शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नक्कली परीक्षार्थी प्रकरणमा मेयर, केन्द्राध्यक्षसहित ३ जनाविरुद्ध पक्राउपुर्जी जारी

शुक्रबार, २४ चैत २०७९, १९ : ५६
शुक्रबार, २४ चैत २०७९

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु, लक्ष्मीनिया माविका केन्द्राध्यक्ष तेजनाराण साहसहित ३ जनाविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।

मौलापुर नगरालिकास्थित मावि लक्ष्मीनिया परीक्षा केन्द्रमा गत आइतबार मेयर कानुको सट्टा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानु, केन्द्राध्क्ष साह सहित ३ जनाविरुद्ध  पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा मेयर प्रेमलाल साह, केन्द्राध्यक्ष तेजनाराण साहसहित ३ जनाको नाम आएकाले छानबिनको लागि अदालतबाट पक्राउ पुर्जी जारी गराइएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

आरोपित मेयर कानु परीक्षार्थी देखिएको र उनकै नामबाट परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेपछि नियमानुसार अनुसन्धान भइरहेको एसपी बुढामगरले जानकारी दिए ।

मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई परीक्षा दिइरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–६ पोठियाहीका इन्जिनियर कमल साहलाई पक्राउ गरेको थियो ।

इन्जिनियर साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौं तहमा कार्यरत स्थायी कर्मचारी हुन् । मेयर साहले आफूलाई परीक्षा दिन बोलाएको उनले स्वीकार गरेको प्रहरीको दाबी छ ।

मेयर साहको परीक्षा फर्म, रजिष्ट्रेशन तथा अन्य कागजातमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।

उता, मेयर प्रेमलाल साहले आफूले एसईई परीक्षाको फर्म समेत नभरेको, नक्कली परिक्षार्थीलाई परीक्षा दिन नलगाएको अवस्थामा कसैले आफूलाई फसाउने नियतले षड्यन्त्र गरेको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप