शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

कर्णालीमा एमालेको ‘मिसन ग्रासरुट’ : रुपान्तरणको झिनो आशा !

बुधबार, ०६ वैशाख २०८०, १८ : ४२
बुधबार, ०६ वैशाख २०८०

सुर्खेत । नेकपा एमालेले ६ फागुनबाट कर्णालीमा सुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ मंगलबार समीक्षा गर्दै सम्पन्न भएको छ । 

५ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’ बाट देशैभर एकसाथ ‘मिसन ग्रासरुट’ अभियानको उद्घाटन गरे पनि कर्णालीका केही जिल्लामा ढिलो गरी सुरु भएको थियो ।

जनताको अवस्था बुझ्ने, तल्लो तहमा पार्टीको अन्तर्विरोधलाई साम्य पार्ने लगायतका काम गर्ने उद्देश्यसहित सञ्चालित अभियान प्रभावकारी रूपमा सम्पन्न भएको नेताहरुले बताएका छन् । ‘मिसन ग्रासरुट’ अभियानको सोमबार र मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरको सिद्धार्थ होटेलमा समीक्षा कार्यक्रम गरिएको छ ।

समीक्षा कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी थिए । सोमबार बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा कर्णालीका १० जिल्लामा खटाइएका प्रतिनिधिहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

कर्णालीमा ४१ जना प्रतिनिधिलाई कम्तीमा ३–३ पालिका हेर्ने गरी खटाइएको थियो । यस्तै अनुगमन समितिको संयोजकको रूपमा पार्टी सचिव भट्टराई, प्रदेश इञ्चार्ज यामलाल कँडेल, गोरख बोगटी, शिवमाया तुम्बाहाङ्फे लगायतका नेताहरु थिए ।

७१८ वडा रहेको कर्णालीमा २०९ जना प्रदेश कमिटी सदस्यलाई खटाइएको थियो । समीक्षा कार्यक्रममा प्रत्येक प्रतिनिधिले रिपोर्ट सुनाएका थिए । विषेशगरी जनतामा एमाले अझै पनि लोकप्रिय पार्टी रहेको तर, विभिन्न अन्तरविरोधका कारण पार्टी कमजोर भइरहेको निष्कर्ष प्रतिनिधिहरुले सुनाएका थिए । प्रतिनिधिहरुले ‘मिसन ग्रासरुट’ प्रभावकारी भएको दाबी गरे पनि केही जिल्लामा कमजोर रहेको कार्यक्रममै सहभागी कतिपय कार्यकर्ताहरुले बताएका थिए ।

‘होलबडी चेकअप’ गर्न सकियो त ?

एमालेले ‘मिसन ग्रासरुट’ अर्थात् ‘होलबडी चेकअप’ भनेर यो अभियानलाई परिभाषित गरेको छ । अरु बेला कर्णालीलाई उपेक्षा गर्ने एमालेका केन्द्रीय नेताहरु समेत यो अभियानको बीचमा कर्णाली धाइरहे । ०७९ को स्थानीय र आम निर्वाचनमा कर्णालीमा एमाले पछि परेपछि नेताहरु कर्णालीतर्फ केन्द्रित देखिएका हुन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ शून्यमा झरेको एमालेले प्रदेशसभामा समेत कमजोर बन्यो । अर्कोतर्फ कर्णालीमा एमाले जनतामा लोप्रिय रहे पनि संसदीय राजनीतिमा कमजोर रहेको विषयले समेत केन्द्रको ध्यान तानेको कार्यक्रममा सहभागी एक नेताले रातोपाटीलाई बताए ।

कर्णालीमा पार्टीभित्र अन्तरविरोध भित्रभित्र फैलँदो छ । ‘पार्टी केन्द्रले जहिले पनि कर्णालीलाई उपेक्षा गर्दै आइरहेको छ,’ ती नेताले भने, ‘पार्टी भित्र र संसदीय राजनीतिमा समेत एमालेलाई उपेक्षा गरिएको छ । मिसन ग्रासरुट अभियानले केन्द्रमा समेत एमाले सशक्त रुपमा अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।’

कर्णालीका पूर्व सामाजिक विकास मन्त्री एवं एमाले केन्द्रीय सदस्य दल रावलले अभियानले केही रुपमा पार्टीभित्रको अन्तरविरोध हल भएको बताए । ‘यो नै अन्तिम होइन, यस्तै अरु अभियान पनि सञ्चालन गर्नुपर्छ भन्ने माग तल्लो तहमा छ,’ रावल भन्छन्, ‘यो अभियान पार्टी सुदृढीकरण मात्र नभई आर्थिक, सामाजिक र समृद्धिसँग पनि जोडिएको थियो । जनताका समस्या के हुन्, सामाजिक परिवर्तनका एजेण्डा पनि छन्, त्यो पनि पार्टीले बोक्नुपर्छ भन्ने आवाज उठेका छन् ।’ अभियानले केही रुपमा रुपान्तरणको आशा दिएको रावल बताउँछन् ।

कर्णालीको संगठनलाई पार्टी केन्द्रले अलिकति प्राथमिकताका साथ हेर्नुपर्छ भन्ने कुरा समीक्षा कार्यक्रममै उठेको थियो । रावल थप्छन्, ‘कर्णालीले लामो इतिहास कम्युनिस्ट आन्दोलनमा खर्चिएको छ, साथै एमालेकै इतिहासमा पनि राम्रा उपलब्धि हासिल गर्दै आएको छ । तर, राष्ट्रिय राजनीतिमा कर्णालीबाट एमालेको उपस्थिति केही कमजोर पक्कै देखिन्छ नै ।’

स्कुल विभाग सदस्य एवं जुम्लामा खटाइएका गेहेन्द्र प्रसाद दाहालले अभियानले केही सार्थकता पाएको दाबी गरे । जनता र दलबीचको दुरीनै प्रमुख समस्याका रुपमा आएको उनको ठम्याइ छ । त्यसैले सकेसम्म राजनीतिक दल जनताको बीचमा रहनुपर्ने दाहालको भनाइ छ । उनी भन्छन्, ‘कर्णालीलाई समृद्ध बनाउने कुरा खाली गफमात्रै भयो, बस्तुगत समस्या के हुन् भन्ने कुराहरु दलका प्राथमिकतामा परेको देखिएन । हाम्रो अभियानका क्रममा यी कुराहरु भेटिए ।’

रुपान्तरणको आशा

एमाले प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाहले ‘मिसन ग्रासरुट’ अभियानले रुपान्तरणको आशा दिएको बताए । एमाले जनतामा आधारित पार्टी हो भन्ने सन्देश समेत दिएको उनको भनाइ छ ।

‘यो कुरा हामीले भनेरमात्र हुँदैन, खास जनतामा छ कि छैन भनेर हामी एउटा अभियान मार्फत जनतामा गएका थियौं,’ उनले भने, ‘अझै पनि एमालेप्रति जनताको ठुलो आशा रहेको पाइयो ।’

अभियानले रुपान्तरणसँगै एमाले वैचारिक र संगठित पार्टी हो भन्ने सन्देश दिन खोजेको शाहको भनाइ छ । अभियानको प्रदेश संयोजक तोकिएका एमाले सचिव योगेश भट्टराईले राष्ट्रिय राजनीतिमा एमालेभित्र कर्णालीको बलियो उपस्थिति गराउने कुरामा केन्द्रीय कमिटी अग्रसर हुने आश्वासन दिए । उनले ‘मिसन ग्रासरुट’ले पार्टीका कार्यकर्ता र नेताहरुबीचका अन्तरविरोधलाई केही रुपमा भए पनि अन्त्य गर्न सकेको बताए ।

‘कर्णाली वास्तवमा हरेक कोणबाट पछि छ, यसको विकास र समृद्धिका लागि पनि एमालेले कर्णाली र केन्द्रमा बहुमतको सरकार बनाउनुपर्छ,’ उनले थपे, ‘त्यो अभियानमा हामी सक्रिय छौँ । हामी चुनाव सकिए पनि गाउँमा जाँदा जनताले चुनाव त सकियो, फेरि गाउँमा किन आउनुभयो भनेरसमेत सोधे । वास्तवमा दलहरु भनेको जनताको पक्षमा अग्रसर हुनुपर्छ भन्ने सन्देश यो अभियानले दिएको छ ।’

अभियानका क्रममा एमालेबाटै रुपान्तरणको आशा जनतामा पाइएको उनको भनाइ छ । भट्टराईको विचारमा कर्णाली पछि हुनुमा कर्णालीकै केही व्यक्ति जिम्मेवारी छन् । साधन, स्रोत ती सीमित व्यक्तिका हातमा मात्र रहेका कारण कर्णाली केही पछि परेको उनको भनाइ छ ।

उनले भने, ‘कहाँ कति के काम भयो ? त्यो अझै समीक्षाको विषय रहला नै तर, समग्रमा जनताको बीचमा अझ स्थापित र लोकप्रिय पार्टी एमाले हो भन्ने कुराको पुष्टि भएको छ ।’  

जनताले पार्टीहरुलाई गाली गरिरहेका बेला जनताले गाउँ, बस्ती र टोलसम्म चलाएको अभियानले केही रुपान्तरणकारी आशा पलाएको उनको भनाइ छ ।

‘एमालेको तरङ्ग लयमा किन सुनिँदैन ?’

समीक्षा कार्यक्रममा एकजना सहभागीले प्रश्न राखे, ‘कुनै समय एमालेले काँकडभिट्टामा सुसेल्दा त्यसको तरङ्ग तत्काल कञ्चनपुरमा गुञ्जिन्थ्यो । अहिले जिकज्याक किन ? एमालेको तरङ्ग लयमा किन सुनिँदैन ?

एमाले उपमहासचिव विष्णु रिमालले त्यसैको उत्तर अहिले एमालेले खोजिरहेको बताए । ‘फलानोले यस्तो ग¥यो, चिलानोले त्यस्तो ग¥यो र यस्तो भयो, हामीले खोजेको उत्तर होइन,’ रिमाल भन्छन्, ‘यसले हाम्रो सामर्थ्य चिनाउँदैन । जस्तोसुकै हावाहुरी चले पनि सतिसाल झैं ठिङ्ग उभ्याउनु सक्नुपर्छ ।’

रिमालले शक्ति र दाउपेच भन्दा पहिले आफ्नो शक्ति पहिचान गर्न सक्नुपर्ने तर्क राखे । अहिले एमाले आत्मपरीक्षणमा व्यस्त रहेको उनको भनाइ छ ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ अब पाँच वर्षपछि हुने चुनावमा एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउँछन् ।

एमाले महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियानले मुलुकमा एउटा तरङ्ग पैदा गरेको बताए । जनताको रोजाइको पहिलो पार्टी एमाले भएको बताउँदै पोखरेलले वर्तमान राजनीतिले स्थायित्व पूरा गर्न नसक्ने बताए ।

पोखरेलले एमालेलाई अब कार्यकर्ताको मन जोडेर हिँड्ने पार्टी बनाइने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप