शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक : प्रमुख दल विभाजित

सोमबार, २७ चैत २०७९, १८ : ०७
सोमबार, २७ चैत २०७९

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसदमै छलफल गरेर पारित गर्ने कि विषयगत समितिमा छलफल गरेर पारित गर्ने भन्ने विषयमा सत्तारुढ र प्रतिपक्ष दल दुई धारमा देखिएका छन् ।  

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ संसदमा विचाराधीन अवस्थामा रहेको छ । यो विधेयकलाई सत्तारुढ दलहरुले प्रतिनिधि सभामै सामान्य छलफल गरेर पारित गर्ने प्रयास गरिरहेका छन् भने प्रतिपक्ष दलहरु विषयगत समितिमा छलफल गरेर मात्रै पारित गर्नुपर्ने अडानमा रहेका छन् । 

सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले विधेयकलाई फास्टट्रयाकबाट पारित गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाको १५ वर्ष बितिसक्दा पनि सो विधेयक पारित हुन नसकेको भन्दै अब पारित गर्नमा अलमल गर्नु नहुने बताए ।  

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले समितिमा घनिभूत छलफल गरेर मात्रै सो विधेयक पारित गर्नुपर्ने बताए । समितिमा दफावार छलफल गरेर मात्रै पीडितलाई न्याय दिलाउन सकिने उनले बताए । उनले फास्ट ट्रयाकमा पारित गर्ने कुरामा आफुहरु सहमत हुन नसक्ने बताए ।   । 

नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले जति छलफल गर्नुपरे पनि संसदमै छलफल गरेर पारित गर्नुपर्ने पक्षमा आफूहरु रहेको बताए । समितिमा पठाउँदा धेरै समय लाग्ने भएकाले संसदबाटै पारित गर्दा राम्रो हुने उनको भनाई छ । 

यद्यपि सहमतिका लागि मध्यमार्गी बाटो अपनाउन सकिने उनले उल्लेख गरे । सबै राजनीतिक दलहरुको प्रतिनिधित्व गरेर संसदभित्रै एउटा समिति बनाएर सहमतिमा विधेयकलाई टुंग्याउनुपर्ने उनले बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप