बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

प्रतिष्ठाको लडाइँमा रहेको राजस्थानलाई हराउँदै पहिलो स्थानमा उक्लने धुनमा मुम्बई

बिहीबार, १८ वैशाख २०८२, ०९ : ३६
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बिहीबार राजस्थान रोयल्सले मुम्बई इन्डियन्सको सामना गर्दै छ । खेल जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५०औँ खेल हो । यो सिजनको आईपीएलमा मुम्बई र राजस्थान दुवैले आफ्नो ११औँ खेल खेल्न लागेका हुन् । तर, दुवै टोलीको अवस्था भने फरक छ । मुम्बई प्रतियोगिताको प्ले–अफ चरणमा स्थान सुरक्षित गर्ने अभियानमा छ ।

निरन्तर निराशाजनक प्रदर्शन गरेको राजस्थान रोयल्स भने उपाधि होडबाट बाहिरिने पक्काजस्तै भइसकेको छ । त्यसैले राजस्थानभन्दा पनि मुम्बईका लागि बिहीबारको खेल निकै महत्त्वपूर्ण देखिन्छ । यो खेलमा विजयी भए मुम्बई तालिकाको पहिलो स्थानमा उक्लनेछ ।

मुम्बईले पाँचपटक आईपीएलको उपाधि जितेको छ । मुम्बईले सन् २०१३ मा पहिलोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले हराएको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई ४१ रनले हराएको थियो ।

त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।

मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो । 

राजस्थानले एकपटक उपाधि जितेको छ । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणको फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । राजस्थान सन् २०२२ को फाइनलमा भने गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।

बलियो मुम्बई र कमजोर राजस्थान

mi

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स दुवैले हालसम्म १०–१० खेल खेलेका छन् । तर, राजस्थानको तुलनामा मुम्बईको प्रदर्शन निकै अब्बल देखिन्छ । मुम्बई प्ले–अफ चरणको नजिक छ । राजस्थानको भने प्ले–अफ चरणमा पुग्ने सम्भावना प्राविधिक रूपमा मात्र बाँकी छ ।

मुम्बईले यसअघि खेलिएको १० मध्ये ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकोलेको छ । मुम्बई १२ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । मुम्बईले पछिल्ला पाँच खेलमा लगातार जित हासिल गर्दै आएको छ । 

यसको विपरीत, राजस्थानको अवस्था भने दयनीय छ । राजस्थानले अघिल्ला १० मध्ये केवल तीन खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । राजस्थान ६ अंकसहित तालिकाको आठौँ स्थानमा आसीन छ । 

हेड टु हेडमा एक खेलको अन्तर

आईपीएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच हालसम्म कुल ३२ खेल खेलिएको छ । त्यसमा दुवै टोलीबिच केवल एक खेलको अन्तर देखिन्छ । मुम्बईले १६ खेलमा राजस्थानलाई हराएको छ । राजस्थानले भने १५ खेलमा मुम्बईलाई पराजित गरेको छ । 

rr

यी दुई टोलीबिचको एक खेल भने  वर्षाका कारण अनिर्णीत रूपमा सकिएको छ । जयपुरमा यी दुई टोलीबिच हालसम्म कुल आठ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा राजस्थान र दुई खेलमा मुम्बई विजयी भएका छन् । 

राजस्थानका लागि यशस्वीको पाँच अर्धशतक

जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान यशस्वी जैसवाल हुन् । उनले हालसम्म १० खेलमा कुल चार सय २६ रन बनाइसकेका छन् । यस क्रममा उनले पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । 

राजस्थानका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान ध्रुव जुरेल हुन् । उनले कुल दुई सय ३८ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने वानिन्दु हसरंगा हुन् । उनले आठ खेलमा कुल १० विकेट लिएका छन् । 

लयमा छन् मुम्बईका सूर्यकुमार र रिकेल्टन

आईपीएलको जारी सिजनमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले १० खेलमा कुल चार सय २७ रन बनाइसकेका छन् । यस क्रममा उनले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । 

मुम्बईका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान रायल रिकेल्टन हुन् । उनी पनि लयमा देखिएका छन् । उनले समान १० खेलमा कुल दुई सय ७३ रन बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर ट्रेन्ट बोल्ट हुन् । उनले १० खेलमा कुल १३ विकेट लिएका छन् । 

ब्याट्सम्यानका लागि उपयोगी पिच

राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच बिहीबारको खेल हुने जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । आईपीएलको जारी सिजनमा यो पिचमा हालसम्म तीनवटा खेल खेलिएको छ ।

Sawai-Mansingh-Stadium-Jaipur-–-Pitch-Report-1024x768-1

तीनवटै खेलमा एक सय ७० भन्दा बढी रन बनेको छ । त्यसमध्ये दुई खेलमा जवाफी ब्याटिङ गर्ने टोली र एक खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ६० खेल खेलिएको छ ।

त्यसमध्ये २१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ३९ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १७ रन हो । उक्त स्कोर सन् २०२३ मा सनराइजर्स हैदराबादले राजस्थानविरुद्ध बनाएको थियो ।

छैन वर्षाकाले खेल बिथोल्ने सम्भावना

मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच खेल हुने दिन बिहीबार जयपुरको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जयपुरको तापक्रम २७ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।

सम्भावित टोली 

राजस्थान रोयल्स : रियान पराग (कप्तान), यशस्वी जैसवाल, वैभब सूर्यवंशी, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश तिक्षणा, सन्दीप शर्मा, युुद्धवीर सिंह चरक र तुषार देशपाण्डे । 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), रोहित शर्मा,  विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, कोर्बिन वास, दीपक चाहर, ट्रेन्ट बोल्ट, कर्ण शर्मा र जसप्रित बुमराह ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप