शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

उपेन्द्र यादव बाराबाट निर्वाचित भएपछि सप्तरीवासीको के छ प्रतिक्रिया ?

शनिबार, १६ वैशाख २०८०, २३ : ३०
शनिबार, १६ वैशाख २०८०

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २०७८ मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा सप्तरी–२ बाट पराजित भए पनि वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी भए । पाँच महिनाअघि मात्र आफूहरुले पराजित गरेको नेतालाई बारा–२ का बासिन्दाले जिताएर पठाएको विषयलाई सप्तरी–२ का मतदाताले कसरी हेरिरहेका छन् भन्नेबारे चासो बढ्नु स्वाभाविक हो ।

सप्तरीका समाजसेवी गोविन्द प्रसाद सिंहले भने, ‘उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने मुडमा हुनुहुन्थेन तर त्यहाँका नेता तथा कार्यकर्ताले जबर्जस्ती चुनाव लडाएका थिए । उहाँ सप्तरी–२ छाडेर अन्य कुनै पनि क्षेत्रबाट चुनाव लडेको भए जित्नुहुन्थ्यो तर कार्यकर्ताहरुले त्यहाँ जबर्जस्ती लडाएका थिए ।’

उपेन्द्रका लागि सप्तरी–१ नम्बर क्षेत्र छाड्न नवल किशोर साह तयार भइसकेका थिए । नवल किशोर साहका छोराले उपेन्द्र यादवलाई भेटेर नै त्यहाँबाट चुनाव लड्ने हो भने सघाउन आफूहरु तयार रहेको बताएका थिए ।

तर सप्तरी–२ का नेताले उपेन्द्रलाई सोही क्षेत्रमा उम्मेदवार बनाउन अडान लिए । उनीहरुले जसरी पनि त्यही क्षेत्रबाट चुनाव लडाउने र जिताउने अडान लिएपछि उपेन्द्र यादव सो क्षेत्रमा उम्मेदवार बनेका थिए । आखिर उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भए ।

राजविराजकी रमिता साह भन्छिन्, ‘यो संयोग नै हो, उपेन्द्रजीले सुरुमै बाराबाट चुनाव लड्ने चाहना राख्नु भएको थियो, उहाँलाई जबर्जस्ती सप्तरीमा चुनाव लडाइएको थियो, सप्तरीमा हारे पनि बाराबाट जित्नुभयो ।’

सप्तरीबाट पनि उपेन्द्रले चुनाव हार्नुपर्ने कुनै कारण नरहेको उनको बुझाइ छ । तर कसरी हारे भन्नेबारे अहिलेसम्म बुझ्न नसकेको उनको भनाइ छ ।

उनले सप्तरी–२ मा उपेन्द्रले विकासको लहर नै ल्याएको बताइन् । मतको हिसाब गर्दा पनि उपेन्द्र सजिलै जित्ने अवस्थामा रहेको तर कसरी चुनाव हारे भन्ने बुझ्न नसकेको उनले बताइन् ।

उपेन्द्र यादव बाराबाट निर्वाचित भएपछि अहिले सप्तरीवासीलाई पश्चाताप भइरहेको बताउँछन् शैलेन्द्र यादव । राजविराज निवासी उनले सप्तरावासीले उपेन्द्रलाई हराएकोमा अहिले पश्चाताप गरिरहेको बताए ।

शैलेन्द्र भन्छन्, ‘उपेन्द्र यादवको जन्मधर्ती हो सप्तरी, २०७४ को चुनाव पनि जित्नु भएको थियो, हालसम्म नभएको विकास पनि उहाँले गर्नुभयो, तैपनि चुनाव हार्नुभयो तर आज त्यही उपेन्द्र यादव बारामा गएर चुनाव जित्दा सप्तरीवासीलाई आत्मग्लानी भइरहेको छ ।’

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका थिए । सीके राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने उपेन्द्र यादव १६ हजार ९७९ मतमा सीमित भएका थिए ।

जबकि उपेन्द्र यादवले २०७४ मा सोही क्षेत्रबाट चुनाव जितेका थिए । त्यतिबेला उनले २१ हजार ६२० मत ल्याएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेता उमेश यादवले ११ हजार ५८० मत ल्याएका थिए । २०७४ मा झण्डै दोब्बर मतले जितेका उपेन्द्र यादव २०७९ को चुनावमा सीके राउतबाट ठूलो मतान्तरले हारे पनि बारामा भएको उपनिर्वाचनबाट फेरि संसद यात्रा तय गर्न सफल भएका छन् ।

सप्तरीमा हारेको व्यक्ति बाराबाट चुनाव जितेपछि सप्तरीवासीका लागि पक्कै पनि पीडा भएको शैलेन्द्र बताउँछन् । उनले भने, ‘बारामा पनि हारेको भए त्यसले सप्तरीवासीलाई खासै असर गर्दैनथ्यो तर यहाँ हारेर बारामा तत्कालै चुनाव जितेका कारण सप्तरीका जनताका लागि पश्चातापको अवस्था छ ।’

तर सामाजिक अभियन्ता बलराम यादवले उपेन्द्र यादव बाराबाट जितेकोमा सप्तरीवासीलाई कुनै पश्चाताप नभएको बताए । उनले भने, ‘उपेन्द्र यादवको हारजितको मूल्याङ्कन गर्ने बेला भएको छैन, सीके राउतले चुनाव जित्नु भएको छ, एक–दुई वर्षपछि उहाँको कार्यशैली हेरेर मात्र जनताले मूल्याङ्कन गर्नेछन् ।’

उपेन्द्र यादव सप्तरीबाट जिते पनि, हारे पनि केही फरक नपर्ने भएकाले सप्तरीवासीले कुनै प्रतिक्रिया नदिएको उनले दावी गरे ।

सप्तरीबाट जितेर उपेन्द्र यादवले पाँच वर्ष के गरे त्यसको मूल्याङ्कन गरेर नै मतदाताले उनलाई पराजित गरेको जिकिरसहित उनले भने, ‘उपेन्द्र यादव टेस्टेड भइसक्नु भएको छ, सप्तरीमा हारे पनि, जिते पनि केही फरक पर्दैन । अब यो कुरा बारावासीले पनि विस्तारै थाहा पाउँछन् ।’

समाज सेवी गोविन्द सिंहले सप्तरीमा आत्मसम्मानलाई अहंकार बनाएपछि चुनावको नतिजा त्यस्तो आएको बताए । ‘सप्तरीवासीले व्यक्ति पहिचान गर्न सकिरहेको छैन, यहाँ नेता जन्माउँछन् तर त्यसलाई टिकाउन सक्दैनन् र त्यो दुखद् कुरा हो,’ उनले भने, ‘रामराजपा प्रसाद सिंह, जयकृष्ण गोइत, सीके राउत, उपेन्द्र यादव जस्ता थुप्रै नेता जन्मायो सप्तरीले तर कसैलाई जोगाउन सकेन, धन्य हो बारावासी, जसले सप्तरीको स्तम्भलाई जोगाउन सफल भयो ।’

सप्तरीमा हारेका उपेन्द्र यादव बारामा जित्नुलाई सप्तरीवासीले आश्चर्यको रुपमा नलिएको उनको भनाइ छ । उनले भने, ‘किनभने यहाँका जनतालाई यो कुराको आदत भइसकेको छ ।’

सप्तरीमा कुनै नेताले दोहो¥याएर नजितेको प्रस्ट पार्दै सिंहले भने, ‘उपेन्द्र यादवले पनि दोहो¥याएर जित्नुभएन, आउने अर्को चुनावमा सीके राउत पनि जित्नु हुन्न । त्यही भएर बाराबाट उपेन्द्र यादव जित्नु सप्तरीवासीका लागि हर्ष न विस्मत् हो । तर यो विषयलाई सप्तरीले गम्भीर रुपमा समीक्षा गर्नुपर्छ ।’

त्यसो त, उपेन्द्र यादव गत मंसिर ४ को निर्वाचनमै बाराबाट उम्मेदवार बन्न इच्छुक थिए । त्यसका लागि उनले जनकपुर, बारादेखि काठमाडौंसम्म विभिन्न चरणमा छलफल पनि गरेका थिए । बारा–२ का जसपाका नेताले पनि अध्यक्ष यादवलाई चुनाव लड्न दबाब दिएका थिए ।

बुद्धनगरस्थित जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनको निवासमा यस विषयमा पटक पटक छलफल भएको थियो । सप्तरी–२ बाट उपेन्द्र यादवलाई पनि चुनाव लड्ने इच्छा थिएन । उनको पहिलो रोजाई बारा–२ नै थियो । त्यसपछि सप्तरी–१ उनको रोजाईमा थियो । तर सप्तरी–२ का जसपा नेताहरुले चुनाव जित्ने ग्यारेण्टी लिएका थिए ।

मृगेन्द्रकुमार सिंह, दिनेश यादव, केदार यादवलगायतका नेताहरुले सजिलै जितिन्छ भनेर उपेन्द्र यादवलाई सप्तरी–२ मा लगेको जसपाका नेताहरु बताउँछन् ।

सप्तरी–२ मा विकासको लहर नै ल्याइएको, शिक्षा, स्वास्थय, सडकको क्षेत्रमा हालसम्मकै सबभन्दा बढी काम भएको कारण त्यहाँ सजिलै तरिकाले जित्ने आँकडा ती नेताहरुले दिएका थिए । तर परिणाम भने सोचेअनुसार आएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप