बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई डा. स्वर्णिम वाग्लेले ल्याएको मतमा किन आश्चर्य ?

बुधबार, १३ वैशाख २०८०, १२ : ०३
बुधबार, १३ वैशाख २०८०

हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई डा. स्वर्णिम वाग्लेले ल्याएको मतमा आश्चर्य लागेछ । शायद यो आश्चर्य ओली, खाँड, निधि, भट्टराई, प्रचण्डलगायतका सबै नेतालाई पनि लागेकै होला । 

अस्ति भरतपुर महानगरकी प्रमुखले रविका चार पत्नी भएकाले चुनाव हार्छन् भनेको सुनेको थिएँ । आफू शक्तिमा पुगेका बेला आँखा नदेख्ने अनि जनताले राजा त नाङ्गै पो देख्छु त भन्दा उसलाई भेडा भन्ने ? अंग्रेजीमा एउटा भनाइ छ, पावर करप्ट्स अथवा शक्तिले भ्रष्ट हुन्छ । काँग्रेसी भाउजुहरु करप्ट भएपछि वाग्ले भागे, ठिकै गरे होलान् । यही परिपाटीका कारण वाग्लेले काँग्रेस छोडे । उनले भनेकै छन्, भाउजुवादले काँग्रेस सकियो । 

यो क्रम पञ्चायतमा पनि यस्तै थियो । त्यतिबेलाका पञ्चहरू काँग्रेस तथा वामपन्थीहरूलाई यस्तै आरोप लगाउँथे । उनीहरू परिवर्तनकारीलाई गाली गर्थे । अहिले काँग्रेस–वामपन्थीहरू वाग्लेहरूलाई गाली गर्छन् । 

त्यतिबेला जेपीहरु, अर्का वाग्लेहरू, खुम बहादुरहरु भ्रष्टाचारमा जेल परेर छुट्दा माला लिएर स्वागत गर्न जानेहरु नै अहिले गोविन्द भट्टराई हार्दा सत्तोसराप गर्दैछन् । 

भ्रष्टाचार गरे पनि हाम्रो नेता हो बुझिस्, हामी स्वागत गर्छौं भन्नेहरु नै अहिले जनताले आफ्नो विवेक प्रयोग गर्दा कुण्ठित भएका छन् । अहिले हामी वाम–काँग्रेसरुपी बहुदलीय पञ्चायतको अन्तिम सातामा छौं । अब विस्तारै छयालीसको आन्दोलन सुरु होला । आन्दोलन सडकमा होइन, स्मार्ट फोनमा । 

उतिबेला राजाकी छोरीको विहेमा १० करोड खर्च दिँदा सेतो हात्ती भन्नेहरु अहिले दुई लाख २५ हजार अमेरिकी डलर तिरेर सरकारी पैसामा भाडामा लिएको एयर एम्बुलेन्स चढेर उपचारमा जानेहरु नै अहिले जनताका आँखाका तारो बनेका छन् । सत्ताबाट कुनै पनि हालतमा बाहिर बस्न नसक्ने रोगले नै वाम–काँग्रेसलाई ओरालो लगाउँदै आएको छ । यो कुरा अब जनताले बुझिसकेका छन् । 

एकपटक मैलै अन्नपूर्ण पोेस्टमा काम गर्दा प्राडा सुरेन्द्र केसीले मलाई एउटा लेख प्रकाशन गर्न अनुरोध गर्नुभयो । उहाँको लेख ठिकै थियो तर मेरा साथीले छाप्न मानेनन् । उहाँलाई मिडियाहरु स्थान दिन हिच्किचाउँथे । त्यसको मुख्य कारण थियो, उहाँको सिधा बोल्ने बानी । तर अहिले सामाजिक सञ्जाल खास गरी युट्युबका कारण उहाँ देशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय भएर नै प्रायोजनमा विदेश घुम्नुहुन्छ । मिडिया पनि यसरी बायस हुन्छन् । उनीहरू पनि शक्तिकै पछि लाग्छन् भन्ने एउटा उदाहरण हो, यो । 

यो उदाहरण मैले यस अर्थमा दिएको हो कि अब मानिसको सोचमा सामाजिक सञ्जालले पूर्ण रुपमा परिवर्तन गरिदिएको छ । 

म कृषिसम्बन्धी एउटा परियोजनामा काम गर्छु । मेरो कार्यालयको बुटबल करिडर कार्यालयले आफ्नो क्षेत्रका ३० पालिकाका लागि १८ वटा एफएममा लगातार डेढ महिनासम्म अनुदानसम्बन्धी सूचनामूलक सन्देश प्रसारण गरायो । त्यसपछि म आफैं ती सन्देशको प्रभावकारिता अध्ययन गर्न कार्यालयका अधिकारीसहित १५ पालिकाका एक सय ३० मानिसबीच पुगेँ । तीमध्ये एकजनाले पनि डेढ महिनादेखि एफएममा प्रसारण भएको सन्देश सुनेकै रहेनछन्, त्यो पनि ग्रामीण क्षेत्रमा । 

यस सर्वेक्षणबाट म अहिले मानिसहरू स्थापित मिडियामाथि विश्वास गर्दैनन् भन्ने निष्कर्षमा पुगेँ । चाहे घण्टी पार्टीले होस् वा टिकटकमा हेर्नै नसकिने भिडियो राख्ने गुरुआमाको भिडियो होस्, अहिले मानिसले फेसबुक रिल्स र टिकटकमात्र हेर्दा रहेछन् भन्ने प्रस्ट भयो । 

यस्तै अस्तिको आम निर्वाचनमा मैले आमालाई काँग्रेसमा भोट दिन अनुरोध गरेँ । भाइले एमालेमा दिनु है आमा भनेछ । भरे भोट आमाले घण्टीमा दिनु भएछ । त्यसको मुख्य कारण थियो, विदेशमा रहेको मेरो अर्को भाइ । ऊ आमालाई महिनावारी खर्च दिन्छ । उसको कुरा आमाले खानुभयो । 

पोहोर साल घर आउँदा अस्ट्रेलियन नागरिकका हैसियतले बढी कर तिर्नु परेकोमा विदेशमा बस्ने मेरो भाइलाई रिस छ । उसको पनि रविकै जस्तो नागरिकता छ । मैले निहुँ खोजे उसले अंश पाउँदैन तर म गरुँला नगरुँला बेग्लै कुरो हो । त्यसैले जति मान्छे बाहिर गए, उति हाम्रो नेताको इँजार खुस्किन्छ ।  

कतार सरकारले नेपाली कामदारलाई महिनामा कमसेकम एक हजार रियाल र खाने बस्ने व्यवस्था गर्नैपर्ने कानून ल्यायो । मासिक कम्तीमा हजार रियाल तलब कामदारको खातामा जम्मा गरेको बैंक स्टेटमेन्ट नबुझाउने कम्पनीको दर्ता खारेज गर्ने कानून आयो ।  

यसले नेपाली कामदारले कमसेकम महिनामा हजार रियाल पाउने भए । यसमा रियादस्थित नेपाली दूतावासलाई चासो भएन । उसको पहलले यो व्यवस्था भएको होइन । यति काम गर्न पनि दूतावासलाई फुर्सद भएन । ती कामदारले घरका मान्छेलाई ती राजदूतको पार्टीलाई भोट देऊ भन्लान् त ? अथवा ती राजदूत नियुक्त गर्ने पार्टीलाई भोट देलान् त ? 

अब नेताज्यूहरू यस्ता कुरा ख्याल गरौँ । जनता न तपाईँहरूका पेवा हुन्, न त  घण्टी पार्टीका नै । अस्तिकै जस्तो दुई करोडको कुरा थपिँदै गए अर्को पटक गुराँसको फूल वा अन्डा चिन्हले पक्का स्थान लिन्छ । त्यसैले, अब सोचौँ, मिलेसम्म झुटको खेती नगरौँ।

जनताले नाङ्गो देखिसके । अब लंगौटी बाँधौं बा, काकाहरू । अझै पनि संसदमा घुरेको हामीले संसदको आर्काइभमा देख्छौँ । हामी त्यसलाई काटेर टिकटक बनाउँछौँ । काका, बाहरु यदि सञ्चो नभए वा राति सुत्न नमिलेका दिन पार्लियामेन्ट नजानुहोला । वाक्क लागे क्यान्टिनमा जानुहोला । कफी खानुहोला । हाम्रो नेता संसदमा घुरेको देख्नु नपरोस् । पछि फेरि भिडियो मेट्ने दुःख गर्नुपर्ला । कृपया अब सिक्नुहोस् । हामी तपाईँका शत्रु होइनौँ र घण्टिका प्यादा पनि होइनौँ । तपाईँहरू सच्चिनुहोस् । तपाईंहरुलाई जीतको अग्रिम शुभकामना दिन्छौँ । 

यदि काँग्रेस सभापतिले गगन माननीयज्यूलाई संसदीय दलको नेता बन्नबाट नरोकेको भए अहिले गोविन्द भट्टराईको यो हालत हुने थिएन कि ? सभापति त साझा पद होला नि त, होइन ? एउटालाई मिच्दा अर्कोको आँखामा खुर्सानीको बियाँ पस्नबाट रोक्ने होला नि त सभापतिको काम, होइन ? 

यदि गगनलाई संसदीय दलको नेता बनाइदिएको भए तनहुँमा काँग्रेसले जित्थ्यो भन्ने लाग्दैन ? एक निश्चित समयमा बुद्धि उमेरले दिने होला तर कति वर्षसम्म ? तपाईँले बनारसमा बिपीसँग बिताएका दिनको ब्याज जीवनभर चुस्ने हो र ? तपाईंहरुभन्दा जान्ने ठिटाहरू छैनन् होला पार्टीमा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप