आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङका अति विपन्न बिरामीहरूलाई सांसद शर्माले मिलाए एक वर्षसम्म निःशुल्क उपचारको व्यवस्था

सोमबार, ०४ वैशाख २०८०, १९ : ०८
सोमबार, ०४ वैशाख २०८०

खोटाङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक वर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न बिरामीहरूलाई काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । 

ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न बिरामीलाई निःशुल्क र विपन्न बिरामीलाई विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् ।

यो विषयमा केएमसी र केपिलासगढी गाउँपालिकाबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रबन्धक नारायण दाहाल तथा केपीलासगढी गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् । केपिलासगढीका अति विपन्न बिरामीलाई केएमसीमा १०० प्रतिशत सम्म छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यस्तै, गाउँपालिकाले सिफारिस गरेर पठाएका विपन्न बिरामीले पनि सहुलियत दरमा उपचार पाउनेछन् । 

ओपीडीमा आएका विपन्न बिरामीले २५ प्रतिशत छुट पाउनेछन् । भर्ना भई उपचार गराउनु पर्ने अवस्थाका बिरामीलाई केएमसीले ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार एमआरआई, सीटीस्क्यान, शल्यक्रिया लगायत सबै किसिमको उपचारमा बिरामीले छुट पाउनेछन् । न्यून आय भएका र उपचार गराउँन नसकिरहेका विपन्न बिरामीलाई उपचारमा सहजता प्रदान गर्न छुटको व्यवस्था गरिएको डा.शर्माले बताए । ‘खोटाङको दुर्गम क्षेत्र केपिलासगढीका बिरामीहरूलाई उपचारमा सहयोग गर्न आगामी एक वर्ष सम्मका लागि सम्झौता गरिएको छ, त्यसपछि पनि सम्झौता थप हुन सक्छ,’ डा.शर्माले भने ।

यसैबीच, केपिलासगढी गाउँपालिका र केएमसीको सहकार्यमा गाउँपालिकाको केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सोमबार केपिलासगढीका १ हजार ३ सय ५६ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, १४२ जनाको रक्त परीक्षण र ८९ जनाको इसीजी गरिएको छ । केपिलासगढीको शिविर सकिएपछि बुधबार रावावेसीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केएमसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप