शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

कांग्रेसले हार्‍यो प्रतिष्ठाको लडाइँ

मङ्गलबार, १२ वैशाख २०८०, २१ : ४१
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस प्रतिष्ठाको लडाइँमा पराजित भएको छ । वैशाख १० मा सम्पन्न तनहुँ–१ र चितवन–२ को उपनिर्वाचनमा कांग्रेसले नमिठो हार बेहोरेको हो । नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको गढ मानिने तनहुँ–१ मै धावा बोलेको छ ।

गत चैत १६ मा कांग्रेस छाडेर रास्वपा छिरेका डा.स्वर्णिम वाग्ले भारी मतान्तरले तनहुँ– १ बाट निर्वाचित भए । रास्वपाका उम्मेदवार वाग्लेसँग कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई १४ हजार ७ सय ९७ मतान्तरले पराजित भए ।

वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार भट्टराईले २० हजार १२२ मत मात्र पाए । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदा राप्रपाकी उम्मेदवार शोभा गुरुङले २१८ मत मात्र पाएकी छिन् । 

मङ्सिर ४ को चुनावमा तनहुँ–१ मा कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले ६ हजार ६ हजार ८८६ मत पाउँदा रास्वपका विकास सिग्देलले ६ हजार ४ मत ल्याएका थिए ।

अहिले जोशी समूहको साथ पाएको रास्वपाले कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतको २२ हजार २२९ मत बटुलेको छ । माओवादी, एकीकृत समाजवादी, जनमोर्चा, जसपा र नेसपाको साथ पाएको कांग्रेसले मङ्सिरमा पाएको मध्ये ५ हजार २ सइ २३ मत गुमाएको छ । रास्वपाले संगठित कार्यकर्ता रहेको एमालेबाट ११ हजार ४ सय ९३ मत खोसेको छ । यस्तै राजावादी राप्रपाको २ हजार २५० मत पनि रास्वपाले बटुलेको देखिन्छ ।

एमाले र राप्रपाको तुलनामा कांग्रेसले आफ्नो अधिकांश मत जोगाए पनि रास्वपाको वाग्लेलाई रोक्न असफल भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ– १ मा भएको उपचुनाव कांग्रेसका लागि प्रतिष्ठानको लडाइँ थियो । 

चैत २० मा उम्मेदवारी मनोनयन दर्ताका लागि कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ पठायो । त्यसपछि महामन्त्री गगन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्माको साथमा तनहुँ पुगे । दमौलीको चुनावीसभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गरे । त्यसपछि उनीहरू ४ दिन तनहुँमै बसे ।

कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका वर्तमान र पूर्व पदाधिकारी अधिकांश तनहुँ पुगे । कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीसहित गठबन्धन सम्बद्ध दलका शीर्ष नेतालाई लिएर तनहुँ पुगे । 

कांग्रेसको सम्पूर्ण शक्ति तनहुँ केन्द्रित हुँदा पनि गोविन्दको पराजय रोकिएन । उपचुनावमा केन्द्रका नेता तनहुँ खादिँदा तनहुँ कांग्रेसका केही नेता रास्वपाको चुनावी प्रचारमा व्यस्त थिए । पूर्वसहमहान्त्री गोविन्दराज जोशीलाई पार्टीमा फर्काउन कांग्रेसले कारबाही फुकुवा गरे पनि अन्तिममा उनी रास्वपातिर लागे । तनहुँ कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोला वाग्लेको चुनावी कमान्डर बने ।

आँबुखैरनी नगरपालिकाका, सभापति विष्णु पन्त, कांग्रेस कार्यकर्ताहरू रोशन परियार, राजु दाहाल, डा. शेषनारायण न्यौपाने, देवघाटका तरुण दलका पूर्व सभापति बलबहादुर क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ लगायत पनि वाग्लेलाई जिताउने लागे । रास्वपाको चुनावी लहरमा आफ्ना नेता–कार्यकर्ता बगेपनि गठबन्धनको बलमा चुनाव जित्ने कांग्रेसको रणनीति थियो । यसपटक तनहुँ–१ मा गठबन्धन पनि पूर्ण असफल सिद्ध भयो ।

चितवन–२ मा रास्वपाका सभापति रवि लामिछानेले ४२ हजार ९ सय ६२ मतान्तरसहित विजयी भएका छन् । लामिछानेले ५४ हजार १७६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार २१४ मतमा सीमित भए । यता एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए ।

मङ्सिर ४ को चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । कांग्रेसले ३ हजार ७७४ मत गुमाउँदा एमालेको ३ हजार ७ सय १६ मत हराएको छ । कांग्रेसले एमालेको भन्दा ५८ मत बढी गुमाएको देखिन्छ ।

जितनारायणको उम्मेदवारी मनोनयनमा चितवनमा महामन्त्री शर्माले कांग्रेसले १८ हजार मत फर्काएको अभिव्यक्ति दिएका थिए । महामन्त्री शर्माले पार्टीको विद्रोही समूहलाई मिलाएका पनि थिए । गत स्थानीय र आम निर्वाचनमा चितवनका प्रभावशाली नेताहरू पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गर्दै कांग्रेस उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आग्रह गरेका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाहीमा फुकुवा भएको थियो । पूर्व सांसद जगनाथ खतिवडा बाहेक सबै जसो कांग्रेसमा फर्किएका थिए । मङ्सिर ४ मा भोजपुरका उमेश श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाइएकोमा कांग्रेसभित्र असन्तुष्टि थियो । स्थानीय र युवा नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउँदा पनि रविले मतको सुनामी ल्याइदिए ।

‘फेस भ्यालु’ भएका महामन्त्रीद्वयको चुनावी दौडधुप रवि र स्वर्णिम वाग्लेका अगाडि फिक्का भइदियो । मङ्सिर ४ मा काठमाडौँ ४ र झापा–१ बाट सान्दार मतसहित विजयी भएका महामन्त्रीद्वय थापा र शर्माको उपनिर्वाचनमा कुनै जोर चलेन । मङ्सिरमा एमालेका महासचिव शंकर पोखरेल र माओवादीमा महासचिव देव गुरुङ चुनाव हार्दा कांग्रेसका दुवै महामन्त्री चुनाव विजयी भए । तर उनीहरू उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ मा कांग्रेसको हार टार्न असफल भए । गठबन्धन पनि कांग्रेसका लागि बेकामे साबित भयो ।

बारा–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार जसापाका अध्यक्ष उपेन्द्र यादव जित उन्मुख हुँदा कांग्रेसका लागि प्रभावी रहेन । राजनीतिक विश्लेषण कृष्ण खनालले भने उपनिर्वाचनको परिणामलाई पुराना दलको नेतृत्वमाथि मतदाताको कठोर निर्णयका रूपमा अर्थ्याउँछन् । 

उपनिर्वाचनमा नयाँ दलप्रति मतदाताको रुझान सघन रूपमा देखिएको बताए । ‘अघिल्लो चुनावमा मतदाताले यो पार्टी त्यो पार्टी नभनी पुराना दलबाटै पनि केही राम्रा युवाहरू खोजेको देखिन्छ । काठमाडौँमा रास्वपाको लहरका बाबजुद कांग्रेसका प्रदीप पौडेल र गगन थापा विजयी भएको उदाहरण लिन सकिन्छ,’ उनी भन्छन्, ‘त्यसबेला कांग्रेस एमालेका युवाहरूलाई एक हदसम्म स्वीकार्न सकिन्छ भन्ने देखिन्थ्यो । तर यसपटक त्यो भन्दा पनि मतदातामा त्यो रुझान सघन रूपमा देखियो ।’ 

तनहुँमा स्वर्णिमभन्दा गोविन्द भट्टराईको अवस्था राम्रो देखिए पनि पार्टीको नेतृत्वलाई जवाफ दिने गरी परिणाम आएको उनको बुझाइ छ । ‘उपनिर्वाचनको परिणामले कांग्रेस, एमाले र माओवादी नेतृत्व मङ्सिरको नतिजाबाट पनि सच्चिएका छैनन्,सच्चिन तयार छैनन् र सुधार हुँदैनन् र मतदाता उनीहरूलाई रिजेक्ट गर्न चाहन्छन् भन्ने देखाउँछ । नेतृत्वकै परिवर्तन खोजिएको छ ,’ उनी भन्छन् ।

यस्तै अर्का राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार मङ्सिरको निर्वाचनमै मतदाताले पुराना दललाई सच्चिन सङ्केत दिएका थिए ।

‘उनीहरू सच्चिनतिर भन्दा पनि सक्किनतिर गएको यो मत परिणामले भन्छ । नेतृत्व हस्तान्तरण गर्न र परिवर्तनको एजेन्डा ल्याउन उनीहरू तयार भएनन्,’ उनले भने, ‘यही प्रवृत्ति रहे पुराना भन्दैमा भविष्य छैन । आगामी निर्वाचनमा यो भन्दा ठुलो सर्मनाक हुनेछ भन्ने सङ्केत गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप