शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

पुराना दललाई प्रश्न : उपनिर्वाचनको परिणामले ‘घण्टी’ बजेकै हो ?

मनोवैज्ञानिक रूपमा ठुलो सन्देश दिएको छ :  देवेन्द्र पौडेल
मङ्गलबार, १२ वैशाख २०८०, २० : ५०
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तनहुँ  १ र चितवन २ गरी दुई निर्वाचन जितेपछि ठूला दलहरू झस्किएका छन् । भर्खरै गठन भएको रास्वपाले ठूला दल मात्रै नभई गठबन्धन गरेका उम्मेदवारलाई समेत पराजित गरेपछि स्थापित दलहरू सोच्न बाध्य भएका हुन् ।

तनहुँ १, चितवन २ रास्वपाले जितिसकेको छ भने बारा २ मा जनता समाजवादी पार्टी(जसपा)ले जित्ने गरी अग्रता लिएको छ । यस चुनावमा रास्वपाले एक सिट बढाएको छ भने काँग्रेसले एक सिट गुमाएको छ । जसपाले यसअघि जितेको क्षेत्र गठबन्धन गरेर जित्ने गरी अग्रता लिएको छ । 

तर, काँग्रेसका केन्द्रीय सदस्य एवम् तनहुँ १ निर्वाचन क्षेत्रका चुनावी कमान्डर शंकर भण्डारीले उपनिर्वाचनका विषयमा मसिनो र गहिरो गरी  विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको बताए । 

जनतामा दलहरूप्रति असन्तुष्टि बढेकाले दलहरूले आफ्नो काम कारबाही र तौरतरिका बदल्नुपर्ने भण्डारीको धारणा छ । ‘तनहुँको सन्दर्भमा गठबन्धनबाट पर्याप्त सहयोग भएन । एमालेले धेरै भोट घण्टीलाई दियो । गत मङ्सिरको चुनावमा  १९ हजार भन्दा बढी मत ल्याएको थियो । अहिले प्रत्यक्षमा ८ हजार ५ सय मत मात्रै एमालेले ल्यायो’ भण्डारीले भने, ‘पार्टीभित्र साथीहरूले पर्याप्त सहयोग गरेनन् । पार्टीको यसअघि समानुपातिक मत राम्रै भए पनि अहिले राम्रो आउन सकेन ।’ 

अहिलेको पार्टीको कार्यशैली परिवर्तन गरी पार्टीको नीति, विचार र सिद्धान्त बमोजिम अघि बढ्नुपर्ने भण्डारीले जिकिर गरे । 

तर, एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले १६५ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्र रास्वपाले जित्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् । 

‘यो चुनावमा अराजक, अराजनीतिक युवा पङ्क्ति लाग्यो, त्यसमा थोरै सजक हुनुपर्ने देखियो । मुलुकलाई कस्तो बनाउने भन्ने भिजन पनि छैन । देशको विकास निर्माण गर्ने कुनै योजना र कार्यक्रम छैनन् । मुलुकको सुशासन भ्रष्टाचार नियन्त्रण गर्न कुनै नीतिगत योजना छैन’ उपमहासचिव गुरुङले भने, ‘रास्वपा नो फिलोसोफी, नो आइडोलोजी, नो प्रोग्राम, नो पोलिसी भएर भोट पाइरहेको छ । यस्तो प्रवृत्तिलाई रोक्नैपर्छ ।’ 

यस्तै, नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पुराना भनिएका दलहरूले धेरै क्षेत्रमा रिथिङ्क गर्नुपर्ने अवस्था देखिएको बताए । 

‘हिजो अधिकार प्राप्तिका बेला बोलेका कुराहरू बिक्ने स्थिति छैन । पछिल्लो पुस्ता के चाहन्छन् ? के के  एजेन्डा लिएर जानुपर्छ ? भन्ने एजेन्डा बोक्न सक्ने दलको खाँचो छ’ सचिव पौडेलले भने, ‘पुराना भनिएका दलले कार्यशैली, कार्ययोजना र सोचाई परिवर्तन गर्नुपर्छ ।’ 

उता, जसपा प्रवक्ता मनिष सुमनले पुराना भनिएका काँग्रेस, एमाले, माओवादी भनिएका दलहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने देखिएको बताए । तर जसपाको सवालमा जनताले मत दिएर वैकल्पिक शक्तिको रूपमा स्थापित गरेको सुमनको दाबी छ ।

यस्तै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उपनिर्वाचनमा जनताले गठबन्धन मन नपराएको बताए । 

‘उपनिर्वाचनको परिणामले गठबन्धन मन पराइएन । फरक राजनीतिक विचार सिद्धान्त मान्ने पार्टीहरू जसरी पनि चुनाव जित्नुपर्छ भन्नेहरू त्यसलाई जनताले अनुमोदन गरेनन्’ प्रवक्ता श्रेष्ठले भने, ‘यद्यपि बाराको परिस्थिति फरक भयो ।’ 

तर, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री उपनिर्वाचनले बिहानीले दिउँसोको संकेत गरेजस्तै दलहरूले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने देखिएको बताइन् । 

प्रस्तुत छ, नेताहरूको विस्तृत भनाई जस्ताको तस्तैः

‘जनतामा दलहरूप्रति असन्तुष्टि बढेकै हो’  

शंकर भण्डारी, केन्द्रीय सदस्य एवम पूर्व मन्त्री, नेपाली काँग्रेस 

उपनिर्वाचनको विषयमा मसिनो र गहिराइमा गएर विश्लेषण गर्नुपर्ने देखियो । तनहुँको सन्दर्भमा गठबन्धनबाट प्राप्त सहयोग भएन । एमालेले धेरै भोट घण्टीलाई दियो । गत मङ्सिरको चुनावमा  १९ हजार भन्दा बढी मत ल्याएको एमाले । अहिले प्रत्यक्षमा ८ हजार ५ सय मत आएको छ । पार्टीभित्र साथीहरूले पर्याप्त सहयोग गरेनन् । 

यसअघि मङ्सिरको चुनावमा समानुपातिकमा राम्रै मत आएकोमा अहिले त्यति राम्रो मत आएन । दलहरूप्रति असन्तुष्टि बढेकै छ । हामीले हिजो जनताको जनजीविकासँग जोडिएका र हामीले पु¥याएका योगदानको राम्रोसँग प्रचारप्रसार हुन सकेन । 

रास्वपाका उम्मेदवार कस्ता हुन् ? के हुन् भन्ने विषयमा जनतालाई बुझाउन सकिएन । यी सबै परिस्थितिले गर्दा परिणाम हाम्रो पक्षमा हुन सकेन । 

हामी पुरानै ढंगले चलेर हुँदैन भन्ने सन्देश दिएको छ । काँग्रेस आफ्नो विचारमा सुदृढ गरेर जानुपर्छ । संविधानमा जे जस्ता व्यवस्था गरिएका छन्, त्यसलाई कार्यान्वयनमा लग्नुपर्छ । पार्टी स्थापना कालदेखि अँगाल्दै आएको नीति, सिद्धान्त र विचारलाई पुनर्विचारका साथ लिएर अघि बढ्नुपर्छ । 

पार्टीको संगठन समेत अस्तव्यस्त भएकाले व्यापक सुधारको आवश्यकता छ । पार्टीमा अनुशासन एकदमै कमजोर छ, अनुशासन कायम गर्नैपर्छ । बाह्य शक्तिको प्रभावको विषयमा समेत सबै सचेत हुनु पर्नेछ । 

‘यो चुनावमा अराजक र अराजनीतिक युवापंक्ति लागेको देखियो’ 

पृथ्वी सुब्बा गुरुङ, उपमहासचिव, नेकपा एमाले 

हामीले उपनिर्वाचनको समीक्षा गरेका छैनौँ । देशैभरका १६५ निर्वाचन क्षेत्रमा २ वटा क्षेत्र जित्दैमा चुनौती हुने भन्ने हुँदैन । भूपी शेरचनले भन्या जस्तै हल्लै हल्लाको देश हो यो । 

यो जुन अराजक, अराजनीतिक युवापंक्ति लाग्यो, त्यसमा थोरै सजग हुनुपर्ने देखियो । मुलुकलाई कस्तो बनाउने भन्ने भिजन छैन । देशको विकास निर्माण गर्न कुनै योजना र कार्यक्रम छैन । मुलुकको सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने नीतिगत योजना, नो फिलोसोफी, नो आइडोलोजी, नो प्रोग्राम, नो पोलिसी भएर भोट पाइरहेको छ । यस्तो प्रवृत्तिलाई रोक्नैपर्छ । 

एमाले आमजनताको आशा र भरोसा थियो । निर्वाचनमा बहुमत ल्याउन नसक्दा हामीले भनेको कुराहरू लागु गर्न सकेनौं । हामीले जनतालाई सन्तुष्ट बनाउने अवस्था बनेन । पुराना दलहरूले पुरानै ढंगले चलाएर हुने रहेनछ भन्ने पुष्टि भयो । अब नयाँ ढंगले सोच्नुपर्छ भन्ने भएपछि थोरै मत घण्टीमा गएको छ ।   

‘हामीले धेरै क्षेत्रमा रिथिङ्क गर्नुपर्ने देखियो’ 

देवेन्द्र पौडेल, सचिव, नेकपा माओवादी केन्द्र 

पुराना भनिएका स्थापित दललाई ठुलो चुनौती हो उपनिर्वाचनको परिणाम । यद्यपि हाम्रो दलबाट उम्मेदवार थिएनन् । यदि हाम्रो दलले उठाएको भए पनि त्यस्तै हुन्थ्यो । हिजो हामीले गरेको संघर्ष बलिदान भन्दा पनि नयाँपन खोजेको प्रतीत हुन्छ । अब हामीले धेरै क्षेत्रमा रिथिङ्क गर्नैपर्छ । 

हिजो अधिकार प्राप्तिका बेला बोलेका कुराहरू बिक्ने स्थिति छैन । पछिल्लो पुस्ताले के चाहन्छन् ? ती एजेन्डा लिएर जानुपर्छ । अहिलेको आवश्यकतालाई बोक्न सक्ने दलको खाँचो छ । पुराना भनिएका दलले कार्यशैली, कार्ययोजना र सोच परिवर्तन गर्नुपर्छ ।

तर, यो नतिजाले गठबन्धनलाई कुनै समस्या हुँदैन । गठबन्धनमा एक सिट घाटा भयो । नभए बराबर जस्तै हो । संसदीय अंकगणितमा तात्त्विक रूपमा ठुलै फेरबदल ल्याउँदैन तर मनोवैज्ञानिक रूपमा ठुलो सन्देश दिएको छ । 

‘जसपा वैकल्पिक शक्तिको रूपमा स्थापित देखियो’  

मनिष सुमन, प्रवक्ता, जसपा 

उपचुनावले काँग्रेस, एमाले, माओवादीलाई तनहुँ तथा चितवनको मतले पार्टी संरचना गर्नुपर्ने अवस्था देखाएको छ । पार्टीले गर्ने काम कारबाही र तौरतरिका सुधार गर्नुपर्छ भन्ने देखाएको छ । 

जसपाप्रति भने जनताले सकारात्मक रूपमा अभिमत प्रकट गरे ।  जसपा जनतामा एउटा लोकप्रिय पार्टीको रूपमा स्थापित भएको छ भन्ने पुष्टि भयो । 

पार्टीहरू आउँछन् जान्छन्, यो हुँदै जान्छ । हिजो नेपालमा भएका प्रजा परिषद्देखि  लिएर थुप्रै्र पार्टीहरू लोप भए । भारतको पश्चिम बंगालमा ३० वर्ष शासन गरेको कम्युनिस्ट पार्टी कहाँ गयो ? 

त्यसैले, अहिले हामीले पाएको जनादेशलाई सम्मान गर्नुपर्छ । जसपालाई समयअनुरूप रूपान्तरित गर्दै लग्दै जानुपर्छ । यो पार्टी वैकल्पिक शक्तिको रूपमा स्थापित भएको छ भन्ने देखियो । 

‘उपनिर्वाचनमा जनताले गठबन्धन मन पराएनन्’ 

मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा

उपनिर्वाचनको परिणामले जनताले गठबन्धन मन पराएनन् भन्ने देखियो । फरक राजनीतिक विचार सिद्धान्त मान्ने पार्टीहरू जसरी पनि चुनाव जित्नुपर्छ भन्नेहरू त्यसलाई जनताले अनुमोदन गरेनन् । 

यद्यपि बाराको परिस्थिति फरक भयो । तनहुँ जस्तो क्षेत्र जहाँ काँग्रेसको एकछत्र चुनाव जित्दै आएको थियो । जसले मुलुकको राष्ट्रपति समेत बनायो, त्यो क्षेत्रमा समेत काँग्रेस पराजित भयो । 

यसले पार्टी सञ्चालन गर्ने ट्रेन्ड बदल्नुपर्छ भन्ने देखियो । विगतको त्याग, तपस्या, बलिदान भन्दा पनि जनताप्रति निष्ठा त्यस अनुसारको कार्यक्रम चाहिएको छ । जनतासँग जोडिने जनसम्बन्ध खोजेको देखियो । म नै पार्टी हुँ मैले जे गरे पनि हुन्छ म लोकप्रिय छु भन्ने भ्रमबाट मुक्त हुनुपर्छ भन्ने देखियो । 

‘उपनिर्वाचन परिणामले बिहानीले दिउँसोको सङ्केत गरेजस्तै भयो’ 

रामकुमारी झाँक्री ,सचिव, नेकपा एकीकृत समाजवादी 

यो उपचुनावपछि पार्टीमा समीक्षा गरेर धारणा सार्वजनिक गरेपछि थाहा हुने हो । समाजको वास्तविकलाई जुनसुकै दलको नेतृत्वले बुझ्न सक्नुपर्छ । समाजको वास्तविकता जनताले के कुरा सोच्छ ? के अन्तर्क्रिया गर्छ ? के कुरामा छलफल गर्छन् भन्ने नै समाजको वास्तविकता हो । यो समाजको वास्तविकतालाई बुझ्ने नेतृत्वले प्रयास गरेन । पार्टीमा नेतृत्वले फुली लगाई दिन र खोसिदिन सक्थ्यो । 

जनसंख्याको बनोटमा परिवर्तनलाई आत्मसाथ गरेको पाइँदैन । हाम्रो समाजवादी पार्टीका नेताहरू पुरानै भए पनि नयाँ पार्टी बन्न सक्थ्यो । मैले जे जस्ता एजेन्डा र प्रस्ताव राखेको थिएँ । त्यो बोटोतर्फ पार्टी हिँड्न सकेन ।  

जनता र  कार्यकर्ताले नेतालाई भेट्नै नसक्ने भयो, सुख दुःख साट्नै नपाउने भयो । चिनियाँ कम्युनिस्ट पार्टीको जस्तो ठुलो पार्टीजस्तै हुन पुग्यो । नेताहरू बसेर पर्याप्त छलफल नगर्ने, निर्णय आफै गर्ने, आदेश दिने मात्रै भयो । अब हामी नसच्चिनुको विकल्प छैन । बिहानीले दिउँसोको सङ्केत गरे जस्तै उपनिर्वाचनले देखायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप