले नेता कार्यकर्ताले ओलीलाई प्रश्न गर्दासमेत ओलीले ‘किन भीम रावलका पछि लाग्नुहुन्छ, अरु रावल छैनन् ?’ भन्ने जवाफ दिए । अध्यक्ष ओलीले रावलबारे बाहिर यस्तो जवाफ दिने गरे पनि उनलाई आत्मालोचना गरेर पार्टीमा फर्कन अनौपचारिक रुपमा नेताहरुमार्फत सन्देश पठाउन छाडेका थिएनन् । तर रावलले आफूले मात्र नभई ओलीले समेत आत्मालोचना गर्नुपर्ने अडान राख्दै आए ।

उनै रावल र माओवादीसहितको गठबन्धनका आडमा ०७४ को निर्वाचनमा सुदूरपश्चिममा एमालेले प्रतिनिधिसभाका १६ क्षेत्रमध्ये ११ र प्रदेशसभाका ३२ मध्ये १७ क्षेत्रमा जितेको थियो तर ०७९ मा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ३ गरेर ५ क्षेत्रमा मात्रै एमाले उम्मेदवार विजयी भए ।

प्रतिनिधिसभातर्फ एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारी (बैतडी) र तारा लामा तामाङ (कञ्चनपुर–१) ले बिउ जोगाएका थिए । प्रदेशसभातर्फ बैतडी १ (१) बाट सुरेन्द्र पाल, कञ्चनपुर १ (१) बाट वीरबहादुर थापा (पातल) र डोटी १ (१) बाट चक्रबहादुर मल्लमात्र विजयी भए । त्यतिमात्रै होइन, ओली–रावल खटपट र द्वन्द्वको असरले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज कर्णबहादुर थापा, नेताहरु गणेश ठगुन्ना, नारदमुनि राना, नरबहादुर धामी, निरुदेवी पाल, गौरीशंकर चौधरी, झपटबहादुर रावल, झपड बोहरा, गौरीकुमार ओलीलगायत नेता २०७९ को निर्वाचनमा पराजय भोग्न बाध्य भए । त्यसबेला यति धेरै नेता पराजयको प्रमुख कारण रावलको उपेक्षा नै रहेको रावल निकटहरुले विश्लेषण गरेका थिए । यद्यपि ओली निकटस्थहरुले भने गठबन्धनका कारण सोचेअनुरुप नतिजा आउन नसकेको बताउने गरेका थिए । 

यसरी नै ओली–रावल सम्बन्ध तिक्ततापूर्ण ढंगले अघि बढ्दै गर्दा पछिल्लो समय पार्टीले चलाएको ‘ग्रासरुट अभियान’अन्तर्गत एमाले उपाध्यक्ष विष्णु पौडेल सुदूरपश्चिम जाने क्रममा रावलको गृहजिल्ला अछाम पुगे । अछाम पुगेर पौडेलले रावलमाथि ‘पार्टी अनुशासन र निर्देशन नमानेको’ तथा निर्वाचनमा टिकटसमेत नेतृत्वसँग नमागेकाले टिकट नदिइएको बताएका थिए । पौडेलको यो अभिव्यक्तिबाट रावल निकट नेता कार्यकर्ता आक्रोशित बन्नुका साथै भनाभन र झण्डै भागाभागकै स्थिति बनेको थियो । अछामको यो घटनापछि पौडेल र रावल दुवैले पत्रकार सम्मेलन गरेर एकअर्कालाई दोषी देखाउने प्रयास गरे ।

यिनै परिस्थितिकाबिच रावलसँग संवादका लागि एमालेले वार्ता समिति बनाएको हो । एमाले बैठकले निर्णय नै गरेर बनाएको वार्ता समितिप्रति रावल पनि सकारात्मक देखिन्छन् । ‘अहिलेसम्म कुराकानी त हुन पाएको छैन, तर वार्ता समिति बनाउनुलाई मैले सकारात्मक लिएको छु’, नेता रावलले रातोपाटीलाई प्रतिक्रिया दिँदै भने, ‘म वार्ता गर्न तयार छु र अहिलेलाई यति बोल्न सक्छु ।’

एमाले अध्यक्ष ओली निकट मानिने नेता कर्ण थापा नेता रावलले सामान्य आत्मालोचना गरे सबै कुरा मिल्ने बताउँछन् । ‘कमजोरीप्रति सामान्य आत्मालोचना भए सबै कुरा सकिन्छ’, थापाले भने, ‘पहिला त छलफल हुनुप¥यो, त्यसपछि अरु प्रक्रिया अघि बढ्छ ।’ उनले रावललाई पुनः सुदूरपश्चिमको इन्चार्ज दिन अध्यक्ष ओलीसमेत सकारात्मक रहेको संकेत गरे ।

‘पार्टीमा त्यस्तो केही छैन । वार्तापछि कुरा मिल्छ भन्ने विश्वास मलाई छ’, थापाको भनाइ छ । ओली निकट स्रोतका अनुसार पछिल्लो समय ओली पनि पार्टीमा रावललाई मिलाएरै लाने पक्षमा छन् । नेताहरुसँगको अनौपचारिक कुराकानीमा ओलीले रावलको अभावकै कारण सुदूरमा पार्टीलाई धक्का लागेको महशुस गरेका छन् । ती नेता ठाडो शैलीमा भन्छन्, ‘अध्यक्षज्यू पनि अहिले रावललाई ठोक्ने भन्दा पनि बोक्ने लाइनमै देखिनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप