शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ कांग्रेसमा ‘जोशी’ गुटपछि ‘घण्टी’ गुटको उदय

कांग्रेस कति जोखिममा ?
सोमबार, ०४ वैशाख २०८०, १४ : २२
सोमबार, ०४ वैशाख २०८०

तनहुँ । ‘जय नेपाल’ भन्दै अघिल्ला चुनावमा तनहुँमा भोट माग्न हिँडेका कांग्रेसका केही कार्यकर्ता वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि ‘जय घण्टी’ भन्दै घरदैलो गरिरहेका छन् ।

रहरले भन्दा पनि बाध्यताले अहिले घण्टी बजाउँदै हिँड्नुपरेको कांग्रेसका पूर्व कार्यकर्ताहरूले सुनाए । कांग्रेसमा लामो समय काम गर्दा पनि स्थान नदिएको र पार्टीभित्र हेपाइमा परेको भन्दै एउटा समूह ‘घण्टी’ बजाउँदै स्वर्णिम वाग्लेको अघिपछि लागेका छन् ।

स्वर्णिम स्वयं पूर्वकांग्रेस नेता भएका कारण कांग्रेसका केही समूह उनीतिर लाग्नु स्वाभाविक भए पनि लामो समयदेखि गुटबन्दीको रोग लागेको तनहुँ कांग्रेसमा छद्म रूपमा ‘घण्टी’ गुटको घाउ लाग्ने देखिएको हो ।

खासगरी २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचन र गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई अन्तरघात गरेर कारबाहीमा परेका कांग्रेसका नेता कार्यकर्ताहरू स्वर्णिमतिर लागेका छन् । केही कार्यकर्ता खुलेर लागे पनि केही भने नदेखिने गरी लागेको पूर्वशिक्षकसमेत रहेका कांंग्रेस कार्यकर्ता रोशन परियार बताउँछन् ।

यसरी औपचारिक रूपमा पार्टीमै देखिने तर भित्री रूपमा रास्वपालाई समर्थन गर्ने ‘घण्टी’ समूह तनहुँमा उदय भएको हो । तनहुँको बानियाँगाउँमा भेट भएका कांग्रेस पूर्व कार्यकर्ता परियार भन्छन्, ‘कांग्रेसमा निष्ठाको राजनीति गर्नेहरू सबै यता आए । हामीहरू जस्ता कांग्रेसमा लामो समय त्याग गरेका मान्छे अहिले यता छौँ । म पार्टी नेतृत्व तहसँग खुला रूपमा असन्तुष्टि राखेर यतातिर लागेको छु ।’

दुई पटक कांग्रेसको तनहुँ जिल्ला सचिव रहेका विश्व बास्तोला रास्वपातिर लागेका छन् । परियार भन्छन्, ‘बास्तोलाजी यहाँको प्रभावशाली नेता हुनुहुन्छ, मभन्दा अलि पछिबाट उहाँले स्वर्णिमलाई साथ दिनुभएको छ ।’

बास्तोला अहिले स्वर्णिमको सारथि भएर प्रत्येक दिन चुनाव प्रचारको नेतृत्व गरिरहेका छन् । रास्वपाले केन्द्रबाट कवीन्द्र बुर्लाकोटीलाई चुनाव प्रचारको संयोजक बनाएर पठाए पनि जिल्लामा चुनाव प्रचारको मुख्य हर्ताकर्ता बास्तोला छन् । जिल्ला तहका अन्य नेताहरू देखिने गरी स्वर्णिमतिर नलागे पनि केही नेता नदेखिने गरी लागिपरेको परियारको दाबी छ ।

उनले भने, ‘विश्व बास्तोला देखिने गरी लाग्नुभयो तर मजस्ता धेरै साथीहरू नदेखिने गरी पनि लाग्नुभएको छ । कांग्रेसका कार्यकर्ताका रूपमा रहेका पूर्व शिक्षकहरू लाग्नुभएको छ । तनहुँमा हामी कांग्रेस कार्यकर्तालाई कुनै भाउ नै गर्दैनन् के । हामी त सबैभन्दा पछाडि पर्छौँ । अरू जिल्लामा हुने हो भने हामी जिल्ला हाँक्न सक्छौँ तर यहाँ हामीलाई धेरै पछाडि पारिएको छ ।’

उनले कांग्रेसले स्वच्छ छविको उम्मेदवार उठाए पनि जिल्लामा नेतृत्वले गरेको व्यवहारका कारण कांग्रेसमा जान नसकेको उनले बताए । उनले भने, ‘गोविन्द भट्टराई एकदम क्लिन नेता हो । धेरै वर्ष पार्टीमा काम गरेर पनि स्थान नपाउनुभएको व्यक्ति हो । पहिला विद्यार्थीमा भएको बेला नाम सुन्नुभएकै थियो होला । पार्टीमा दुःख गरेर पनि कहिल्यै कार्यकारी पोष्टमा नभएको मान्छे हो । तर अब हामी सँगै जान नसक्ने भएका छौँ ।’

तनहुँमा कांग्रेसमा रामचन्द्र पौडेल, शंकर भण्डारी र गोविन्दराज जोशीको गुट रहेको परियार बताउँछन् । पार्टीभित्र साना नेताको पनि सानो–सानो गुट रहेको उनले बताए ।

उनले भने, ‘अघिल्लो चुनावमा प्रदीप पौडेललाई हराउन ध्रुव वाग्लेको परिवारको भूमिका थियो । प्रदीप पौडेलले जम्मा ३ भोटले हार्दा ध्रुव वाग्ले परिवारका ७ जनाले भोट हाल्न नआएको अवस्था पनि छ । यस्तो गर्नुलाई चुनाव हराउनकै लागि भोट हाल्न नआएको भन्ने कि के भन्ने ?’

यसअघि नै कांग्रेसको कारबाहीमा परेका तनहुँ कांग्रेसका पूर्व सचिव विश्व बास्तोला रास्वपा तनहुँ क्षेत्र नम्बर १ को चुनाव प्रचारप्रसार समितिको संयोजक भएर काम गरिरहेका छन् ।

गतदेखि नै गोविन्दराज जोशी गुटले कांग्रेसलाई चुनौती दिइरहेका बेला अर्को गुटको जन्म हुनु कांग्रेसका लागि चुनौती थपिएको छ ।

उनले कांग्रेसका जिल्ला स्तरका पूर्व नेता, कार्यकर्ताहरू कोही देखिने गरी र कोही नदेखिने गरी रास्वपामा आएको दाबी गरे । आँबुखैरनी नगरपालिकाका सभापति विष्णु पन्त, कांग्रेस कार्यकर्ताहरू राजु दाहाल, देवघाटका तरुण दलका पूर्व सभापति बलबहादुर क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ लगायतका कांग्रेसबाट धेरै स्थानीय नेता कार्यकर्ता रास्वपामा आएको बास्तोलाले बताए । खुलेर लाग्दा पार्टीले कारबाही गर्ने भएका कारण अन्य व्यक्तिको आफूले नाम भन्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘कांग्रेसबाट मात्र हैन, कम्युनिस्टबाट पनि धेरै साथी आउनुभएको छ । अहिले आफ्नो पार्टीमै रहने तर भित्री रूपमा हामीलाई सहयोग गर्ने थुप्रै साथी हुनुहुन्छ । साथीहरू अहिले नै खुलेर देखिनुभयो भने उनीहरूमाथि साम, दाम, दण्ड, भेद अपनाइन्छ, दबाबहरू दिइन्छ, राज्य संयन्त्रको ग्रुप नै लाग्ने हुन्छ । अरूले खेल्ने अवस्था नआओस् भनेर धेरै साथीहरू भित्री रूपमा पनि लागिरहनु भएको छ ।’ 

कांग्रेसले विगतमा कारबाही गरेका कार्यकर्ताको समूह खुलेर रास्वपातिर लागेका छन्, भने पार्टीमा असन्तुष्ट रहेकाहरू छद्म रूपमा लागेको उनीहरूको भनाइ छ ।  

विगतदेखि नै गोविन्दराज जोशी गुटले कांग्रेसलाई चुनौती दिइरहेका बेला अर्को गुटको जन्म हुनु कांग्रेसका लागि चुनौती थपिएको छ । लामो समयदेखि कांग्रेसलाई मतदान गर्दै आएका तर यो चुनावमा मत बदल्न चाहेको तनहुँको बन्दीपुर, छाब्दी बाराही, ब्यास लगायतका केही वृद्धले रातोपाटीसँगको कुराकानीमा बताएका थिए ।

तनहुँमा ब्याक होलान् गोविन्दराज जोशी ?

कांग्रेसका पुराना नेता र विगतमा पटक–पटक मन्त्री भएका गोविन्दराज जोशीले तनहुँमा राम्रो पकड राख्दै आएका छन् । गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जोशीले झन्डै ७ हजार मत ल्याएका थिए । कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएका उनीमाथि कांग्रेसले कारबाही फिर्ता लिएको बताए पनि उनले त्यसलाई अस्वीकार गरेका छन् ।

जोशीमाथि कांग्रेसले गरेको कारबाही फुकुवा गरेपछि जोशी समर्थक केही कार्यकर्ता दमौलीस्थित पार्टी कार्यालयमा पुगेका थिए । उनीहरूले जोशीमाथिको कारबाही त फुकुवा भयो, हामीमाथि गरेको कारबाही के गर्नुहुन्छ भनेर त्यहाँ पुगेका महामन्त्री गगन थापा लगायत जिल्ला पार्टीका पदाधिकारीकारीलाई प्रश्न गरेका थिए ।

जोशी पक्षका कांग्रेसका पूर्व कार्यसमिति सदस्य रहेका जितेन्द्रलाल लामो समयपछि जिल्लामा रहेको पार्टी कार्यालयमा प्रवेश गर्दा धेरैले आश्चर्य मानेको उनले बताए ।

उनले भने, ‘अस्ति गगन थापा दमौली आएको बेला पार्टी कार्यालयमा गएर हामीले भन्यौँ, जोशी सरलाई त कारबाही फिर्ता लिनुभयो, हामीलाई के गर्नुहुन्छ भनेर सोध्यौँ ।’

जोशीले आदेश दिए ३ सय जना कार्यकर्ता जुनसुकै बेला सडकमा आउने कट्टर कार्यकर्ता रहेको जितेन्द्र बताउँछन् ।

उनले भने, ‘आवश्यक पर्‍यो भने हाम्रो समूहमा ३ सय जना कार्यकर्ता तनहुँको जहाँ भन्यो त्यहाँ उपस्थित हुन सक्छौँ । हामीले सक्रिय कार्यकर्ताहरूको मात्र फेसबुक ग्रुप पनि बनाएका छौँ । गोविन्द भट्टराईलाई अहिले जोशी सरको आवश्यकता छ । यदि उहाँले जोशी सरलाई कन्भिन्स गर्ने हो भने अझै पनि समय छ । जोशी सरले नभनेसम्म हामीले भट्टराईलाई भोट दिने कुरै हुँदैन ।’

गोविन्द भट्टराई पनि आफूहरूजस्तै रहेको, विगतमा दमौली बस्दा आफूहरूको र गोविन्द भट्टराईको हैसियत उस्तै रहेको उनको भनाइ छ । उनले भने, ‘अहिले उहाँ उम्मेदवार बनेर आउनुभएको छ, उहाँले अहिले जोशी सरलाई भेटेर म तपाईको चेला हैन र, मलाई अगाडि बढाउनुपर्‍यो भनेर मनाउन आवश्यक छ । तर उहाँहरूले त्यसो गर्नुभएको छैन । समय त अझै पनि बाँकी छ ।’

तनहुँको बन्दीपुर, कालीमाटी, आँबुखैरेनी, दमौली, भानु लगायतका क्षेत्रमा जोशीको प्रभाव छ भने तनहुँको व्यास नगरपालिकामा रामचन्द्र पौडेलको बढी प्रभाव क्षेत्रको रूपमा रहेको छ ।

जोशीले आफ्नो पकडमा रहेका कार्यकर्ताहरूलाई रास्वपालाई भोट दिन संकेत गरिसकेका छन् । देवघाट तथा आबु खैरेनीमा रास्वपाले गरेको कार्यक्रममा जोशी समूहका कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

विगतमा माओवादीबाट सताइएका कांग्रेसका परिवार जोशी गुटमा रहेको र माओवादीसँग कांग्रेसले गठबन्धन गरेकोमा उनीहरू असन्तुष्ट रहेको उनले बताए ।

तनहुँको बन्दीपुर, कालीमाटी, आँबुखैरेनी, दमौली, भानु लगायतका क्षेत्रमा जोशीको प्रभाव छ भने तनहुँको व्यास नगरपालिकामा रामचन्द्र पौडेलको बढी प्रभाव क्षेत्रको रूपमा रहेको छ ।

जोशी गृहमन्त्री र शिक्षा मन्त्री भएका तनहुँका धेरैलाई शिक्षक तथा प्रहरीमा जागिर खुवाएका थिए । ती जागिरेका परिवारको भोट अहिले जोशीको पटकमा रहेको छ । ६ हजार हाराहारी मत जोशीले जता भन्यो त्यतै घुमाइदिनसक्ने अवस्था तनहुँमा रहेको छ । यो उपनिर्वाचनमा जोशी समूहको मत पाउने हो भने भट्टराईले जोशीलाई रिझाउन सक्नुपर्ने जोशी समूहका जितेन्द्र बताउँछन् । उनी भन्छन्, ‘चुनावको बेला गोविन्द भट्टराई जोशी सरकोमा १० पटक जानुपर्छ । अरू चम्चा पठायो भने उहाँले गेटबाहिर निकालिहाल्नुहुन्छ । अझै पनि भट्टराईलाई समय छ उहाँले जोशी सरलाई मनाउन सक्नुपर्‍यो ।’

तनहुँमा नेपाली कांग्रेस स्वतन्त्र अभियान जोशी समूह बनाएका उनले कांग्रेससँगको आफ्नो समूहको वार्ता असफल भइसकेको भन्दै स्वतन्त्र ढंगले भोट हाल्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

एक विज्ञप्ति निकाल्दै उनले भनेका छन्, ‘यो उप–निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार नभए पनि प्रजातन्त्रमा विश्वास गर्ने व्यक्तिले मतदान नगर्नु स्वाभाविक नभएको हुनाले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम हुनुहुन्छ । त्यसैले मतदान गर्दा २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदवारको छनोट गरी आफ्नो मताधिकार प्रयोग गर्न सबै तनहुँ क्षेत्र नं १ का मतदाताहरूलाई अनुरोध गर्दछु ।’

कांग्रेसले जोशी पक्षलाई मनाउन नसके उनको समूहको हातमा रहेको मत भट्टराईले गुमाउन सक्ने देखिएको छ ।

नाम वाम लोकतान्त्रिक गठबन्धन तर चुनाव प्रचारमा कांग्रेसमात्रै

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचारमा कांग्रेस कार्यकर्तामात्रै जुट्ने गरेका छन् । माओवादीबाट प्रतिनिधिको रूपमा एक दुई जना केन्द्र र जिल्लास्तरीय नेतामात्र घरदैलोमा हिँड्ने गरेका छन् । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका अन्य दलका कार्यकर्ता कांग्रेसको पक्षमा भोट माग्न हिँडेका छैनन् ।

यद्यपि शनिबार एकीकृत समाजवादीले तनहुँका पूर्व सांसद रहेका किसान श्रेष्ठलाई कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन सो क्षेत्रमा खटाउने निर्णय गरेको छ । श्रेष्ठले आइतबार त्यहाँ पुगेर आफ्नो गतिविधि अघि बढाउने बताएका छन् । यता माओवादी केन्द्रबाट केन्द्रीय सदस्य क्षितिज लामिछाने लगायत केही जिल्ला नेता चुनावी घरदैलोमा हिँडेँ पनि माओवादीका कार्यकर्ता भने घरदैलो गरेको देखिएका छैनन् । यता जनता समाजवादी पार्टीका पनि कार्यकर्ताहरू कांग्रेसको घरदैलोमा देखिएका छैनन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनको मत हेर्दा तनहुँ १ मा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मत, एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ४४ मत र राप्रपाले २ हजार ४८४ मत पाएको थियो ।  

पोखराबाट सञ्जय रानाभाटको सहयाेगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप