शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

३० वर्षको उमेरमै कसरी ‘मोस्ट वान्टेड’ बने खालिस्तानी नेता अमृतपाल सिंह ?

आइतबार, १० वैशाख २०८०, ११ : २१
आइतबार, १० वैशाख २०८०

काठमाडौँ । भारतमा ‘मोस्ट वान्टेड’ का रुपमा ३६ दिनदेखि प्रहरीले खोजी गर्दै आएका खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । ‘वारिस पञ्जाव दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको हो ।

पञ्जाव प्रहरीले आफ्नो ट्वीटर ह्यान्डलबाट दिएको जानकारी अनुसार सिंहलाई पञ्जावकै मोगाबाट गिरफ्तार गरेएको हो । यस अघि विभिन्न सहरमा भेष परिवर्तन गरेर उनी लुकीछिपी बस्दै आएको भनिए पनि प्रहरीले उनलाई फेला पार्न सकेको थिएन ।

उनको खोजीमा भारतका विभिन्न राज्यमा प्रहरीले ‘सर्च अपरेशन’ चलाएको थियो । उनका विरुद्ध तीन मुद्दा दायर छन्, जसमा दुई वटा मुद्दा ‘घृणा फैलाउने अभिव्यक्ति’सँग सम्बन्धित छ ।

३० वर्षीय अमृतपाललाई केही अघिसम्म जनरल सिंह भिंडरावालेको दोस्रो अध्यायका रुपमा चर्चा गरिन्थ्यो । भिंडरावालेले १९८० को दशकमा सिखका लागि पृथक देश ‘खालिस्तान’को माग अघि सारेका थिए, जसले सिङ्गो पञ्जावमा हलचल ल्याएको थियो ।

अमृतपाल सिंहले पनि भिंडरावालेकै शैलीमा ठुलो पगडी लगाउने र भिडलाई उक्साउने अभिव्यक्ति दिँदै आएको बताइन्छ ।

२९ सेप्टेम्बर २०२२ मा ‘वारिस पञ्जाव दे’ संगठनको पहिलो स्थापना दिवसका अवसरमा मोगा जिल्लाको रोडे गाउँमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम आयोजना हुने स्थलसमेत रणनैतिक हिसाबले चयन गरिएको बताइन्छ । किनकि उक्त गाउँ जनरल सिंह भिंडरावालेको पैतृक गाउँ हो । सोही कार्यक्रममा अमृतपाललाई संगठनको प्रमुख नियुक्त गरियो । त्यतिबेला अमृतपालले भिंडरावालेकै शैलीमा नीलो पगडी लगाउने र आफ्नो सेतो पोशाकमा सानो कृपाण राख्ने गरेका थिए । उनका भड्काउपूर्ण अभिव्यक्तिले पनि भिंडरावालेकै झल्को दिन्थ्यो ।

अमृतपाल सिंह कसरी आए चर्चामा ?

अमृतपाल सिंहले सञ्चालन गरेको संस्था ‘वारिस पञ्जाव दे’ त्यसअघि कलाकार तथा अभियन्ता दीप सिद्धुले सञ्चालन गर्दै आएका थिए । १५ फेब्रुअरी २०२२ मा सडक दुर्घटनामा उनको मृत्यु भयो । केही अघिमात्र दुबईबाट आएका अमृतपाल सिंहले त्यसपछि सो संस्थाको नेतृत्व सम्हाले । उनले किसान आन्दोलनमा रुची देखाए । त्यसपछि ‘वारिस पञ्जाव दे’ संगठनको वेबसाइट बनाए र मानिसलाई त्यसमा जोड्न सुरु गरे ।

सूरी हत्याकाण्डपछि नाम चर्चामा

अमृतपाल सन् २०१२ मा दुबई गएका थिए । त्यहाँ उनले ट्रान्सपोर्टको कारोबार थाले । उनले सुरुवाती शिक्षा आफ्नै गाउँको विद्यालयबाट हासिल गरे । १२ कक्षासम्मको पढाइ गरेका उनको नाम गत वर्ष पञ्जावका शिवसेना नेता सुधीर सूरीको हत्याकण्डमा मुछियो । सूरी परिवारले हत्याकाण्डमा अमृतपाल सिंहको नाम समावेश गर्न माग गरेको थियो । त्यसपछि प्रहरीले अमृतपाललाई मोगामा नजरबन्द गरेको थियो ।

बेलायतमा बस्दै आएकी युवतीसँग बिहे

अमृतपाल सिंह अमृतसर नजिकै रहेको जल्लुपुर खेडा गाउँ निवासी हुन् । उनले १० फेब्रुअरीमा आफ्नो पैतृक गाउँमै सामान्य समारोह आयोजना गरेर विवाह गरे । उनले बेलायतमै बस्दै आएकी भारतीय युवती किरणदीप कौरसँग विवाह गरेका थिए । किरणदीपको परिवार केहीअघि देखि बेलायतमा बस्न थालेको हो ।

प्रहरी चौकीमा हमला

पञ्जावको अमृतसरमा २३ फेब्रुअरीमा अमृतपाल सिंहका समर्थकले अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । सो घटनामा ६ प्रहरी घाइते भए । अमृतपालका अनुसार उनका एक सहयोगीलाई केही अघि प्रहरीले गिरफ्तार गरेको थियो । लवप्रित तुफान नाम गरेका ती व्यक्तिको रिहाइका लागि यसरी उग्र प्रदर्शन गरिएको थियो । स्थिति सामान्य बनाउन प्रहरीले तुफानलाई रिहा गरिदियो तर त्यसपछि अमृतपाल र उनका सहयोगीलाई कारवाहीको दायरामा ल्याउन ‘एक्सन प्लान’ तयार गर्न थाल्यो ।

रुपनगर जिल्लाको चमकौर साहिव निवासी वरिन्दर सिंहलाई कथित रुपमा अपहरण गरेको र कुटपिट गरेको आरोपमा प्रहरीले अमृतपाल सिंह र उनका सहयोगीविरुद्ध मुद्दा दायर ग¥यो । प्रहरीले उनका सहयोगीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो । घरेलु हतियार लिएर अमृतपाल सिंहको नेतृत्वमा ठुलो संख्यामा उनका समर्थक प्रहरी कार्यालयमा प्रवेश गरे । ठुलो संख्यामा प्रहरी तैनाथ रहेका कारण उनका समर्थकहरु प्रहरी कार्यालय मै धर्नामा बसे ।

अमृतपालविरुद्ध समाजमा शत्रुता फैलाएको, हत्या प्रयास गरेको, प्रहरीमाथि हमला गरेको र सरकारी काममा बाधा सिर्जना गरेको आरोप छ ।

केही समयअघि उनी नेपालमा आएर लुकेको भन्नेबारे चर्चा समेत भएको थियो । 

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप